नेपालको राजनीति व्यावसायिक बन्दै

धनविक्रम सिंह
Read Time = 16 mins

उद्योगी, व्यावसायिक कृषक तथा अन्य पेशाधारीहरूले तात्कालिक र भविष्यमा पाउन सकिने प्रतिफलको अपेक्षा राखी आफ्ना धन र श्रम लगानी गर्छन् । उद्योगी व्यवसायीहरूले र कृषकहरूले पनि प्रतिफल प्राप्त गर्न केही समय पर्खनुपर्ने हुन्छ । यसरी कहिले राम्रो प्रतिफल पाउँछन् भने कहिले समय परिस्थिति तथा अन्य कारणले व्यापार व्यवसाय डुब्छ पनि । अन्य पेशाकर्र्र्मीहरूले तथा दैनिक ज्यालामा काम गर्नेहरूले तत्कालै आफ्नो पारिश्रमिक पाई जीवन निर्वाह गर्छन् । जसलाई समाजले स्वाभाविक प्रक्रियाको रूपमा ग्रहण गरेको छ तर राजनीति पेशा होइन, यो त एउटा यस्तो संकल्प हो जसमा देश हितका लागि समाज हितका लागि राम्रो गर्ने समर्पण र निष्ठा लिई होमिनु पर्दछ । राजनीतिमा त्याग र इमानदारीता अपरिहार्य तत्व हुन् ।

नेपालमा भने राजनीतिलाई पनि उद्योग व्यवसाय र पेशाजस्तै ठानी राजनीतिकर्मीहरूबाट आचरण र व्यवहार भइरहेको छताछुल्लै देखिने गरेको छ । पार्टीका नेता कार्यकर्तामा यस्तो मानसिकताको विकास भइरहेको देखिन्छ कि राजनीतिलाई पनि पेशाको रूपमा सम्झेर धन कमाउनपट्टि नै केन्द्रित भएर देश र जनताको भलो हुने कामको त के कुरा अहित र ठाडै नोक्सान हुने देख्दादेख्दै पनि पर्वाह गर्दैनन् । राज्य सञ्चालकहरूले र मातहतका प्रशासन-यन्त्रले समेत शासकीय कुर्सीलाई मात्र कमाउने भाँडो सम्झिरहेका छन् ।

समाजले पनि भ्रष्ट आचरण गर्नगराउनमा भूमिका निर्वाह गरिरहेको हुन्छ । हाम्रो समाजका मानिसहरू आफूलाई आवश्यक परेका बेला तथा समुदायमा धाक देखाउन नियम कानुनले नमिल्ने काम पनि भनसुन गरेर फत्ते गराउने प्रयत्न गर्छन् ।

उदाहरणस्वरूप निर्माण कामको एउटा निश्चित अवधिभित्र काम पूरा गर्ने सम्झौता गरेर पहिलो किस्ता अग्रिम पेश्की लिई सम्बन्धित हाकिममार्फत सबैको मुखमा बुजो लगाइदिएर काम चाहिँ वष वर्षैंसम्म लथालिंग छोड्दा एकातिर त्यहाँका जनताले सास्ती पाउने गरेका छन् भने पटक–पटक ठेक्काको म्याद थपिरहँदा राज्यले अनावश्यक बढी भार व्यहोर्नु परिरहेको हुन्छ । राजनीतिको उद्देश्य राष्ट्रोत्थानमा चौतर्फी ध्यान पु¥याई राष्ट्रलाई समृद्धशाली बनाई जनताका मौलिक हकको प्रत्याभूति गर्दै शोषण उत्पीडनरहित समाजको बहाली गरी जनताको जीवनस्तर उकास्नु रहेको छ ।

