विष्णुप्रसाद पन्त : संघर्षका प्रतिमूर्ति

विनोद दाहाल वत्स
Read Time = 30 mins

विष्णुप्रसाद पन्तलाई मैले चिनेको लामो समय भएको छैन । उहाँको नाम भने निकै लामो समयदेखि सुन्दै आएको हुँ । मेडिकेयर अस्पताल चावहिलका प्रशासकीय निर्देशक हरिभक्त सिग्देल ‘महेश’ ले एकपटक मलाई पन्तका दुईवटा पुस्तक दिएर त्यसको समीक्षा लेखिदिन आग्रह गर्नुभयो । मैले म कार्यरत हिमालय टाइम्स राट्रिय दैनिकमा तिनको समीक्षा गरिदिएँ । प्राविधिक कारणले ती समीक्षामा मेरो नाम भने अभिलेख गरिन । त्यसपछि मैले एक दुई पटक उहाँलाई भेट्ने प्रयास गरेँ तर केही न केही कारणले हाम्रो भेट भएन ।

कहिले उहाँले नभ्याउने र कहिले मैले नभ्याउने । केही समय यसरी नै बित्यो । कोरोना महामारी सुरु भएको डेढ दुई वर्ष पनि यसरी नै बित्यो । कोरोना आयो र त्यो विस्तारै कम भयो । त्यसपछिको सामान्य अवस्थामा मैले मेरा दुईवटा कृति प्रकाशित गरेँ । त्यसमध्ये एकमा मैले विष्णुप्रसाद पन्तलाई पनि समेट्न चाहेको थिएँ तर विभिन्न कारणले त्यो सम्भव भएन ।

मेरा ती कृतिमध्ये एउटा मौलिक रचना कवितासंग्रह ‘टाँकघर’ जो मेरा तीस वर्ष पहिलेदेखिका गद्यकविताहरूको संग्रह थियो । अर्को विभिन्न व्यक्तिसँगको अन्तरंग कुराकानीको संग्रह ‘अन्तरंग’ । मैले लामो समयदेखि हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित गरेका अन्तरंगहरूको संग्रह थियो यो । मलाई तिनको लोकार्पणका लागि सर्वसुलभ स्थान चाहिएको थियो । पाटी प्यालेस तथा प्रज्ञाप्रतिष्ठानमा कार्यक्रम गर्नसक्ने हैसियत मेरो थिएन अथवा मैले त्यस्तो रुचि पनि राखिनँ । हरिभक्त सिग्देलको सल्लाहबमोजिम विष्णुप्रसाद पन्तको प्रयासमा बनेको नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र नै यसका लागि उपयुक्त मानिन आयो ।

साहित्य क्षेत्रमा पनि राजनीतिमै जस्तो नातावाद, कृपावाद देख्दा उहाँलाई नराम्रो लाग्छ । यस्तो हुनुहुँदैन, साहित्यिक क्षेत्र विशुद्ध रहनुपर्छ, निष्पक्ष हुनुपर्छ भन्ने उहाँको मान्यता छ । उहाँ यस क्षेत्रको शुद्धीकरणको चाहना राख्नुहुन्छ ।

विसं २०७९ साल जेठ २८ गते शनिबार मेरा कृतिहरू त्यहीँ लोकार्पण गरियो । धेरैपटक प्रयास गरेर पनि भेट्न नसकिनु भएका विष्णु पन्तलाई मैले त्यही दिनमात्र त्यहीँ भेट्न पाएँ । हाम्रो औपचारिक रूपमा चिनजान भयो । हाम्रो फोनवार्ता भने यस पहिले पनि एक–दुईपटक भएकै थियो । उहाँको पहलमा धोबीखोला किनार सुकेधारामा स्थापना भएको नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रमा मेरा पुस्तक लोकार्पणको जुन कार्यक्रम सम्पन्न भयो त्यो पुस्तकालयको पहिलो कार्यक्रम रहेछ । २१ जनासँगको ‘अन्तरंग’ प्रकाशन गरेपछि अब यस्तै केही मानिसहरू समेटेर अर्को पुस्तक पनि ‘अन्तरसंवाद’ शीर्षकमा प्रकाशन गर्ने विचार गरेँ ।

