मानसिक तनावका कारण आइसोलेसनमा छु, चाडै नेपाल फर्किएर झुटा उजुरीको डटेर प्रतिवाद गर्छु : सन्दीप

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले अहिले आफू बिक्षिप्त भएको र चाँडै नेपाल फर्कने तयारीमा रहेका बताएका छन् । उनले आफूविरुद्ध परेको बलात्कारसम्बन्धि मुद्धाको सामना गर्न पनि तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै लामिछानेले आफूविरुद्ध परेको उजुरी र विभिन्न सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा एकतर्फी आएका समाचारले आफू मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका हुन् ।

भदौ २१ गते प्रहरीमा दर्ता भएको उजुरीबारे आफूले भदौ २२ गते थाहा पाएको सन्दीपले उल्लेख गरेका छन्। उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आएको पनि सन्दीपले उल्लेख गरेका छन् ।

‘क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रका लागि दिलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ,’ उनले भनेका छन् ।

उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,’ उनले भनेका छन् ।

साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ उनले लेखेका छन् ।

सन्दीप विरुद्ध आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप लगाउँदै एक किशोरीले गत भदौ २१ गते ९मंगलबार० प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

उजुरीमाथि प्रारम्भिक अनुसन्धानका क्रममा सन्दीप र उजुरीकर्ता किशोरी एउटा होटलमा गएको र दोस्रो दिन मात्रै बाहिरिएको सीसीटीभी फुटेज भेटिएको प्रहरीले जनाएको छ।

पीडित युवतीको उजुरी र प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति लिएको थियो। काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?