राजनीति शब्दले नै दर्शाउँछ राज्यमा सुव्यवस्था, शान्ति, अमनचैन र गरिखाने वातावरण अर्थात् आर्थिक गतिविधि सुचारु बनाइराख्ने नीतिनियमको तर्जुमा गरी सोको परिपालना गर्ने र गराउने शासनको अभिभारा लिने नेताको दायित्व हुन्छ । तर नेपालमा भने प्रजातन्त्रको पुनःस्थापना २०४८ सालपछि राजनेताहरूले राजनीतिलाई राज गर्ने नीतिको रूपमा ग्रहण गरेको पाइन्छ । सन् २०२१ को ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार ११७औं भ्रष्ट राष्ट्रमा नेपाल परेको छ । उक्त प्रतिवेदनमा एक नम्बरमा कम भ्रष्ट र क्रमांक बढ्दै गएअनुसार भ्रष्टाचारको अनुपात पनि बढ्दै गएको देखाइएको छ । नेपालमा यस्तो किन भइरहेको छ ? किन भ्रष्टाचार दिन दुण रात चौगुणा बढ्दै गएको छ ? यसका निम्नलिखित कारण हुन सक्ने देखिन्छ ।

१. पञ्चायती शासनबाट उत्पीडित जेलनेल भोगेका मूर्धन्य नेताहरूबाहेक दोस्रो पंक्तिका नेताहरू जो अहिले राजनीतिका मियो भएर राज्य सञ्चालनमा हालीमुहाली गरिरहेका छन् तिनीहरूमा आपूmले भोगेको सास्ती, जेलनेल र त्यसले बर्बाद हुन गएको घरगृहस्थीको क्षतिपूर्ति रूपमा सक्दो लाभ प्राप्त गर्ने मानसिकताले ग्रस्त भइरहेको जस्तोे देखिन्छ । राजनीतिक नेता कार्यकर्तामा यस्ता मानसिकता उत्पन्न हुनुले यिनीहरूको मनोवृत्ति कसरी बढी लाभ प्राप्त गर्ने भन्नेतिर उन्मुख भएको पाइन्छ ।

मनोवृत्तिले आचरणलाई निर्देशित गर्दछ । अहिलेका नेताहरूमा विगतमा भोगेका दुःख कष्ट सास्तीहरूको मुआब्जा असुलीतर्फ केन्द्रित भएकोले जताततै भ्रष्ट आचरणहरूको बिगबिगी भइरहेको छ । आफूले पनि भ्रष्ट आचरण गरिरहँदा आफू मातहतकाले गर्दा आँखा चिम्लिएर बस्ने गरेका छन् । हामीकहाँ भ्रष्टाचार निवारण गर्ने निकाय अपांग र अपूरो छ । यसले अरू देशहरू जस्तो सर्वोच्च पदसम्म आफ्नो कारवाहीको दायरा बढाउन सक्तैन । यसको अधिकार सीमित पारिएको छ ।

२. समाजले पनि भ्रष्ट आचरण गर्नगराउनमा भूमिका निर्वाह गरिरहेको हुन्छ । हाम्रो समाजका मानिसहरू आफूलाई आवश्यक परेका बेला तथा समुदायमा धाक देखाउन नियम कानुनले नमिल्ने काम पनि भनसुन गरेर फत्ते गराउने प्रयत्न गर्छन् । भनसुनले मात्र नहुने भएपछि कोही तेस्रो व्यक्ति अगाडि लगाएर लेनदेनको सहारा लिई जसरी भए पनि काम फत्ते गरिछाड्छन् । यस्तो व्यक्तिलाई प्रचलनमा बिचौलिया भन्ने गरिएको छ । बिचौलियाले काम फत्ते गराइदिएबापत आफूले पनि केही अंश पाउने भएकाले अगाडि सर्छन् र आफ्नो वाक्–पटुताले गर्दा काम फत्ते गर्न सफल हुन्छन् । अहिले त देशैभरि तलदेखि माथिसम्म कर्मचारी, प्रशासक र राजनीतिक नेता मन्त्रीहरू सबै भ्रष्टाचारमा चुर्लुम्म डुबेका भएर नै नेपाल ११७औं भ्रष्ट राष्ट्रमा परेको हो ।

