नेपाली कांग्रेसमा मतमतान्तर

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

नेपाली कांग्रेसमा बेमेलको अवस्था त छँदैछ तर हाल बितण्डा नै पैदा भएको छ । पार्टी एउटै हो नेपाली कांग्रेस तर यस पर्टीभित्रको भावनात्मक फुटलाई हेर्ने हो भने यो एउटा पार्टी नभएर विभिन्न पार्टीहरूको गठबन्धन हो कि जस्तो देखिन्छ । बरू अन्य पार्टीहरूसँग गठबन्धन गर्दै हातेमालो गरेर हिँडिरहेको नेपाली कांग्रेसमा आफैँभित्र भने मेलमिलाको अवस्था स्थापित हुन सकेको छैन । प्रतिशतमा भागबण्डाका मागहरू भइरहेका छन् । एक पक्षले गरेको यस्तो माग अर्को पक्षले स्वीकार गर्न सकिरहेको छैन । नेपाली कांग्रेसकै जस्तो अरू अरू पार्टीहरूमा पनि यस प्रकारको मतमतान्तर नभएको होइन तर कम्युनिष्ट पार्टीहरूमा यस प्रकारको बहस भित्रभित्रै मात्र हुने गर्छ र बाहिर सतहमा त्यसरी पोखिन आउँदैन । यदि बाहिर आयो भने चाहिँ छिन्नभिन्न हुनेगरी नै आउँछ जसरी नेकपाको विवाद सडकमा पोखिन आएर वर्तमान अवस्था सिर्जना भएको थियो ।

हाल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले भेला गरेर आफ्ना कुरा संस्थापन पक्षमा राख्ने गरी निर्णय गरेको छ । ६० र ४० को प्रतिशतमा सिट संख्या माग गर्दे आएको शेखर कोइरालाको पक्षले आफ्नो पक्षलाई संस्थापन पक्षले ४० प्रतिशत सिट आगामी निर्वाचनका लागि माग गर्दै आएको छ तर उक्त सिट संख्या संस्थापन पक्षबाट नपाएका खण्डमा विद्रोह गर्ने भनेको छ । उक्त पक्षले आफूसंस्थापन जत्तिको छैन भनेर हीनभावना पालेको देखिन्छ नत्र किन बराबरी ५० वा संस्थापन पक्षभन्दा बढी प्रतिशत माग गर्न उक्त पक्षले सकिरहेको छैन त ? संस्थापना इतर पक्षले ६०/४० को माग गर्‍यो भनेर संस्थापन पक्ष त ८०/२० को डण्डा हातमा लिएर उक्त, पक्षलाई पेल्ने सुरसारमा छ भन्ने चर्चा चलेको छ ।

यसले गर्दा नेपाली कांग्रेसभित्रका यी दुवै चर्चा अनुपयुक्त हुन् भन्ने तर्क गरिँदै आएको छ । एउटा पार्टी किन एउटै सोचाइ राखेर अगाडि बढ्न सकिरहेको छैन ? यो विचारणीय प्रश्न हो । आगामी निर्वाचनमा संघ तथा प्रदेशसभाका सदस्यहरूका लागि टिकट बाँड्दा न्यायसंगत दृष्टिकोण राखिएन भने आफ्नो पक्षले विद्रोह गर्ने चेतावनीका साथ संस्थापन इतर समूहले संस्थापन पक्षलाई चेतावनी दिएको छ । तर विद्रोह भनेको के हो र यो कस्तो स्वरूपको हुने हो त्यो भोलि विद्रोह गर्दाका समयमै थाहा होला तर यस प्रकारका मतमतान्तरले भोलि कस्तो परिणाम आउला त्यो निकै गम्भीर प्रश्न हो । यसबाट हानी कसलाई हुने हो ? त्यो त दुवै समूहलाई जानकारी नभएको होइन ।

संस्थापन इतरलाई सिट नै प्राप्त नहोला भने संस्थापन पक्षलाई कांग्रेसभित्रकै अर्को एउटा पक्षले मतदान गरेन भने त्यसको परिणाम कस्तो आउला त्यो जानकारी त होला । त्यसो हो भने यस्तो बाहिरै पोखिने गरी झगडा किन गरिन्छ त ? त्यतातिर दुवै समूहले सोच्नुपर्ने होइन र ? नसोच्ने हो भने दुवै समूहमात्र सकिने हो कि नेपाली कांग्रेसै सकिने हो त्यतातिर सोच्नुपर्ने हो कि ? कि दुई टाउके चराको कथा जस्तै हुने हो ? राजनीति गरेपछि पद प्रतिष्ठा आर्जन गर्ने चाहना हुनु अस्वाभाविक होइन तर त्यसका लागि गरिँदै आएको यो प्रतिस्पर्धा भने अस्वाभाविक नै हो । किन राजनीतिक पार्टीहरू नेपाली जनताबीच सम्मानित बन्न सकेनन् । प्रजातन्त्रको पुनःस्थापना भएको केही वर्षसम्म सबै पार्टीहरूमा निष्ठा र त्यागले सम्मान पाएकै थियो ।

२०४८ र ०५१ सालका निर्वाचनसम्म पनि यस्तो अवस्थाको विद्यमानता थियो तर त्यसपछि भने पार्टीहरूमा यस्ता निष्ठा, त्याग गरेकामानिसहरूलाई सम्मान गर्नुपर्छ भन्ने भावनामा स्खलन पैदा भयो । उक्त प्रतिष्ठालाई पार्टीहरूले बचाउन सकेनन् । एउटा व्यवस्था नराम्रो भयो र त्यसमा जनताले दुःख पाए भनेर त्यसका विरुद्धमा बलिदानी दिई ल्याएको यस प्रणालीप्रति जनताको सम्मान प्राप्त हुन सकेन । त्यो राम्रो काम हो वा गलत नेतृत्वमा रहेका पार्टी र नेताहरूले सोच्नुपर्ने होइन ? हामी भाँडिनाले पार्टी बिग्रिन्छ, यस्ता मतमतान्तर बाहिरसम्म आएपछि जनतामा हामी र हाम्रो पार्टीप्रतिको दृष्टिकोण नराम्रो बन्न जान्छ भन्ने नेताहरूले सोच्नुपर्छ । जबसम्म उहाँहरूमा यस्तो भावना जागृत हुँदैन तबसम्म समग्र प्रणालीप्रति नै जनताको नकारात्मक धारणा रहिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?