कांग्रेस-माओवादीमा किचलो : चुनावमा भाग पाउन आकांक्षीहरूको ‘बार्गेनिङ’, नपाए विद्रोहको चेतावनी

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । राजनीतिक दलहरू आसन्न चुनावको तयारीमा होमिएका छन् । दलहरू मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रित अभियानमा केन्द्रित भएका हुन् । अभियानअन्तर्गत दलका नेताहरू मतदाता आकर्षित गर्न जिल्ला र निर्वाचन क्षेत्र केन्द्रित भएका छन् । मतदाता मात्र होइन अन्य दलका नेता-कार्यकर्ता भित्र्याउन पनि दलहरूले कसरत गरिरहेका छन् । अरू दलका नेता-कार्यकर्ता भिœयाउन कसरत गरिरहँदा दलहरूलाई आफ्नै कार्यकर्ता जोगाउन भने धौ-धौ पर्ने देखिएको छ ।

उम्मेदवारका आकांक्षी धेरै भएपछि पार्टीभित्रै भागबण्डा मिलाउन समस्या परेको हो । आकांक्षीहरू उम्मेदवार सिफारिसमै असन्तुष्ट हुन थालेपछि नेतृत्वलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यो समस्या विशेषगरी सत्ता गठबन्धनमा आबद्ध दलहरूमा बढी देखिएको छ । गठबन्धन दलहरूबीच नै भागबण्डा मिल्न नसकिरहेका बेला दलभित्रकै असन्तुष्ट पक्षले नेतृत्वलाई निरन्तर विद्रोहको चेतावनी दिन थालेका छन् । नेपाली कांग्रेसमा संस्थापनइतर समूहले आफूहरूले ४० प्रतिशत भाग नपाए विद्रोह गर्ने चेतावनी दिएको छ । इतरसमूहले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा संस्थापन इतर पक्षका कम मात्र उम्मेदवार परेको भन्दै प्रत्यक्षतर्फ पनि त्यस्तै अवस्था आए विद्रोह गर्ने चेतावनी दिएको हो । इतर पक्षका नेताहरूले टिकट नपाए पार्टीका अरू उम्मेदवारलाई सहयोग नगर्ने र स्वतन्त्र उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने उनीहरूले चेतावनी दिएका छन् । नेपाली कांग्रेसमा देखिएको विद्रोहको आगो विस्तारै माओवादी केन्द्रमा पनि सल्किएको छ । कांग्रेस-माओवादीमा मात्रै होइन यस्तै समस्या नेकपा एकीकृत समाजवादीमा पनि छ । नेकपा एमालेमा पनि आकांक्षीको असन्तुष्टि छ । तर, कांग्रेस-माओवादीको जस्तो विस्फोटको अवस्थामा पुगेको छैन ।

धनकुटा माओवादीमा विद्रोह, स्वतन्त्र उम्मेदवारी दिने घोषणासहित सामूहिक राजीनामा
गठबन्धनका नाममा अनावश्यक भारी बोक्नुपर्ने भएपछि राजीनामा दिएका हौँ : पोलिटब्युरो सदस्य भण्डारी
नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरूले सामूहिक राजीनामा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहितका नेताले सामूहिक राजीनामा दिएका हुन् । राजीनामापछि भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । माओवादीले टिकट नपाउने भएपछि भण्डारीले यसअघि नै अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाउनुभएको थियो ।

पोलिटब्युरो सदस्य भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूले पनि राजीनामा दिएका छन् । धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार विज्ञप्ति जारी गर्दैै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूले सामूहिक राजीनामा दिएको घोषणा गर्नुभएको छ । राजीनामा गरेको समूहले भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । पार्टी नेतृत्वले विगतदेखि नै धनकुटामा माओवादी केन्द्रलाई सिध्याउने गरी भूमिका खेलेको उनीहरूले आरोप लगाएका छन् ।

अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका नाममा सबैै पद एमालेलाई जिम्मा लगाइएको, गत स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका नाममा सबैै पद कांग्रेसलाई जिम्मा लगाइएको भन्दै अब स्वतन्त्र रूपमा उम्मेदवारी दिएर अघि बढ्ने भण्डारीले बताउनुभयो । नेतृत्वबाटै पटक-पटक गठबन्धनका नाममा माओवादी केन्द्रले मात्रै भारी बोक्नुपर्ने अवस्था सिर्जना गरेकाले स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेको उहाँले बताउनुभयो । ‘हाम्रो पार्टी माथिबाटै सिध्याइएको हो । हामीले पार्टी बचाइरहेका थियौँ । एक्लै जान पनि नदिने, जनतामा जान नदिने र गठबन्धनका नाममा अनावश्यक भारी बोक्नुपर्ने भएपछि हामीले राजीनामा दिएका हौँ,’ उहाँले भन्नुभयो, ‘मैले १५ दिनअघि नै पार्टी नेतृत्वलाई राजीनामा बुझाएको थिएँ । साथीहरूसँग सल्लाहपछि सामूहिक राजीनामा दियौँ । अब स्वतन्त्र ढंगले अगाडि बढ्छौँ ।’ गठबन्धनका नाममा पार्टीलाई एजेण्डा र मुद्दाविहीन बनाइएको उहाँले आरोप लगाउनुभयो ।

नेतृत्वलाई नेकपा एसका नेता न्यौपानेको प्रश्न- हाम्रो विद्रोह प्रवृत्तिका विरुद्धमा थियो कि व्यक्तिगत पद प्राप्तिका लागि ?
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी सञ्चालन विधि, पद्धतिबारे असन्तुष्टि जनाउनुभएको छ । आइतबार नेता न्यौपानेले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । उहाँले एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि ? भन्दै प्रश्न गर्नुभएको छ । ‘केपी ओली प्रवृत्तिविरुद्ध विद्रोह गरौँ भनेर अनि आफूले पार्टी सञ्चालन, कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लंघन गर्ने हो भने यस्तोमा कार्यकर्ताले के गर्ने ?’ न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ, ‘हाम्रो विद्रोह प्रवृत्तिका विरुद्धमा थियो कि व्यक्तिगत पद प्राप्तिका लागि थियो ?’ नेता न्यौपानेले माओवादीसँग एकता गर्ने तथा एकता संयोजन समिति बनाउने निर्णयको समेत विरोध गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?