यस कार्यको निरन्तरताले समाजका केही अग्रणी तर विविध कारणले प्रकाशमा आउन नपाएका व्यक्तिलाई प्रकाशमा ल्याउन सकिन्छ भन्ने मान्यताका कारण मैले यस कार्यलाई निरन्तरता दिने विचार गरेको हुँ । हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित भएका एक दर्जन जति व्यक्तिसँगका अन्तरसंवाद त मसँग बाँकी छँदैछन् । तिनमा केही व्यक्तिहरू थप गर्ने सोच बनाएँ जसमा विष्णुप्रसाद पन्तलाई पनि समेट्ने चाहना भयो मेरो । त्यही सोचको सार्थकताका लागि हामी साउन २२ गते आइतबार नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधार धोबीखोला किनारमा भेट भयौँ । एक घण्टा जति हामीले अन्तरसंवाद गर्‍यौँ । यही क्रममा मैले उहाँको परिचय विस्तारमा खोतलेँ र यसैगरी उहाँसँगको संवादबाट उहाँसम्बन्धी विविध जानकारी प्राप्त गर्ने मौका पाएँ ।

उहाँ २००७ साल फागुन १ गते काभ्रेपलाञ्चोक जिल्लाको बिर्ता देउराली पाटी गैरामा पिता गुणनिधि पन्त र माता धनलक्ष्मी पन्तका जेष्ठ सुपुत्रका रूपमा जन्मिनुभएको हो । उहाँका एकजना भाइ चन्द्रप्रसाद पन्त र एक दिदी तथा पाँच बहिनी हुनुहुन्छ । काभ्रेबाट पढ्न काठमाडौं आउनुभएको उहाँले यहाँ निकै संघर्ष गर्नुभयो । यस क्रममा उहाँले केही व्यावसायिक कामहरू गर्नुभयो । दालमोट, आलुचिप्स र पाउरोटी उत्पादन गरेर बिक्री गर्नुभयो । यसबाट उहाँले राम्रै कमाइ गर्नुभयो । उहाँले चालीस जना जतिलाई रोजगारी पनि दिनुभयो ।

एकजना साथीले उहाँलाई अमेरिकामा बनेको आलुचिप्स खान दिएर नेपालमा पनि यस्तै उत्पादन गर्नसके हुन्थ्यो भनेका कारण यसैबाट प्रेरित भई उहाँले आलुचिप्सको उत्पादन गर्नुभएको थियो । यस्ता व्यावसायिक कार्यमा उहाँ सफल बन्नुभयो । आलुचिप्सको उत्पादन गर्ने उहाँ पहिलो नेपाली हुँ भन्नुहुन्छ आपूmलाई । पछि-पछि भने सबैले यस्ता काम गर्नथाले । आफ्नैमा काम गर्नेहरूले पनि काम सिकेपछि आफैँ काम गर्न थाले । त्यसपछि प्रतिस्पर्धा सुरु भयो । यसलाई नराम्रो पनि मान्नुहुन्न उहाँ । आफ्नोमा काम सिकेका मानिसहरू यसरी यही काम गरेर स्वाबलम्बी बनेकोमा उहाँ खुशी छु भन्नुहन्छ ।

