विराटनगरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा प्रदर्शनीमा राखिएको छ । विराटनगरस्थित शहीद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गर्नुभएको थियो । राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलोपटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिराको पनि उपस्थिति थियो ।

ट्रफी प्रदर्शनीका क्रममा खेलाडीका लागि प्रदेश सरकारले कन्जुस्याइँ नगर्ने उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद सफलताका लागि प्रदेश टोलीलाई शुभकामना दिनुभयो । प्रदेश १ का सामाजिक तथा खेलकुदमन्त्री राजन राईले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई विगतमा भन्दा पुरस्कार रकम बढ्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास बोर्डद्वारा यहाँ आयोजित ट्रफी टुर अवलोकन कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकार खेलकुदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणकार्य गरिरहेको बताउनुभयो । उहाँले खेलकुदमा आफ्नो जीवन समर्पित गरिरहेका खेलाडी, प्रशिक्षक एवं निर्णायकहरूको सेवासुविधा थप्ने कार्य गर्ने बताउँदै उनीहरूको भविष्य सुनिश्चित गर्न रोजगारी उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले शून्यबाट उठेको प्रदेश सरकारले खेलकुदको विकासका लागि आवश्यक ऐन, कानुन निर्माण गरी खेलकुद विकास बोर्ड गठन गर्नुका साथै जिल्ला समिति निर्माण गरेको बताउनुभयो । उहाँले खेलकुद विकास बोर्डको सुझावअनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई स्थानीय अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइएको धारणा राख्नुभयो ।

ट्रफी अवलोकन सार्वजनिक कार्यक्रममा आर्थिक मामिला योजनामन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राई, खेलकुद विकास बोर्डका उपाध्यक्ष जीनाजंग कार्की, ट्रफी टुरका संयोजक ओलम्पिक खेलाडी दीपक विष्ट र खेलाडी एवं प्रशिक्षकहरूको सहभागिता थियो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव हंसराज वाग्लेले ३५ खेलमा ७०६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८२० जनाको सहभागिता रहने जानकारी दिनुभयो । भदौ २८ गतेदेखि असोज ८ गतेसम्म भएको प्रदेश छनोटमा चार हजार १५२ खेलाडीको सहभागिता रहेको वाग्लेले जानकारी गराउनुभयो ।

ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपिएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पुर्‍याइनेछ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पुर्‍याइनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौंडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टोलीका खेलाडीको सहभागिता रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?