सिन्धुलीमा दुई हजार ३३ जना नयाँ मतदाता थपिए

हिमालय टाइम्स
Read Time = 3 mins

राधिका बुढाथोकी
सिन्धुली । सिन्धुलीमा दुई हजार ३३ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि थपिएका हुन् । सरकारले आगामी मंसिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् ।

वैैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा ५६६ जना महिला र एक हजार ४६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कुल मतदाता संख्या दुई लाख आठ हजार ३६९ पुगेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कुल मतदाताको संख्या दुई लाख ६ हजार ३३६ थियो ।

निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख झाका अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायी बासिन्दा गरी चार हजार २३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो ।

१५१ मतदानस्थल २६७ मतदान केन्द्र
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कायम रहेका मतदान केन्द्र घटेको छ । मतदानस्थल भने बढेको निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले बताउनुभयो । ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर चारवटा मतदान केन्द्र र सातवटा मतदानस्थल थप्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको थियो । निर्वाचन आयोगले यसअघि कायम रहेका २६८ मतदान केन्द्रमा एउटा घटाएर २६७ वटा र १४४ मतदानस्थलमा सातवटा थपेर १५१ वटा कायम गरी पठाएको छ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?