अर्कातिर उहाँ केही प्राज्ञिक काम गर्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । आफूले पढेको कुरा प्रयोगमा त ल्याउनै पथ्र्यो । उहाँले दुईचार पटक लोकसेवा आयोगको परीक्षाहरू दिनुभयो र दुई तीनपटक लिखितमा नाम निकाल्नुभयो तर मौखिकमा उत्तीर्ण हुनुभएन । एकपटक आयोगका चिनेका कर्मचारीले उहाँलाई अब तपाईं यता नलाग्नुस् अरूतिर प्रयास गर्नुस् भने । कारण उहाँले विद्यार्थी कालमा तत्कालीन व्यवस्थाविरोधी राजनीति गरेको र एक-दुईपटक पक्राउ परेका कारण उहाँको प्रहरी रेकर्ड राम्रो रहेनछ । त्यसबेलादेखि उहाँमा रहेको प्रजातन्त्रप्रतिको अनुराग उहाँमा हालसम्म पनि छँदैछ तर उहाँ सक्रियतापूर्वक कुनै दलमा नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

त्यसपछि उहाँले त्रिभुवन विश्वविद्यालयको आयोग दिनुभयो र सहायक प्राध्यापकमा नाम निकाल्नु भयो । उहाँलाई निकै टाढा धनगढी पठाइयो तर उहाँ आफ्नो व्यवसाय र घरव्यवहार हेर्नुपर्ने कारणले उहाँ त्यहाँ जानु भएन । पछि प्रसिद्ध विद्वान् तथा साहित्यकार घटराज भट्टराईलगायत व्यक्तिसँग मिलेर उहाँहरूले पशुपति बहुमुखी क्याम्पस खोल्नुभयो । त्यस क्याम्पसमा पहिले सहायक क्याम्पसप्रमुख र पछि क्याम्पस प्रमुख भएर उहाँले लामो समय बिताउनुभयो ।

सुरुमा वसन्तकुमार शर्मा खनाल यस क्याम्पसको क्याम्पसप्रमुख बन्नुभयो । घटराज भट्टराईको असामयिक निधन भएपछि विष्णु पन्त क्याम्पस प्रमुख हुनुभयो । यस क्याम्पसको संस्थापकहरूमा सुरुमा दीर्घराज कोइराला, पुण्यप्रभा ढुंगाना, वसन्तकुमार शर्मा खनाल, उत्तम कुँवर, अमरबहादुर गुरुङ, अमृतबहादुर श्रेष्ठ, घटराज भट्टराई, विमलप्रसाद वाग्ले, प्रयागराज भट्टराई, चन्द्रप्रसाद त्रिपाठी र उहाँ विष्णुप्रसाद पन्त हुनुहुन्थ्यो । पछि मोहनराज पोखरेल र द्वारिका महर्जन पनि थपिएर १३ जना पशुपति क्याम्पस चावहिलको संस्थापक हुनुभयो ।

यसबीच उहाँले दीपिका, दीपाङ्कुर र काठमाडौं उच्चमावि गरी केही शिक्षण संस्थाहरू सञ्चालन गर्नुभयो । सुरुमा दीपिका विद्यालय उहाँ आफैंले स्थापना गरेर सञ्चालन गर्नुभयो । उक्त विद्यालय कक्षा १० सम्म अथवा मावि तहसम्म सञ्चालन भएको थियो । विद्यालय राम्ररी चलेको पनि थियो । यस विद्यालयमा नौ सय जनासम्म विद्यार्थी पुगेका थिए । एक संस्थाले अर्को संस्थालाई जन्म दिने क्रममा कपन क्षेत्रका साना बालबालिकालाई समेट्ने उद्देश्यले उहाँले कपनमा कक्षा पाँचको स्वीकृति लिएर अर्को विद्यालय सञ्चालन गर्नुभयो । दीपाङ्कुर नाममा संस्थापना भएको यो विद्यालय पनि राम्ररी चलेको थियो ।

