नवदुर्गाको महत्व र महिमा, कुन दिन कुन भगवानको पूजा गर्ने

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । बडा दशैँलाई धार्मिक तथा संस्कृतिक पर्वको रुपमा मानाईन्छ । माया, प्रेम र सद्भावको त्रिवेणीका रुपमा हेरिने दशैँलाई मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने चाडको रुपमा पनि हेरिन्छ ।

पौराणिक धार्मिक ग्रन्थहरूका अनुसार असत्य माथि सत्यको विजय प्राप्त भए पश्चातको खुशियालीबाट यो चाडको सुरुवात भएको मानिन्छ ।

वैदिक युगमा मातादुर्गाले दानव महिसासुरको बध गरी देवगणहरूको रक्षा गरेको हुनाले यस पर्वलाई मातृशक्तिका रुपमा पनि मनाउने गरिन्छ । यसरी हेर्दा शोषित, पिडित र दुखमा परेकालाई शक्ति दिई अन्यायी, अत्याचारीहरुलाई परास्त गरी सत्यको विजय गराउने मातृशक्तिको मुख्य रुप दुर्गामातालाई मानिन्छ ।

दुर्गाको प्रतीकका रुपमा घटस्थापनाको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधिहरू घरमा प्रवेश गराउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ।

फूलपातीको बढाइपछि महाअष्टमीको दिन कालरात्रीको पूजा गरी भगवतीको आह्वान् पूजन गर्दै शक्तिको उपासना गर्ने विधान शास्त्रले गरेको छ।नौदिनसम्म भगवती दुर्गाको पूजाआराधना गरी दशौं दिन विजयादशमी पर्वको विजय साइतमा दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउनु पर्दछ।

 नवदुर्गाका नौ रुपको शक्ति र पूजा आरधनाको महत्वलाई यसरी उल्लेख गरिएको छ -

१. शैलपुत्री- नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भनिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा उत्पन्न भएकी हुनाले यिनलाई शैलपुत्री भनिएको हो । ६ वटा हात भएकी शैलपुत्रीले शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरु बोकेकी छन् । दानवहरुले देवगण माथि आक्रमण गरे पश्चात महिसासुर नामक दानवको नष्ट गर्न प्रकट भएकी शैलपुत्रीले सोहि दिनबाट महिसास’रको बध गर्ने की नगर्ने भन्ने अध्ययन कार्यको सुरुवात गरेको हुनाले यस दिनलाई विशेष महत्वका रुपमा हेरिन्छ र सोही अनुसार पुजापाठ गरिन्छ ।

२. ब्रम्हचारिणी- नवदुर्गाको दोस्रो रुप ब्रम्हचारिणी हो । ब्रम्ह शब्दको अर्थ आत्मा अर्थात् तपस्या हो । पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित छन् । ब्रम्हचारिणी अर्थात् तपश्विनी रुप धारण गरी जपमाला गन्दै ध्यानदृष्टिले दानव महिसासुरको बध गर्नै पर्ने हो कि हैन बध कसरी गर्ने जस्ता विषयको सुक्ष्म रुपले हेर्ने, सोच्ने वा ध्यानबाट आत्मज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले नवरात्रको दोस्रो दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रुपमा लिईन्छ । ब्रम्हचारिणी दुर्गाको रुप पूर्ण ज्योतिर्मय छ । ब्रम्हचारिणीले आफ्नो ब्रम्हज्ञान प्राप्त गर्न हातमा जपमाला लिएबाट नै माला जप गर्ने प्रचलन रहि आएको हो । आज हिन्दु धर्मावलम्वीहरुले भन्दा बौद्ध धर्मावलम्वीहरुले बढि माला जप गर्ने गरेको पाइन्छ । त्यसबाट पनि धार्मिक सहिष्णुताको पाठ सिक्न सकिन्छ ।

३. चन्द्रघण्टा- नवदुर्गाको तेस्रो रुप चन्द्रघण्टा हो । चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्रछ । यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो । घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ । यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ । देवीले यस रुपमा सकरात्मक, नकरात्मक कुराको छानविन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानविनको सन्देश दिने काम गरेकी छन् । तसर्थ सम्पूर्ण शक्तिपिठ तथा देविको मन्दिरमा सन्देश बाहकको रुपमा घण्ट राख्ने प्रचलन छ ।

४. कुष्माण्डा- आफ्नो मन्द मुस्कानबाट अण्ड अर्थात् ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो । यस रुपमा ब्रम्हाण्ड उत्पन्न गरी महिसासुरलाइृ आफ्नो बहसमा ल्याउने काम गरेकी हुनाले शक्तिशालिनी र शान्तिदायनीको रुपमा लिईन्छ । नवरात्रको चौथो दिन देवी दुर्गाका मन्दिर लगायतका शक्तिपिठहरुमा दर्शन र पुजा आरधना गर्नाले अक्षम्य शक्ति प्राप्त हुने जनविश्वास रहि आएको छ ।

५. स्कन्दमाता- देवता र दानवहरुको युद्धको समयमा देवताका सेनापति युद्धवाजको नाम नै स्कन्द कुमार हो । यिनै स्कन्द कुमारकी माताको रुप नै स्कन्दमाता हो । शिव पुराण लगायतका पुराणहरुमा स्कन्द कुमारलाई शक्तिधर लगायतका नामबाट पनि स्तुति गरिएको छ । देवीले यस रुपमा स्कन्दक’मार लगायतका सेनाको उत्पति गराउने र मुख्य सन्देशमा सत्य र असत्य छुट्याउने काम गरेकी छन् ।

