दुई महिनामै साढे दुई खर्बको व्यापार घाटा

Read Time = 4 mins

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना अर्थात् साउन र भदौमा व्यापार घाटा झण्डै साढे दुई खर्ब पुगेको छ । दुई महिनामा तीन खर्ब दुई अर्ब २८ करोडको वैदेशिक व्यापार भएकोमा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड नाघेकोे हो । जुन गत आवको सोही अवधिभन्दा ९.४५ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा दुई खर्ब ७० अर्ब ४७ करोड व्यापार घाटा थियो । भन्सार विभागका अनुसार चालु आवको दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत कम हो ।

गत वर्षको सोही अवधिमा तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात भएको थियो । दुई महिनामा २८ अर्ब ६८ करोडको निर्यात भएको छ । जुन गत आवको सोही अवधिभन्दा ३४.८८ प्रतिशत कम हो । गत आवको पहिलो दुई महिनामा ४४ अर्ब बराबरकोे वस्तु निर्यात भएको थियो । दुई महिनामा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल, १० अर्ब ४२ करोड तीन लाख रुपैयाँको एलपिजी ग्याँस आयात भएको छ भने नौ अर्ब आठ करोड ५४ लाख रुपैयाँको कच्चा भटमासको तेल, सात अर्ब २७ करोड ८४ लाख रुपैयाँको फेरस प्रोडक्ट, छ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कच्चा पाम तेल, छ अर्ब १८ करोड नौ लाख रुपैयाँको मोबाइल, छ अर्ब १८ करोड एक लाख रुपैयाँको फलाम तथा स्टिल र चार अर्ब ९१ करोड ९१ लाख रुपैयाँको डण्डी आयात भएको विभागले जनाएको छ ।

सो अवधिमा दुई अर्ब ४७ करोड ४९ लाख रुपैयाँको पामोलिन तेल निर्यात भएको छ भने दुई अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट, एक अर्ब ९६ करोड ८६ लाख रुपैयाँको भटमास तेल, तीन अर्ब २२ करोड पाँच लाख रुपैयाँको पाम तेल, एक अर्ब २० करोड ६६ लाख रुपैयाँको फेल्ट, ९० करोड ६९ लाख रुपैयाँको चिया, ७४ करोड ७७ लाख रुपैयाँको चिया, ६८ करोड २६ लाख रुपैयाँको धागो र ६८ करोड नौ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग एक खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँको रहेको छ । सो अवधिमा भारतबाट नेपालमा कुल एक खर्ब ६९ अर्ब ६५ करोडको वस्तु आयात भएको छ । यस्तै दोस्रो ठूलो व्यापार घाटा रहेको चीनसँग तीन अर्ब ७० करोड व्यापार घाटा छ । साउन र भदौमा कुल तीन अर्ब ७१ करोडको आयात भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?