दीपिका विद्यालयको अङ्कुर भएका कारण उहाँले साहित्यकार घटराज भट्टराईको सल्लाहमा यस विद्यालयको नाम दीपाङ्कुर राख्नुभएको थियो । यो पनि उहाँको एक्लो प्रयासमै स्थापना भएको विद्यालय थियो । यसैगरी उहाँले काठमाडौं उच्चमावि पनि स्थापना गरेर सञ्चालन गर्नुभयो । यो पनि उहाँको एकल प्रयासमा सञ्चालित शिक्षण संस्था नै थियो । काठमाडौंको चावहिलमा सञ्चालन भएको यो उच्च माविलगायत उहाँले सञ्चालन गर्नुभएका यी सबै शैक्षिक संस्थाबाट अलग भएर हाल उहाँ काठमाडौंको सुकेधारास्थित आफ्नै निवासमा स्वतन्त्र जीवन बिताइरहनुभएको छ । काठमाडौं उच्चमावि हाल टेक्सास कलेजका नाममा सञ्चालन भइरहेको छ ।

उहाँका दुईजना छोरा र एक छोरी हुनुहुन्छ । छोरा उत्तम पन्त क्यानडामा कम्प्युटर इन्जिनियर हुनुहुन्छ । धनगढीकी राधा पन्तसँग विवाह बन्धनमा बाँधिनु भएका उहाँहरूका दुईजना बच्चा छोरी इसान्वी र छोरा आहान छन् । बुहारी राधाले क्यानठामै मन्टेस्वरी विदालय सञ्चालन गर्नुभएको छ । अर्का छोरा विवेक पन्त बेलायतमा हुनुहुन्छ । उहाँको ललितपुर जावलाखेलकी वसन्ती राईसँग वैवाहित सम्बन्ध स्थापित भएको छ । उहाँहरू दुवैजना चार्टर एकाउन्टेन हुनुहुन्छ र आफ्नै पढाइसम्बन्धी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँहरूका एक-एकजना छोरा हुनुहुन्छ ।

विष्णुप्रसाद पन्तकी छोरी श्रद्धा पन्तले एमबिए गर्नुभएको छ काठमाडौं विश्वविद्यालयबाट । हाल उहाँ मेटलाइफ इन्स्योरेन्समा कार्यरत हुनुहुन्छ । काठमाडौं सुकेधाराका स्वप्निल आचार्यसँग उहाँको विवाह भएको छ । स्वप्निल आइटी इन्जिनियर हुनुहुन्छ । उहाँहरूकी एकजना छोरी हुनुहुन्छ स्प्रिहा । यसरी उहाँका सबै छोराछोरीहरू विवाहित हुनुहुन्छ र नातिनातिनासमेत भइसकेका छन् ।

उहाँले नेपालका ४५ वटा जति जिल्लाहरूको भ्रमण गर्नुभएको छ र यसका साथै भारत, बेलायत र क्यानडाको भ्रमण गर्नुभएको छ । उहाँले प्राथमिक शिक्षा भूमेथान प्राथमिक विद्यालय काभ्रेमा र कक्षा नौसम्म शारदा मावि काभ्रेमै अध्ययन गर्नुभयो भने आदर्श विद्यापीठ काठमाडौंमा कक्षा १० अध्ययन गरी त्यही विद्यालयबाट २०२७ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले प्रमाणपत्र तह नेसनल कलेज कठमाडौँ, स्नातक प्राइभेटबाट र स्नातकोत्तर केन्द्रीय कार्यालय कीर्तिपुरबाट पूरा गर्नुभयो । अर्थशास्त्रको विद्यार्थी उहाँले कानुनमा समेत स्नातक गर्नुभएको छ ।

नेपाली, अंग्रेजी र हिन्दी भाषा जान्नु हुने विष्णु पन्त पशुपति क्याम्पसको संस्थापकमध्ये एक हुनुहुन्छ । २०३७ सालमा यो कलेज स्थापना भएपछि उहाँ यसको सहायक क्याम्पस प्रमुख हुनुभयो । त्यसपछि नौ वर्ष जति क्याम्पसप्रमुख बन्नुभयो । २०७८ सालबाट उहाँ पूर्णरूपमा क्याम्पसबाट बाहिरिनुभएको छ । यो कलेज छोड्दा उहाँले उपदान पाउनुभयो । उहाँ आपूmलाई निम्नमध्यम वित्त परिवारबाट आएको बताउनुहुन्छ । उहाँका हालका दिनहरू पढेर, लेखेर, सामाजिक कामहरू गरेर, कार्यक्रमहरूमा उपस्थित भएर बितिरहेका छन् । अर्थशास्त्रको विद्यार्थी उहाँ तर साहित्य सिर्जना र स्वाध्यानमा उहाँको हालको समय बित्ने गरेको छ ।

