जलवायु परिवर्तन र परिवार नियोजनको सम्बन्ध

Read Time = 15 mins

✍️ सुजाता कार्की

आमा बन्न पाउनु सबै महिलाको लागि गर्वको कुरा हो । एउटी महिला आफ्नो इच्छा र रहरले गर्भवती हुँदा जिन्दगीको सबैभन्दा खुशीको पलको रूपमा लिन्छन् तर कहिलेकाँही अनिच्छित गर्भ बस्ने गर्छ । यसले गर्दा महिलालाई खुशी होइन मानसिक र शारीरिक पीडा दिने गर्छ । कति वर्षको अन्तरमा कति जना बच्चा जन्माउने भन्ने विषयमा समयमै सही निर्णय लिन सकिए परिवार व्यवस्थितमात्रै होइन, सुखी र समृद्धि पनि हुन सकिन्छ । अनिश्चित गर्भले महिलामात्रै नभएर परिवारमै कलह ल्याउने गरेको पाइन्छ ।

स्वदेशमै कृषि कर्ममा सफल हुन नसक्दा ४० वर्षकी मीरा श्रेष्ठ (नाम परिवर्तन) पैसा कमाउन १५ वर्षअघि श्रीमान्सँगै कुबेत गएकी थिइन्् । त्यस बेला श्रेष्ठ परिवारलाई बच्चा पाउने विषयमा खासै चासो दिएनन् । पाँचवटा अनिश्चित गर्भ रहँदा श्रेष्ठ दम्पती सल्लाहमै औषधि सेवन गरेर गर्भपतन गरे । कुबेतबाट फर्केपछि अहिले बच्चा पाउन श्रेष्ठ दम्पतीलाई धौ-धौ परेको छ । गर्भधारण गर्न जति प्रयास गरे पनि मीरा असफल हुँदै आएकी छन् । परिवार नियोजनका बारेमा जानकारी भए पनि उनले त्यति चासो नदिएको उनी बताउँछिन् । चिकित्सकले मीरालाई आफूखुशी गर्भपतन गरिएकाले दाहिनेतर्फको ट्युब ब्लक भएको र पाठेघरमा समेत समस्या निम्तिएको जानकारी दिएका छन् ।
योजना बनाएर परिवार नियोजनको प्रयोग नगर्दा अहिले उनलाई निक्कै पछुतो लागेको छ । उपचारमै लाखौं रुपैयाँ खर्चिँदा पनि बच्चा पाउने आस देखिएको छैन् । यसरी आफूखुशी गर्भ तुहाउँदा महिला शारीरिक रूपमा निक्कै कमजोर हुने गर्छन् । यस्ता प्रक्रियाले आफूले चाहेको समयमा गर्भ नरहने समस्या निम्तिन सक्छ । चिकित्सकहरूका अनुसार अनिश्चित गर्भ तुहाउँदा गर्भ रहने ट्युब ब्लक हुनेलगायत समस्या देखापर्न सक्छन् ।

परिवार नियोजनको विषयले दामपत्य जीवनमा प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध राख्दछ । यसले मानसिक, सांस्कृतिक, स्वास्थ्य, विकास र जलवायु परिवर्तनलगायत विभिन्न सामाजिक क्षेत्रमा असर पार्ने गर्छ । परिवार नियोजनलाई जनसंख्या नियन्त्रण गर्ने उपायको रूपमा मात्र लिन गरिन्थ्यो तर हाल यस्तो मात्र सोच राखिँदैन ।

३० वर्षकी सपना मगर (नाम परिवर्तन) को दुई छोरा र एक छोरी थिए । श्रीमान्सँग खासै राम्रो सम्बन्ध नभएर परिवार नियोजन साधनको बारेमा खासै जानकार नभएर बढी छोराछोरी जन्माउनु पर्‍यो । श्रीमान्लाई मन लाग्दा आफूखुशी आउजाउ गर्थे । बाँकी समय श्रीमान् गायब हुन्थे । पछिल्लो समयमा वैशाखमा श्रीमान् गाउँमा झुल्किएका थिए । त्यसपछि फेरि हराएका थिए । त्यही समयमा उनको गर्भ रहेको थियो तर त्यो विषय सपनाले तीन महिनापछि मात्रै थाहा पाइन्, जब उनको महिनावारी नियमित नभएर रोकिएको थियो ।

महिनाबारी नियमित नहुँदा पनि ढुक्क भएर घरै बसेकी सपनालाई विस्तारै खान खान रुचि नलाग्ने, रिंगटा लाग्ने र वाकवाकी लाग्न थालेको थियो । त्यसपछि उनी अस्पतालमा परीक्षण गराउनका लागि पुगेकी थिइन् । परीक्षणको क्रममा १२ हप्ताको गर्भ रहेको खुलेको थियो । नेपालमा सन् १९५९ सेम्टेबर १८ मा परिवार नियोजन संघको स्थापनासँगै संस्थागत रूपमा परिवार नियोजन सेवाको सुरु भएको हो । दुर्गम भेगमा भने परिबार नियोजनको समस्या झनै विकराल छ ।

