होमस्टेमा रातो च्याउको माग

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङमा सञ्चालित होमस्टेहरूमा पछिल्लो समय रातो च्याउ लोकप्रिय बन्दै गएको छ । आन्तरिक तथा बाहृय पर्यटकले रातो च्याउ मन पराउन थालेपछि होमस्टे सञ्चालकहरू पनि वनजंगलमा पुगेर रातो च्याउ जोहो गर्न थालेका छन् । बागलुङको ताराखोला गाउँपालिकाको एक होमस्टेले घरबासको तुलनामा फरक परिकारको स्वादले मनै लोभ्याउने गरेको छ । ताराखोला गाउँपालिका-५ स्थित ठूलो हिले सामुदायिक होमस्टेको मुख्य आकर्षणका रूपमा जंगली रातो च्याउ रहेको छ ।

दुर्गम स्थानको ठूलो हिले सामुदायिक घरबासको मुख्य परिकारका रूपमा रातो जंगली च्याउको परिकार पाहुनाले खुबै रुचाउने गरेका छन् । ताराखोलाको डुडेलेकको जंगलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरबासमा पुग्ने गरेका हुन् । बर्सेनि घरबासमा पुग्नेको संख्यामा वृद्धि हुँदै आएको पाइएको छ ।

घरबासमा पुग्ने पाहुनाहरूले त्यहाँको प्राकृतिक मनोरम दृश्य र सँगै अर्गानिक उत्पादनहरूले आफूलाई आकर्षित गरेको बताएको ठूलो हिले सामुदायिक घरबासका सञ्चालक तेजेन्द्रबहादुर श्रीसले जानकारी दिनुभयो । ‘ताराखोला भन्नासाथ रातो च्याउको नाम आउँछ, हामीले घरबासमा यसलाई मुख्य परिकारका रूपमा अगाडि सारेका छौं, त्यसबाहेक सेतो च्याउ र फापरको पिठो दोस्रो आकर्षण हो,’ श्रीसले भन्नुभयो, ‘डुडेलेक एक आकर्षक पर्यटकीय गन्तव्य हो, यसको प्रचारप्रसारको अभाव छ, हामीले पर्यटकहरूलाई आकर्षित गर्न घरबास सञ्चालनमा ल्याएका हौं ।’ बर्खामा बाटोका कारण पर्यटकहरू घटेको भए पनि च्याउका लागि कोशेली पठाउन फोन आउनेसमेत गरेको छ ।

घरबासमा रातो च्याउबाहेक जंगली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारबासका मुख्य परिकार हुन् । पर्यटकीय क्षेत्र डुडेलेक पुग्नेहरू र स्थानीय परिकारका पारखीहरू ठूलो हिले पुग्ने गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा आएको ठूलो हिले सामुदायिक घरबास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो ।

ताराखोला गाउँपालिकाका अधिकांश जंगलमा रातो च्याउ पाइन्छ । जंगलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जंगली रातो च्याउ ताराखोला पुग्ने जोकोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख रहेको छ ।

घरबास नखुल्दा यहाँ केही पर्यटकहरूमात्र घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरू बढ्न थालेका छन् । घरबासमा आउने जोकोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेको घरबास सञ्चालकहरू बताउँछन् । पाहुनाले आफ्नो परिवारका सदस्यहरू रहेको युरोप, जापान, अष्ट्रेलिया तथा अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गरेर पठाउँदै आएको पाइएको छ । सुकेको रातो च्याउ लामो समय रहने भएकाले विदेशमा कोशेलीका लागि लैजाने गरेका छन् ।

जंगली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जंगली च्याउ सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्दै आएको ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताउनुभयो । ‘जंगलमा गएर ल्याउनै सकस हुन्छ, च्याउको सिजनमा जंगलमा च्याउ टिप्नेको लर्को नै लाग्छ,’ घर्तीले भन्नुभयो, ‘निकै दुःख गरेर ल्याइन्छ यसको महत्वसमेत धेरै भएकाले मूल्य राम्रो छ, परिवारले पनि खानै पर्‍यो, आफन्तलाई पठाएर बाँकी रहेको मात्रै बिक्री गर्ने हो ।’

घर्तीले जंगली रातो र सेतो च्याउको माग धान्नै नसकेको बताउनुभयो । स्थानीयवासीले जंगलमा घाँसदाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण भने हुन सकेको छैन । अहिले जंगलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको स्थानीय धनबहादुर बुढाले बताउनुभयो । समयअगावै च्याउ टिप्दा बिउ मासिने समस्या बढेर गएको बताउँदै यसलाई व्यावसायिक उत्पादनका रूपमा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । उच्च पहाडी भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ । जंगलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जंगली रातो र सेतो च्याउ धेरथोर सुकाएकै पाइन्छ ।

रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोलालगायतको घना जंगलमा समेत पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रूपमा प्रयोग हुँदै आएको पाइएपछि गाउँपालिकाले रातो च्याउलगायत ताराखोलाको भांगो, सिन्की र आलुलाई ब्राण्ड गर्ने नीति तथा कार्यक्रममै समावेश गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विश्वकर्माले स्थानीय अर्गानिक उत्पादनको ब्राण्डिङ, प्याकेजिङ र बजारीकरण गाउँपालिकाले गर्ने योजना बनाएको बताउनुभयो । उहाँले ताराखोलाको भांगो र आलुको माग निकै रहेको बताउनुभयो ।

ताराखोलामा ठूलो हिलेसहित किकल्टा घरबासमा समेत रातो च्याउसँगै सिस्नोको परिकार खान पाइने गरेको छ । किकल्टा घरबास ताराखोलाको केन्द्र भागमा रहेकाले जिल्लाकै चर्चित घरबासमा पर्ने गरेको छ । रातो च्याउको व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको स्थानीयहरूको भनाइ छ ।

सेतो च्याउको व्यावसायिक उत्पादन थालेजस्तै वैज्ञानिक तरिकाले रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदयिक वन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?