३. भ्रष्टाचारको फैलावट पानीढल जस्तै प्रायःजसो माथिबाटै हुने गरेको देखिन्छ । राज्यको बागडोर सम्हालेका प्रधानमन्त्री, मन्त्रीहरू तथा उच्च ओहदामा बसेका प्रशासकहरूले नियम कानुन बर्खिलाप नगरी स्वच्छ छवि र आचरण राख्न सकेमा तलतिर भ्रष्ट आचरणको डढेलो सल्कने कुरै आउँदैन । दण्डभागी हुने भयले धेरै हदसम्म भष्टाचारलाई निषेध र नियन्त्रण गर्दछ । तर, नेपालमा भने माथिका नै भ्रष्टाचारमा चुलुम्म डुबेको भएर दण्डहीनता मौलाइरहेको छ । जहाँ दण्डहीनता मौलाइरहेको हुन्छ त्यहाँ देश-विकास अवरुद्ध हुन जान्छ जनताले सास्ती भाग्नुपर्छ । यसका उदाहरण त कति छन् कति तर यहाँ एउटै प्रस्तुत गर्नु पर्याप्त हुनेछ ।

कमिसनको अनैतिक क्रियाकलापले गर्दा ३० वर्ष बितिसक्दासमेत काठमाडौंवासीले मेलम्चीको पानी खान पाएका छैनन् । एकातिर भुइँचालो र कोभिडले क्षति पु¥याएको हर्जना दाबी गर्दा नदिने अर्कोतिर ठेकदारले आफ्नो रनिङ बिलको भुक्तानी माग्दा अवाञ्छित रूपले कमिसन मागेकोले योजना सम्पन्न हुनमात्र तीन प्रतिशत काम बाँकी छँदा ईटालीयन ठेकेदार काम छाडेर रोएर फिर्ता जानु पर्‍यो ।

अन्तर्राष्ट्रियस्तरमा देशको ठूलो बदनामी भयो एकातिर भने काठमाडौंवासीले मुखमा आइसकेको पानी निल्न नपाएको कत्रो बिजोग । इटालियन कम्पनीले काम छाडेर गएको तीन वर्ष बितिसक्दा पनि त्यो बाँकी तीन प्रतिशत काम अहिलेसम्म पूरा हुनसकेको छैन । २०७८ साल असार १ गते बाढीले हेडबक्र्स भत्काएर टनेलमा लेदोमाटो थुपारिदिँदा काममा ढिला गर्ने निहुँ पाए ।

४. आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि अचम्मको राजनीतिक माहौल यहाँ दृष्टिगोचर भइरहेको छ । आफ्नो आफ्नो स्वार्थ पूर्तिका लागि विचार, सिद्धान्त र दृष्टिकोण एक अर्कासँग मेल नखाने भए तापनि वर्तमान सत्तामा रहेका पाँच दलहरूले फेरि चुनावी साँठगाँठ गरेका छन् । प्रत्येक दलहरूको आआफ्नो विचार, सिद्धान्त, दृष्टिकोण र काम गर्ने तरिका अलगअलग हुने गर्छ । विचार, सिद्धान्त र दृष्टिकोण नमिल्ने दलहरूसँग साँठगाँठ गरी चुनावमा विजय हासिल गर्ने के को लागि ? के यो सुशासन बहाल गरी समृद्ध नेपाल बनाउनका लगि हो र ?