उहाँ सानैदेखि साहित्यिक कार्यक्रमहरूमा भाग लिनुहुन्थ्यो, यस्तै काममा रुचि राख्नुहुन्थ्यो । पछि घटराज भट्टराईसँग सामीप्य भएपछि उहाँकै प्रेरणाबाट लेख्न थालेको पन्त बताउनुहुन्छ । पशुपति क्याम्पसमा छँदा उहाँले प्रशासनिक काम तथा अध्यापन दुवै गर्नुभयो । कोरोना महामारीभन्दा पहिले उहाँले आफूले सञ्चालन गरेको काठमाडौं-चावहिलको दीपिका, कपनको दीपाङ्कुर र चाबहिल काठमाडौँको उच्च माविसमेत अरूलाई हस्तान्तरण गर्नुभयो । माथि नै भनियो उहाँ साहित्येत्तर विधाको विद्यार्थी भएर पनि साहित्यमा राम्रो दख्खल राख्नुहुन्छ । उहाँको लेख्ने कुनै निश्चित समय छैन । सिरानीमा कलम कपी राखेर सत्नुहुन्छ र लेख्न मन लागेको बेला लेख्ने गर्नुहुन्छ ।

उहाँले गद्यकविता, पद्यकविता, साइनो, हाइकु, सुसेली, नियात्रा, गीतलगायत विभिन्न विधा रचना गर्नुभएको छ । उहाँले बजारशास्त्रको सिद्धान्त (२०४६), सम्झनाका भुल्कामा (२०६०), हिँड्दा हिँड्दै (२०६३), अनुभूतिका तरंगहरू (२०६६), स्मृतिका तरंग (२०७१), बोध (२०७१), बेलायतदेखि क्यानडासम्म (२०७७) लगायत पुस्तकहरू लेख्नुभएको छ । साहित्यबाहेक उहाँले आफ्नो अध्ययन संबद्ध पाठ्यक्रमकेन्द्रित ‘बजारशास्त्रको सिद्धान्त’ शीर्षकको पुस्तक पनि लेख्नुभएको छ । उहाँको एउटा सुसेलीसंग्रह प्रकाशनका क्रममा छ ।

यसरी उहाँका लगभग एक दर्जन जति पुस्तकहरू प्रकाशन भएका छन् । जीवनका भावहरू, शैली, शीतलता, मिठासता, सन्देशमूलक भाव र आनन्द दिने रचना विशेषलाई उहाँ साहित्य भन्नुहुन्छ । ‘अरूले नाम र आर्थिक उपार्जनका लागि पनि साहित्य सिर्जना गर्लान् तर म साहित्यका माध्यमबाट आफ्ना भावना व्यक्त गर्छु’ उहाँ भन्नुहुन्छ । उहाँको विचारमा साहित्य सौखको विषय हो । हाम्रो देशमा अहिलेसम्म साहित्यबाट आयआर्जनको सम्भावना देखिएको छैन । पाठ्यपुस्तक र तिनका सन्दर्भ सामग्री र सहायक पुस्तिका लेख्नेहरू भने लेखेर बाँच्न सक्लान् नत्र विशुद्ध साहित्य लेखनबाट भने यस्तो अवस्था छैन भन्ने उहाँ ठान्नुहुन्छ ।

