संस्कृति र भाषा जोगाउन दाङमा गोष्ठी

हिमालय टाइम्स
Read Time = 8 mins

विवेक खड्का
दाङ । जातजातिको भाषा, संस्कृति र इतिहासको बारेमा घोराहीमा छलफल भएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना तथा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर लगायतको सहयोगमा भएको राष्ट्रिय गोष्ठीमा विभिन्न जातजातिसँगै सीमान्तकृत जाति चमार जातिको संस्कृतिको बारेमा विभिन्न जानकारहरूले कार्यपत्र र त्यसको विविध पक्षमा बहस विमर्श गरेका छन् ।

कर्णाली प्रदेशको दैलेख जिल्लाको इतिहास र संस्कृतिदेखि पूर्वमा रहेका एक नम्बर प्रदेशको किराँती जातिको सांस्कृतिक आधार ‘मुन्धम’, लुम्बिनी प्रदेशमा बसोबास गर्ने थारू जातिसम्बन्धी ‘थारू लोक संस्कृतिमा मन्त्रको अभ्याससँगै प्राचीन नेपाली कला संस्कृतिहरूमा रतिकला र चमार जातिको सांस्कृतिक जीवन बारेमा विचार विमर्श भएको छ । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछानेले ओझेलमा परेको कला, संस्कृति र भाषालाई संरक्षण, सम्बद्र्धनसँगै विकासका लागि राष्ट्रिय सांस्कृतिक संगोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘जानी-नजानी बाह्य भाषा, संस्कृतिको प्रभावले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा भुल्दै गएका छौँ’, उपकुलपति प्राडा. लामिछानेले भन्नुभयो, उहाँले यस्तो अवस्थामा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रले आयोजना गरेको संगोष्ठीले ठूलो सहयोग पुगेको अर्थ लगाउनुभयो ।

लामिछानेले नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत भाषाको अध्ययन, अध्यापन, अनुसन्धानसँगै नेपालभित्र रहेका विभिन्न भाषा, संस्कृति, परम्परा र धर्मको खोज अनुसन्धानमा सहयोग पु¥याउने काम गर्ने बताउनुभयो । कुनै पनि जाति र देशको आफ्नै मौलिक संस्कृति र संस्कार रहने भन्दै उहाँले आफ्नो संस्कृति र संस्कार गुमाएर स्वयम् व्यक्ति र देशको पहिचान नै गुम्ने बताउनुभयो । पुरानो भाषा, संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिन आवश्यकता रहेको उहाँको भनाइ छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने र बोलिने भाषा, संस्कार, संस्कृति र इतिहाससम्बन्धी १२ वटा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा बृहत् छलफल भएको छ ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले विश्वविद्यालयले नेपालभित्र बसोबास गर्ने विभिन्न जातिको पहिचान, संस्कृति, परम्परा र धर्मको बारेमा अध्ययन, खोज अनुसन्धान गर्ने, सहयोग पुर्‍याउने काम गर्दै आएको बताउनुभयो । उहाँले केही व्यक्तिहरूले आफ्नो देशको पहिचानलाई बिर्सिएर भाषा, संस्कृतिलाई मास्ने गरी अघि बढेको भन्दै सचेत हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमख नरुलाल चौधरीले पुरानो कला, संस्कार, भाषा र संस्कृतिको संरक्षणसँगै विकासका लागि सरकारसँगै विज्ञहरूको सहयोग आवश्यक रहेको बताउनुभयो । पुराना तथा लोपोन्मुख अवस्थामा पुगेका संस्कार र संस्कृतिको संरक्षण र विकास गर्ने दायित्व सरकारको भए पनि त्यसमा सम्बन्धित क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘कुनै पनि जातिको भाषा, संस्कृति र इतिहासको संरक्षण गर्ने दायित्व सरकारको हो’, नगर प्रमुख चौधरीले भन्नुभयो, ‘त्यसमा सरकारलाई विज्ञहरूको सहयोग आवश्यक छ ।’

‘विश्वका विभिन्न ठाउँमा त्यहाँको जातिको संस्कार, संस्कृति र भाषाको अध्ययनका लागि मानिस जाने गरेका छन्’, नगर प्रमुख चौधरीले भन्नुभयो, ‘नेपाल बहुभाषा र संस्कृतिको देश भएकाले कला, संस्कृति र भाषाको संरक्षण गर्नसके त्यो सम्भावना छ ।’ कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले संस्कृतिलाई नबिगार्ने गरी परिमार्जन गरेर संरक्षण र विकास गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर कला, संस्कृतिको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले दाङको तुलसीपुर विभिन्न जातिको कला, संस्कृति र भाषाका दृष्टिले सम्भावना रहेको भन्दै उहाँले पश्चिम दाङमा रहेको दंगीशरणलाई सांस्कृतिक विविधताका रूपमा सबैको अपनत्व हुने गरी विकास गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा डा. भक्त राईले किराँती जातिको सांस्कृतिक आधार ‘मुन्धम’, प्राडा. माधवप्रसाद पोखरेलले लुम्बिनी प्रदेशका मातृभाषाको विकास, डा. शशी थापा पण्डितले प्राचीन नेपाली कला संस्कृतिहरूमा रतिकला, डा. गोपाल ठाकुरले भोजपुरी लोककाव्य ‘शोभनयका बञ्जारा’ अध्ययन, अशोक थारूले थारू लोक संस्कृतिमा मन्त्रको अभ्यास, टीकाराम बुढाले हाता खेल्ने मगर जातिको युद्धकला र डा. रघुनाथ नेपालले नेपाल संस्कृत विश्वविद्यालयमा धर्म दर्शनको अध्यापन परम्परा र विशिष्टाद्वैत दर्शनसम्बन्धी कार्यपत्र गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?