यमनमा युद्धविराम लम्ब्याउन संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिद्वारा प्रस्ताव

Read Time = 4 mins

एडेन । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले यमनमा जारी युद्धविरामलाई लामो समयसम्म लम्ब्याउन आफूले यमनका द्वन्द्वरत समूहसमक्ष प्रस्ताव पेश गरेको बताउनुभएको छ । ‘संयुक्त राष्ट्रसंघले हाम्रो प्रस्तावमा यमनी पक्षको प्रतिक्रियाको प्रतिक्षा गरिरहेको छ’, अल जजिरा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो ।

यसमा संलग्न सबै पक्षबीच रचनात्मक सहयोगका लागि सबैपक्षलाई आफुले आग्रह गरेको र सकारात्मक जवाफ आउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अन्तिम समाधानमा पुग्ने र यमनको युद्ध अन्त्य गर्ने स्थायी युद्धविरामको आशा गर्दछौं ।’ यमनका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि ब्रुन्डबर्गले भन्नुभयो, ‘यमनी पक्षको राजनीतिक इच्छाशक्ति भएन भने हामी परिणाममा पुग्न सक्दैनौं र यो युद्धविराम र स्थायी शान्तिको सफलताका लागि आवश्यक छ ।’

गत हप्ता यमनको ‘प्रेसिडेन्सियल लिडरसिप काउन्सिल’ (पिएलसी) का अध्यक्ष रशाद अल-अलिमीले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामको नवीकरणलाई आफ्नो सरकारले स्वागत गरेको बताउनुभएको थियो । पिएलसी प्रमुखले यमनको ताइज शहरमा हुथी विद्रोहीले लगाएको घेराबन्दी फुकुवा गर्न र युद्धविरामको समयावधि लम्ब्याउन अघि बढ्न आग्रह गर्नुभएको छ ।

यमनका विमानस्थल र बन्दरगाहमा साउदी अरेबिया नेतृत्वको गठबन्धनले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सानाका हुथी विद्रोहीले युद्धविरामका लागि प्रस्तावित सबै कुराको अध्ययन गरिरहेको अल-अलिमीले बताउनुभएको छ ।

जारी युद्धविराम अप्रिल २ मा पहिलोपटक लागू भएको थियो र पछि अक्टोबर २ सम्म दुईपटक नवीकरण गरिएको थियो । युद्धविरामलाई धेरै हदसम्म कायम राखिए तापनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी समूहले छिटपुट सशस्त्र आक्रमणलगायत उल्लंघनको आरोप एक अर्कालाई लगाउँदै आएका छन् ।

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी मिलिसियाले उत्तरी क्षेत्रको भू–भाग आफ्नो नियन्त्रणमा लिएर साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट विस्थापित गरेपछि यमन गृहयुद्धमा फसेको थियो । यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ, ४० लाख मानिस विस्थापित भएका छन् । गृहयुद्धका कारण देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?