स्थानीय तह निर्वाचनको तुलनामा गुल्मीमा मतदाता घटे

हिमालय टाइम्स
Read Time = 3 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । गुल्मीमा स्थानीय तह निर्वाचनको तुलनामा अहिले मतदाताको संख्या घटेको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनको तुलनामा अहिले ६६१ मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । मृत्यु भएका, बसाइँ सरेका र डुप्लिकेसन भएका मतदाता कटाउँदा जिल्लाको मतदाता संख्या घटेको बताइएको छ ।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख २४ हजार २७६ मतदाता रहेको निर्वाचन कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख छ । तर, आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि यस जिल्लामा कुल दुई लाख २३ हजार ६१५ जना मतदाता कायम भएका छन् । जसमा पुरुष एक लाख १० हजार ३१५, महिला एक लाख १३ हजार २९८ र अन्य दुईजना रहेका छन् ।

यस जिल्लामा दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं. १ मा एक लाख १९ हजार २८८ मतदाता कायम गरिएको छ । जसमा पुरुष ५७ हजार ८९६ र महिला ६१ हजार ३९२ रहेका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा एक लाख चार हजार ३२७ मतदाता कायम रहेका छन् । जसमा पुरुष ५२ हजार ४१९, महिला ५१ हजार ९०६ र अन्य दुई रहेका छन् ।

यस जिल्लाका दुई निर्वाचन क्षेत्रमा १४२ मतदान स्थल र २७८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता संख्याका आधारमा मतदान केन्द्र थपघट गरिएको छ । कालीगण्डकी गाउँपालिका-२ मा रहेको दभौखानी माविमा पहिले दुई मतदान केन्द्र रहेका थिए । अहिले एक मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै, छत्रकोट गाउँपालिका-४ मा रहेको लक्ष्मी आधारभूत विद्यालयमा पहिले एक मतदान केन्द्र रहेको थियो । अहिले दुई मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै, मुसिकोट नगरपालिका-८ मा रहेको शारदा विद्यामन्दिर माविमा पहिले तीन मतदान केन्द्र रहेका थिए । अहिले दुई मतदान केन्द्र कायम गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?