रोल्पाकी सरिता विश्वकर्मा (नाम परिवर्तन) को चार छोरी थिए । उनी परिवार नियोजनको साधन प्रयोग गर्न इच्छा भए पनि परिवारसँगै बस्ने भएकाले घरपरिवारले नराम्रो भन्ला भनेर परिवार नियोजन प्रयोग गर्ने विषयमा आँट नै गर्नै सकिनन् । परिवार नियोजनको अस्थायी साधनको प्रयोगको विषयमा टाढाको स्वास्थ्य चौकीमा जान बाटोको असुविधा र खर्च पनि निक्कै लाग्ने भएकाले अन्तमा उनले मौन भएर घरमै बस्न बाध्य भइन् ।

परिवार नियोजनको विषयले दामपत्य जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध राख्दछ । यसले मानसिक, सांस्कृतिक, स्वास्थ्य, विकास र जलवायु परिवर्तनलगायत विभिन्न सामाजिक क्षेत्रमा असर पार्ने गर्छ । परिवार नियोजनलाई जनसंख्या नियन्त्रण गर्ने उपायको रूपमा मात्र लिन गरिन्थ्यो तर विभिन्न अध्ययन अनुसन्धानले परिवार योजना सेवाले मातृ, नवजात शिशु, बाल तथा किशोर किशोरीहरूको मृत्युदरमा कमी ल्याउनुका साथै लैंगिक समानता, पुरुष र विशेषगरी महिलाहरूको स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था तथा वृत्ति विकासमा सहयोग गर्न ठूलो सहयोग गर्दै आएको उत्कृष्ट माध्यमको रूपमा देखापरेको छ ।

जलवायु तथा विपत् व्यवस्थापनविद् डा.घर्मराज उप्रेतीले जलवायु परिवर्तनको प्रकोपले विशेषगरी मनसुनको समयमा बाढी पहिरो र सुख्खाका कारण परिवार नियोजनको साधन समयमा पुग्न नसक्नु एउटा मुख्य चुनौती रहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा अत्यधिक परेको छ । कृषि कर्ममा सबैभन्दा बढी महिला नै संलग्न छन् । जलवायु परिवर्तनको जोखिममा महिला नै बढी भएको पाइन्छ । विश्वभरका महिला प्राकृतिक स्रोतमा धेरै निर्भर छन् । प्राकृतिक प्रकोपका कारण समयमै परिवार नियोजनको पहुँचमा नभएको धैरै महिलाको गुनासो छ ।

महिलाहरू उपचार, सफाइको पहुँचबाहिर हुन्छन् । परिवार नियोजन महिला र जलवायु परिवर्तनका लागि दुवैतर्फ फाइदा गर्छ । परिवार नियोजनले जलवायु परिवर्तन अनुकुलनका लागि ठूलो भूमिका खेल्दछ । महिला सशक्तीकरण जलवायुमैत्री विकास परिवार नियोजनको प्रयोगबाट सम्भव छ । परिवार नियोजन साधनकै माध्यबाट थौरै र राम्रो बच्चा बनाउन मद्धत गर्छ । जुन जलवायुमैत्री विकासको रूपमा मान्न सकिने विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का अनुसार सबैभन्दा कमजोर र सीमान्तकृत व्यक्तिले नै सबैभन्दा ठूलो जोखिमको अनुभव गर्छन् ।

त्यसैले पुरुषभन्दा बढी जोखिममा महिला रहेको आइपिसिसीको निष्कर्ष छ । किनभने उनीहरू विश्वका अधिकांश गरिबको प्रतिनिधित्व गर्छन् । यसका साथै प्राकृतिक स्रोतहरूमा महिला नै बढी निर्भर छन् । जलवायु परिवर्तनका जोखिममा महिला बढी पर्नुमा सामाजिक, आर्थिक र सांस्कृतिक कारण मुख्य रहेको जनाइएको छ । मनोसामाजिक परामर्शदाता पार्वती शर्माका अनुसार अनिच्छित गर्भले महिला र बच्चाप्रति नकारात्मक धारणा पाएको आफूले परामर्श गर्दा भटेको जानकारी दिनुभयो । विशेषगरी अनिच्छित गर्भको समस्या लिबिङ टुगेदरमा बस्ने जोडीमा बढ्दो रहेको जसले गर्दा महिलालाई सामाजिक पीडाले सताउने गरेको उहाँको अनुभव छ । महिलाहरूलाई अनिच्छित गर्भबाट जोगिन सहयोग गर्नुभन्दा गर्भपतन गर्न वा पूरै समय अनिच्छित गर्भ राखिराख्न ज्यादा महँगो हुन्छ । परिवार नियोजनका आधुनिक साधनहरूको सेवाहरू तथा मातृ र नवजात शिशु स्याहारलाई सँगसँगै विस्तार गरियो भने मात्रै मातृत्व र नवजात शिशु स्याहारमा गरिने लागतको तुलनामा बचत गर्न सकिन्छ ।