६. कात्ययानी- दुर्गाको छैटौं रुप कात्ययानी हो । कतका छोरा कात्या ऋषिको गोत्रमा जन्मीएका कात्ययानले कठिन तपश्या गरी दुर्गामातालाई छोरीको रुपमा पाएको हुनाले देवीको छैटौं रुपलाई कात्ययानीको रुपमा पुकारिन्छ । यस रुपमा वा नवरात्रको छैटौँ दिनमा देवीले आफ्ना सम्पुर्ण इन्द्रियहरुलाई दानव महिसासुरको बध गर्नको लागि तयार गर्ने काम गरेकी छन् । महिसासुरले भगवान विष्णुबाट आफ्नो मृत्यु जल, थल र वायु कहि पनि नहोस् तथा भाला, तरवार, खुंडा तथा कुनै पनि हतियारबाट नहोस् भनि बरदान पाएको हुनाले उनको मृत्यु असम्भव थियो । त्यसैले देविको यहि रुपमा महिसासुरको मृत्यु कसरी र के बाट गर्ने भनि निश्चित गरिएको हुनाले यस दिन देविको पुजा गर्नाले नयाँ नयाँ ज्ञान प्राप्त हुने जनविश्वास रहि आएको छ ।

७. कालरात्री- दाँया ५ र बाँया ४ हात भएकी, दाँया हातमा त्रिशुल र तरवार तथा बाँया हातमा मुसल र दण्ड बोकेकी सबैलाई जित्न सक्ने, मार्न सक्ने क्षमता भएकी हुनाले कालरात्री भनिएको हो । असत्यको विनास गर्न सक्ने भएकी हुनाले विनाशिनी पनि भनिन्छ । महिसासुर लगायतका दानवहरुले देवताहरुलाई दुख दिएको हुनाले महिसासुरको नष्ट गर्न उत्पन्न भएकी नवदुर्गाले छैटौं दिन सम्म दानवहरुको सत असत छुट्याई बध गर्ने निश्चय गरी सातौं रुपमा कालरात्रीको रुपधारण गरी महिसासुरले भगवान् विष्णुबाट पाएको वरदान समेत नष्ट हुने गरी आफ्नो काखमा राखि नङले महिसासुरको बध गरी असत्य माथि सत्यको विजय गरेकी छन् । त्यसैले सप्तमीको रात्री पश्चात् महाअष्टमीको दिन शक्तिपिठहरुमा राँगा, बोका, भेडाहरुको बली दिने तथा मार हान्ने चलन रहि आएको छ ।

८. महागौरी- नवदुर्गाको आठौँ रुपलाई महागौरी भनिन्छ । शंख चक्र जस्तै गोरी यिनले सबै बस्त्र तथा पहिरण सेतो धारण गरेकी छन् । आठौं रुपलाई पनि दुई अवस्थामा व्याख्या गरिएको छ । पहिलो अवस्थामा शिवशक्तिको रुपमा किरा औसा उत्पन्न गरी मरेका महिसासुर लगायतका दानव शरिर तथा अन्य चिजलाई कुहाउने र सढाउने काम गरेकी छन् भने दोस्रो अवस्थामा गौरी रुपमा शान्त गराउने, सितलता दिने वा आफूले गरेको बधको क्षय गर्ने काम गरेकी छन् ।

९. सिद्धिधात्री- दाँया हातमा स्वस्तिक र कमल तथा बाँया हातमा अमृतघडा लिइएको नवदुर्गाको नवौं रुप सिद्धिधात्री हो । अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने भएकी हुनाले यिनलाई सिद्धिधात्री भनिएको हो । असत्य माथि सत्यको विजय गरी आफुले गरेको कामको सिद्धि गर्न सक्ने, आफुले गरेको यज्ञलाई पूर्ण गर्ने वा शुद्ध गर्ने काम यस रुपमा नवदुर्गाले गरेकी छन् । तसर्थ नवमीको दिन शक्तिपिठ तथा देविको पुजा आरधना गर्नाले यज्ञ पूर्ण तथा शुद्ध हुने र सिद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ ।

यसरी नवरात्रमा नवदुर्गाले नौ रुपधारण गरी असत्य माथि सत्यको, दानवता माथि देवताको र अमानवता माथि मानवताको विजय प्राप्त गरी शान्ति र शितलता प्रदान गरेकी हुनाले असोज शुक्लपक्षको नवरात्रमा देवी दुर्गाका नौ रुपको पुजा गर्ने सर्वश्रेष्ठ समयको रुपमा लिइन्छ । नवरात्रमा नवदुर्गाको पुजा, आरधना र उपासना गर्नाले सुख, शान्ति, आरोग्य, विद्या, बुद्धि, मानसम्मान र आर्थिक लाभ हुने जनविश्वास रहि आएको छ ।

टिका लगाउँदा भन्‍ने मन्त्र :
आयुद्र्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्चपवने मानञ्च दुर्योधने।।

दानंसूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानेविदुरेप्रभवतुभवतां कीर्तिश्चनारायणे।।

जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोद्रस्तु ते।।

अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो पूर्ण आयु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, शत्रुक्षय गर्नमा भगवान् रामको जस्तो शक्ति, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमान्को जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान तथा भगवान् नारायणको जस्तो कीर्ति तपाइँलाई प्राप्त होस्।

मान्यजनबाट टिकाप्रसाद र आशीर्वाद प्राप्त गरी यो मन्त्रको भावलाई स्मरण गर्दै आ-आफ्नो कार्यमा तत्पर रही शारदीय नवरात्र पर्वलाई धुमधामका साथ मनाउनु पर्दछ। भगवतीको स्तुति, मन्त्रगान आदि गरी वर्षभरि आउने अशुभ, अशान्ति, दुःखकष्ट निवारणका लागि आशीर्वाद लिनुपर्दछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?