कांग्रेसले संघीयतालाई कार्यान्वयन गरेर देखाउँछ : प्रकाशमान सिंह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ । आइतबार काठमाडौंको बानेश्वरमा रहेको रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले संविधान जारीपछिको दोस्रो निर्वाचन संघीयतालाई कार्यान्वयन गर्ने भएको बताउनुभयो ।

निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्न कांग्रेस तयार रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेता सिंहले सरकारले सवै तहमा डेंगीको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले आपत्तको समयमा सबै मिलेर काम गर्नुपर्ने र यसलाई समाजले लेखाजोखा गर्नुपर्ने धारणा राख्नुभयो । पैसा कमाउन जनप्रतिनिधि नबनेको भन्दै उहाँले पदमा बसेर लाभ लिने काम गर्न नहुने जिकिर गर्नुभयोे । नेता सिंहले राम्रो गर्न चाहनेहरूलाई जनताले मौका दिनुपर्ने पनि बताउनुभयो । युवाहरूलाई स्वरोगजार बनाउनका लागि कांग्रेसको ध्यान केन्द्रीत हुने उहाँको भनाइ थियो ।

नेता सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाउनुभयो । उहाँले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउनुभयो । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायतले विद्यालयको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रम रत्नराज्य स्कुलको सुबिधा सम्पन्न बिज्ञान प्रयोगशालाको हस्तान्तरण गरियको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?