मैले उहाँलाई सोधेँ ‘तपाईं आफूलाई सफल व्यक्तित्व ठान्नुहुन्छ ?’ भनेर । उहाँले ‘म आफूलाई सफल व्यक्ति ठान्छु’ भन्नुभयो । यसका तर्क छन् उहाँसँग । गाउँबाट पढ्न काठमाडौं आएको व्यक्तिले घरबाट कुनै सम्पत्ति नल्याई यहीँ केही व्यावसायिक र केही प्राज्ञिक शैक्षिक काम गरेर आपूmलाई स्थापित गर्नसक्नुभयो जो उहाँको सफलता हो । यही तर्क गर्नुहुन्छ उहाँ । अहिलेको उहाँको आर्थिक सम्पन्नता पनि यसरी नै प्राप्त भएको हो । उहाँले सुरुमा अरूकै एउटा डिस्टिलरीमा काम गर्नुभयो । उहाँले पसलहरूमा सामान पु¥याइदिनु पथ्र्यो । यसो गर्दागर्दै उहाँको व्यापारीहरूसँग सम्बन्ध बढ्यो ।

पछि आफैँले व्यवसाय सुरु गर्नुभयो । आफ्नो बेकरी प्रोडक्टहरू तिनै पहिले चिनजान भएका व्यापारीका पसलमा पुर्‍याइदिनु भयो । उहाँको व्यवसाय राम्ररी फस्टायो । विभिन्न बेकरी आइटमहरू उत्पादनका लागि उहाँले तत्कालीन अवस्थामा धेरै महँगो ओभन पनि किन्नुभयो तर त्यसले मात्र नधानेपछि दाउराको समेत प्रयोग गरेर पैंतीस चालीस जना मानिस राखेर उत्पादन सुरु गर्नु भयो । प्रतिदिन आठ दश क्विन्टर पिठोको आइटम बनाउँदा यसबाट बजारको माग धान्न मुस्किल पर्‍यो ।

आफ्ना उत्पादनहरू मानिस राखेर पसलहरूमा पठाउने गर्नुहुन्थ्यो र कतिपय ठाउँमा आफ्नै बिक्री कक्षसमेत खोल्नुभयो । आफ्नो पढाइको विषयसँग संबद्ध कार्य थियो उहाँको यो व्यवसाय । यसरी बिक्री कक्ष खोल्नका लागि कतै भाडामा सटर र जग्गा लिनुभयो भने कतिपय ठाउँमा आफैँले जग्गा किन्नुभयो । त्यसबेला जग्गा सस्तो थियो । यसरी नै उहाँले धेरै ठाउँमा जग्गा जोड्नुभयो । पछि जग्गामा मूल्य चर्कियो जसबाट उहाँलाई आर्थिक समृद्धिका लागि सहयोग पुग्यो ।

उहाँ भन्नुहुन्छ, ‘मैले एकदम शिखरमै पुग्छु भन्ने लक्ष राखिन । त्यस्तो लक्ष राखेको भए म सफल नमानिन सक्थेँ तर मैले जे जस्तो लक्ष राखेको थिएँ त्यो प्राप्त गरेँ । प्राज्ञिक क्षेत्र र व्यवसाय दुवैमा मैले आफूलाई सफल मानेको छु । म शिखरमै पुगिन तर त्यसको निकटमा पुगेँ ।’ उहाँ भन्नुहुन्छ, ‘समयले मसँग जे भूमिका माग्यो त्यो मैले पूरा गरेँ । आफूले झोलामा सामान बोेकेर पसल पसल पुर्‍याएको र काँधमा घ्यू टिन बोकेको सम्झना गर्नुहुन्छ उहाँ ।

