पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको गिडिदहमा पुगेन राज्यको नजर

हिमालय टाइम्स
Read Time = 4 mins

विजय रावत/हिटा
जुम्ला । आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडिदहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न सकेको छैन । गिडिदहलाई राज्यसँग जोड्नका लागि पहिलोपटक सरकारी टोली पुगेर फर्किएको छ ।

जिल्लाकै ठूलो ताल पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरू, स्थानीयवासी तथा पत्रकारहरूको टोली पुगेर फर्केेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिकाबाट चार दिन लगाएर उक्त दह पुगेको अध्यक्ष चौलागाईंले भन्नुभयो, ‘सरकारी टोली र पत्रकारसहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौं । समुन्द्र सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा रहेको छ । स्थलगतरूपमा सरकारी तहबाट कोही पनि निकाय पुग्न सकेको छैन । प्रकृतिले प्रचुर सुन्दर उक्त तालको हालसम्म लम्बाइ, चौडाइ र गहिराइसमेत नाप्न नसकिएको अध्यक्ष चौलागार्इंले जानकारी दिनुभयो ।’

पर्यटकीय पूर्वाधारको विकास गर्नका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गर्नका लागि पहिलोपटक गिडिदहमै पुगेर गिडिदह सम्मेलन गरेको सो वडाका वडाध्यक्ष अमरबहादुर रोकायाले बताउनुभयो । गिडिदह सम्मेलनबाट १४ बुँदे घोषणापत्रसमेत जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै ‘गिडिदह तालको पर्यटन विकासका लागि विस्तृत डिपिआर बनाई डिपिआरका कार्यक्रम अगाडि बढाउने, गिडिदह पेरिफेरीका अन्य दह, धार्मिक क्षेत्र, जडीबुटी वनस्पति, जनावर, वनस्पति र पक्षीको प्रचारप्रसार गर्ने, गिडिताल पर्यटन प्रवद्र्धनका लागि संघीय सरकार, प्रदेश सरकार र गैरसरकारी निकायमा पहल गर्ने, धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, जडीबुटी प्रवद्र्धन गर्ने, यस क्षेत्रमा रहेका जंगली जनावरको संरक्षण गर्ने, त्यहाँबाट उत्पादित पानीबाट बिजुली निकाल्न पहल गर्ने, गिडिताल जान गिडिखोला गाउँ हुँदै फुलचाले पाटन, लामाचौरसम्म सडक र गिडिदहसम्म साइकल ट्रेल निर्माण गर्ने’ घोषणापत्रमा उल्लेख गरिएकोे बताउनुभयो ।

सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवती रावलले महिलाहरू जोखिम ठाउँमा जान सक्दैनन्, जानुहँुदैन भन्ने विषय गिडिदह सम्मेलनले उदाहरण दिएको बताउनुभयो । तालसम्म पुग्नका लागि बाटो निर्माण नहुँदा पर्यटकलाई जान समस्या रहेको छ । अब पालिकाको प्राथमिकतामा परेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?