मधेशमा मजबुत एमाले बनाउने अभियानमा ओली

पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

पुरन साह/हिटा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश पुग्नुभएको छ । चुनाव केन्द्रित अभियानमा ओली शनिबार मधेश पुग्नुभएको हो । ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुग्नुभएको थियो । जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेसन पुग्नुभएका ओली त्यहाँबाट रेल चढेर तीनकोरिया पुग्नुभएको हो । मधेशसँग चिसिएको सम्बन्ध सुधार्न ओली तराई झर्नुभएको हो । कुनै समय एमाले र अध्यक्ष ओलीलाई मधेशविरोधी नेताको आरोपसमेत लाग्ने गरेको थियो । ओली जनकपुर पुग्दा कालो झण्डासमेत देखाउने प्रयास भएको थियो । ओली मधेश झर्दा जनकपुरमा जसपाका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।
विरोधका बाबजुद अध्यक्ष ओली जनकपुरबाट रेल चढेर तीनकोरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पुग्नुभएको थियो ।

स्टेजमा पुगेपछि ओलीलाई ३०५ किलोको मालाले स्वागत गरिएको थियो । ओलीकै योजनामा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै मधेश केन्द्रित दल असन्तुष्ट छन् । जसपाले त राष्ट्रपतिको उक्त कदमविरुद्ध आन्दोलनकै घोषणा गरेको छ । मधेशमा एमालेलाई बलियो बनाउन ओली तराई झर्नुभएको हो । एकताका ओलीलेलाई मधेशविरोधी नेताकारूपमा समेत लिइन्थ्यो । मधेशमा पुगेर ओलीले विभिन्न दलका नेता-कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा भित्र्याउनुभएको छ । ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्नुभएको छ ।

धनुषाको तीनकोरियामा आयोजित जनसभामा अध्यक्ष केपी ओलीले नेता अरगरियालाई एमालेमा स्वागत गर्नुभएको हो । अरगरियासहित लोसपाका सयौँ नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । विभिन्न पार्टीबाट आएकालाई एमाले स्वागत गर्दै अध्यक्ष ओलीले मधेशको पहिलो शक्ति बन्नबाट अब एमालेलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेशका जनताको हत्या गरेर एमालेलाई मधेशमा पस्न नदिएको आरोप लगाउनुभयो । एमालेविरुद्ध मधेशमा फैलाइएका भ्रम अब मधेशकै जनता र जनप्रतिनिधिहरूले तोड्ने उहाँको भनाइ थियो । सोही कार्यक्रममा लोसपाबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री अरगरियाले विगतमा एमाले मुक्त मधेश बनाउने भ्रममा आफूहरू परेको भन्दै अब एमालेमय मधेश बनाउने दाबी गर्नुभयो ।

‘अहंकारवादी गठबन्धन सरकारका कारण नागरिकता विधेयक प्रमाणीकरण भएन’
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको अहंकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको बताउनुभएको छ । राष्ट्रपतिले सुझावसहित संसद्मा फिर्ता गरेको विधेयक गठबन्धनको अहंकारका कारण प्रमाणीकरण हुन नसकेको बताउनुभयो । गठबन्धन नेतृत्वको सरकारले राष्ट्रपतिको सुझावलाई अस्वीकार गर्दै अपमान गरेको कारण विधेयक असफल भएको उहाँको भनाइ छ । ‘राष्ट्रपतिज्यूले सुझावसहित नागरिकता विधेयक संसद्मा पठाउनुभएको थियो ।

संसद्मा कुनै छलफल नगरी अहंकार देखाएर पुनः राष्ट्रपति कहाँ पठाउँदा प्रमाणीकरण हुन सकेन,’ उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारले राष्ट्रपतिको सुझावलाई अस्वीकार गर्दै अपमान गरेका कारण विधेयक असफल भयो । जसको दोषी अहंकारवादी गठबन्धन सरकार हो ।’ अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने बताउनुभयो । उहाँले मंसिर ४ को चुनावपछि एमालेको बहुमतको सरकार बनेपछि एक महिनाभित्रै जन्मसिद्ध नागरिकका सन्तानलाई कहिल्यै पनि समस्या नहुने कानुन बनाएर नागरिकता दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?