मैले उहाँलाई ‘किन लेख्नुहुन्छ ?’ भनेर सोधेँ । उहाँले भन्नुभयो, ‘जग्गा किन्दा पितापुर्खाको सम्पत्ति सन्तानका नाममा नामसारी गरेको देखेपछि यो सम्पत्ति त भोलि त्यसैगरी सन्तानका नाममा जाँने रहेछ अनि मलाई कसले सम्झेलान् र जस्तो लाग्यो । त्यसपछि कृति रहने र अरूले पनि सम्झिने कुरा छोड्नपाए हुन्थ्यो भन्ने लाग्यो र लेख्न थोलेको हुँ ।’

जीवन यात्रामा अहिले उहाँ निकै नै अगाडि आइपुग्नु भएको छ । ‘फर्केर हेर्दा कहाँ आइपुगेको ठन्नुहुन्छ ?’ भनेर मैले सोधेको प्रश्नको उत्तरमा उहाँले ‘जहाँबाट जसरी यात्रा थालेको थिएँ म निकै नै अगाडि आइपुगेको छु’ भन्नुभयो । हो पनि उहाँ जसरी नै जीवनको यात्रा थालेका कतिपय मानिसहरू जहाँको त्यहीँ रहेको धेरै उदाहरण छन् ।

उहाँका एकमात्र भाई चन्द्रप्रसाद पन्त एकपटक नराम्ररी बिरामी हुनुभयो । अनेकौं अस्पतालहरूमा जचाउँदा उहाँको रोग पत्ता लागेन । भारत लगियो तैपनि रोग पत्ता लागेन । नेपालका चर्चित चिकित्सकहरूले हेरे तर रोगको पहिचान नै भएन । अब उहाँको बाँच्ने आशा एक प्रतिशत मात्र बाँकी भने चिकित्सकहरूले अन्त्यमा वीर अस्पतालका एकजना डाक्टरले रोग पत्ता लगाए र डा. भगवान कोइरालालाई उनैले फोन गरिदिए ।

डा. भगवानकोमा लगेर उहाँको उपचार गरियो । मुटुको भल्ब फेर्नुपर्ने भयो । यो फरक खालको रोग भएका कारण भल्ब अमेरिकाबाट झिकाउनु पर्‍यो । केही उपकरणहरू विष्णु पन्तले नै किनिदिनु प¥यो । चन्द्रप्रसादको मुटुबाट कालो भएर जमेको रगत निकालियो, उहाँ बाँच्नुभयो । भाइ निको भएर पशुपति क्याम्पसमा अर्थशास्त्र पढाइरहनु भएको छ । चन्द्रप्रसादकी श्रीमती मेरु ठकुरी पन्त पनि त्यहीँ नै ग्रामीण विकास अध्यापन गरिरहनु भएकको छ । जीवनमा उहाँका अनेकौं स्मरणहरू छन् जसमध्ये एउटा यस घटनालाई उहाँ अविस्मरणीय मान्नुहुन्छ र खुशी प्रकट गर्नुहुन्छ ।

एकपटक उहाँ र उहाँकी श्रीमती यात्रामा हुनुहुन्थ्यो । कलंकीबाट एउटा बस चढ्नुभयो । उहाँलाई त्यस बसमा जान मन लागेन । साझा यातायातमा जान भनेर श्रीमतीलाई झरौँ भन्नुभयो तर श्रीमतीले यसैमा जाऊँ भनेर कर गर्नुभयो । अन्तिममा ओर्लिएर उहाँहरूले साझामै यात्रा गर्नुभयो । अर्को बस उहाँहरूको बसभन्दा अगाडि गयो तर त्रिशूली किनारमा उक्त बस दुर्घटनामा परेछ र उहाँहरू त्यहाँ पुग्दा पहिलो बसमा यात्रा गरिरहेका दश बाह्र जनाको शव बाटामा लस्करै राखिएको थियो । यसबाट उहाँलाई आफ्नो समय आइपुगेको रहेनछ भने कुनै अज्ञात तत्वले नै बचाउने रहेछ भन्ने लाग्छ ।