यो त घाम जस्तै छर्लंगै छ कि व्यक्तिगत रूपमा अर्थोपार्जनका लागि चुनाव जितेर त्यस्ता पदमा पदासीन हुनलाई हो । त्यति मात्र कहाँ हो र एक त अमिल्दो सत्ता गठबन्धन त्यसमाथि प्रभावशाली कार्यकर्ताबाहेक झासेझुसे कार्यकर्तालाई चुनाव लड्न टिकट पाउन पैसा तिर्नुपर्ने, पैसा नतिरी टिकटै नपाउने कस्तो अचम्म । त्यतिमात्र होइन चुनाव लड्नकै लागि विभिन्न दलसँग तालमेल मिलाउन खोज्दा त्यस क्षेत्रको लोकप्रिय कार्यकर्ता चुनाव लड्न पाउने अधिकारबाट वञ्चित हुनुपर्छ । हालसालै सम्पन्न स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा त्यहाँका नेपाली कांग्रसका लोकप्रिय कार्यकर्तालाई पार्टीले टिकट दिएन ।

चुनाव लड्नकै लागि विभिन्न दलसँग तालमेल मिलाउन खोज्दा त्यस क्षेत्रको लोकप्रिय कार्यकर्ता चुनाव लड्न पाउने अधिकारबाट वञ्चित हुनुपर्छ । हालसालै सम्पन्न स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा त्यहाँका नेपाली कांग्रसका लोकप्रिय कार्यकर्तालाई पार्टीले टिकट दिएन ।

स्वतन्त्रबाट उठ्दा पनि विजयी हुने आशंकाले चुनावै नलडी बसिदिन वरिष्ठ गरिष्ठ नेताहरू दबाब दिन भरतपुर पुगेका थिए । तर, उहाँ आफ्नो अडान नछाडी चुनाव लड्नुभयो तर जालझेल गरी उहाँको प्रतिस्पर्धीलाई जिताइयो । यस्ता क्रियाकलापलाई इंलिसमा मालप्राक्टिस भनिन्छ । अझ धन र सेवासुविधाका लागि निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची आयोगमा पेश हुने अघिल्लो दिनै समाप्त हुने पत्र काटी सूचना दिइसक्दासमेत धन लोलुपहरूले कानुन मन्त्रीमार्फत संसदमा प्रतिनिधिसभाको समयावधि लम्ब्याउने प्रस्ताव निर्णयार्थ पेश गरिसकेका थिए ।

अघिल्लो (पहिलो) चुनावपछि अपनाइसकिएको प्रचलनलाई लत्याउँदै आगामी चुनावबाट विजयी सांसदहरूको पहिलो सभा नबसेसम्म संसदको समयावधि कायम रहनेगरी नियम बनाउन लागेका थिए । तर, चुनावको मुखमा जनता माझ गलत सन्देश जाने भएर नेपाली कांग्रसकै सांसदबाट संशोधन प्रस्ताव ल्याउन लगाएर उक्त प्रस्ताव फिर्ता लिएका हुन् । के यो राजनीतिको व्यापारीकरण होइन ? धन र पद लोलुप भएर अमिल्दो तालमेल गरी सत्ता सञ्चालनमा समेत अन्तरकलहले गर्दा मतैक्य हुन नसकी देश विकासको काम अवरुद्ध भइरहने र जनताले पाउने सेवासुविधाबाट वञ्चित हुनुपर्छ । स्वच्छ राजनीतिमा त प्रत्येक दल आआफ्नो सिद्धान्त र दृष्टिकोणका साथ आफ्नो एजेण्डा लिएर जनता सामु जाने होइन र ?

स्वच्छ र निष्पक्ष प्रतिस्पर्धामा त प्रत्येक पार्टीले आआफ्नो एजेण्डा र प्रतिबद्धता लिएर जनता सामु गएर भोटको अपिल गर्ने हो । दुभाग्यवस कुनै पार्टीले सरकार बनाउन बहुमत ल्याउन नसकेको खण्डमा जुन दलले सबैभन्दा बढी मत ल्याएको छ उसले आफ्नो दलसँगको विचार र दृष्टिकोणमा केही सामीप्यताका साथै विश्वसनीय लाग्छ उसैसँग तालमेल गरी सरकार निर्माण गरेर मुलुकको शासन सञ्चालन गर्छ । हामीकहाँ जस्तो मालप्राक्टिस गरेर होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?