कृपा भन्ने संस्थाको अध्ययनले सम्पूर्ण परिवार नियोजनको आवश्यक सेवाहरूको चाहना पूरा गर्ने हो भने अनिच्छित गर्भ धारण ८७ प्रतिशतले वा चार लाख ६९ हजारले घट्नेछ र सोही अनुपातमा अनियोजित गर्भ, गर्भपतन र आफैँ खेर जाने गर्भ पनि घट्नेछ ।
महिलाहरूको परिवार नियोजनका साधनको सम्पूर्ण आवश्यकता पूरा भएमा वार्षिक तीन सयवटा मातृ मृत्यु घट्नेछ । यदि सबै आवश्यक मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा पूरा गरियो भने अझ बढी महिलाहरूको ज्यान बचाउन सकिने अध्ययनले देखाएको छ । परिवार कल्याण महाशाखाले परिवार योजनाको आवश्यकता वर्तमान समय कम होइन अझ बढी र प्राथामिकता दिनुपर्ने सुझाव दिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको वार्षिक वृद्धिदर (०.९३) र नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले कूल प्रजनन् द्विप्रतिस्थापनको स्तरको नजिक अर्थात् २.३ प्रतिशत देखाएको छ । यी नतिजाहरूको आधारमा नेपालमा आगामी वर्षमा जनसंख्या ऋणात्मक हुन सक्ने भएकाले परिवार नियोजनको कार्यक्रममा लगानी कम गनुपर्छ भन्ने तर्क सत्य नभएको महाशाखाले जनाएको छ । गर्भनिरोधको साधन प्रयोग वृद्धि भएर कूल प्रजनन् दरमा कमी आएको मान्न सकिने अवस्था छैन । किनभने प्रजनन् उमेरका जनसंख्याको ठूलो हिस्सा देशबाहिर छ । यसले गर्दा प्रजनन् दरमा कमी भएको देखिन्छ । जुन अस्थायी अवस्था हो । विदेशिएका पुरुषहरू नेपालमा फर्किए प्रजनन् दर पुनः बढ्नसक्ने सरकारको भनाइ छ ।

सूचक तथा प्रगति विवरण अनुसार आधुनिक परिवार नियोजनको साधनको आवश्यकता ५६ प्रतिशत रहेको तथ्यांक रहेको छ । नेपालको जनसंख्या नीति २०७१ अनुसार सन् २०३४ सम्म परिवार नियोजन प्रयोगकर्ता ९० प्रतिशतमा पुर्याउने सरकारी योजना रहेको छ ।

दिगो विकास लक्ष्य सम्बन्धित सूचक तथा प्रगति विवरण सन् २०१९ अनुसार ४३ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गरेको तथ्यांक छ जसलाई अगामी सन् २०३० सम्म ६० प्रतिशत बनाउने लक्ष्य छ । त्यस्तै सूचक तथा प्रगति विवरण अनुसार आधुनिक परिवार नियोजनको साधनको आवश्यकता ५६ प्रतिशत रहेको तथ्यांक छ । नेपालको जनसंख्या नीति २०७१ अनुसार सन् २०३४ सम्म परिवार नियोजन प्रयोगकर्ता ९० प्रतिशतमा पुर्‍याउने सरकारी योजना रहेको छ । परिवार नियोजनका साधनहरू प्रयोग नगरी अवान्छित गर्भ रहन गई पछिल्लो समय गर्भपतन गराउने किशोर किशोरी तथा महिलाहरूको संख्यासमेत उल्लेख्य वृद्धि हुँदै गएको तथ्यांक छ । परिवार योजना महिला तथा पुरुषको मौलिक अधिकार हो । परिवार योजनाले प्रत्येक मानिसको जीवनलाई खुशी, स्वस्थ्यकर र समृद्ध बनाउँछ । परिवार योजनालाई मातृ, बाल, पोषण र अन्य स्वास्थ्य एवं शिक्षा, कृृषि, महिला विकास कार्यक्रमसँग एकीकरणतिर सरकारको ध्यान जान जरुरी छ ।

कतिपय अवस्थामा सामाजिक कारणले यसको पहुँच हुँदा प्रभावकारी बनाउन नसकिएको अवस्था छ । विश्वव्यापी रूपमा मातृ मृत्युलाई करिब ४४ प्रतिशतले कमी ल्याउन परिवार नियोजन सेवाको योगदान रहेको निष्कर्ष छ । अध्ययन अनुसार नेपालको हकमा करिब ५३ प्रतिशत मातृ मृल्युलाई कमी ल्याउन परिवार नियोजन सेवाको योगदान छ । अगामी दिनमा परिवार नियोजनलाई अझ बढी प्रभावकारी बनाउन आवश्यक छ । जानकारीमूलक सूचना विवाहित र अविवाहित जोडी र नेपालका सबै भेगमा पुग्न आवश्यक देखिन्छ । परिवार योजना कार्यक्रममा प्रभावकारी बनाउन यसमा नेपाल सरकारको लगानी निकै आवश्यक छ । परिवार योजना सफल बनाउन संघ प्रदेश र स्थानीय तहको सहकार्य र समन्वय खाँचो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?