उहाँको वर्तमान अवस्थामा जे जस्तो सम्पन्नता छ त्यो उहाँको स्वआर्जन नै हो जो उहाँले व्यवसाय तथा शैक्षिक कार्यबाट मिहिनेतपूर्वक कमाउनुभएको हो । उहाँ हाल विभिन्न सामाजिक सेवासम्बन्धी, प्राज्ञिक तथा शैक्षिक र केही व्यावसायिक संघसंस्थाहरूमा आबद्ध हुनुहुन्छ । कुनैमा सदस्य, कुनैमा अध्यक्ष र कुनैमा सल्लाहकारका रूपमा । उहाँ दीपिका इंलिस स्कुल चावहिल, दीकाङ्कुर विद्यालय कपन, पशुपति क्याम्पस चाबहिल, रिलायन्स सहकारी संस्था चावहिल तथा गुणनिधि स्मृति प्रतिष्ठान चावहिलको संस्थापक हुनुहुन्छ । उहाँ परासर पन्त समाज नेपाल तथा मुक्तिनाथ दर्शन साहित्य समाजका संरक्षक पनि हुनुहुन्छ ।

उहाँ दीपिका इंलिस स्कुलमा २०५० सालदेखि २०७५ सालसम्म अध्यक्षको भूमिकामा रहनुभयो भने हाल गुणनिधि पन्त स्मृति प्रतिष्ठान र नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधाराको अध्यक्ष हुनुहुन्छ । गुणनिधि पन्त उहाँका पिता हुनुहुन्छ । आफ्ना पिताका नाममा प्रतिष्ठान खोली उहाँकै नामबाट विभिन्न शैक्षिक, प्राज्ञिक तथा समाजसेवी कामहरू गर्दै आउनु भएको छ । हाल उहाँ एकदर्जनभन्दा बढी संघसंस्थामा संलग्न रहनुभएको छ ।

साहित्य क्षेत्रमा पनि राजनीतिमै जस्तो नातावाद कृपावाद देख्दा उहाँलाई नराम्रो लाग्छ । यस्तो हुनुहुँदैन, साहित्यिक क्षेत्र विशुद्ध रहनुपर्छ, निष्पक्ष हुनुपर्छ भन्ने उहाँको मान्यता छ । उहाँ यस क्षेत्रको शुद्धीकरणको चाहना राख्नुहुन्छ । विष्णुप्रसाद पन्त अहिले पनि निरन्तर लेखिरहेको छु भन्नुहुन्छ । ‘लेख्दैछु, निबन्ध संग्रह, लघुकथासंग्रह, पद्यकवितासंग्रह, गद्यकवितासंग्रह लगायतको तयारी गरिरहेको छु’ उहाँ भन्नुहुन्छ । साहित्य क्षेत्रमा विकृति आउनुमा हामी पनि दोषी छौँ भन्ने उहाँलाई लाग्छ । ‘हामी अभिभावक हौँ । हामी परिवर्तन हुन सक्नुपर्छ अनि मात्र नयाँ पुस्ता परिवर्तन हुन्छ । अहिले देखिएका विकृति हटाउन सकिन्छ तर सबैमा त्यो भावना हुनुपर्छ’ उहाँ भन्नुहुन्छ ।
वर्तमान समयमा सबै क्षेत्र सेटिङमा चलेको देख्नुहुन्छ उहाँ । राजनीतिमा, न्याय सम्पादनमा मात्र होइन कर्मचारी प्रशासनलगायत जताततै यस्तै छ । साहित्य क्षेत्रमा पनि यस्तै देख्नुहुन्छ उहाँ । पुरस्कार, मान, सम्मान, अभिनन्दन आदि सबैतिर यस्तै छ’ पन्त भन्नुहुन्छ । उहाँले राष्ट्रिय शिक्षा पुरस्कारलगायत विभिन्न सङ्घसंस्थाबाट विभिन्न एक दर्जनभन्दा बढी मान, सम्मान तथा पुरस्कारहरू पाउनुभएको छ । उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तररोत्तर प्रगतिको कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?