कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो । प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रंगशालासहित तोकिएका खेलस्थलमा पूर्वाधार मर्मत तथा स्तरोन्नतिको काम बल्ल सुरुवात भएको छ ।
कास्कीसहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । त्यसमध्ये पनि अधिकांश खेल पोखरा रंगशालामा नै तोकिएको छ । पोखरा रंगशालामा मात्र १६ खेल सञ्चालन हुँदैछन् । प्रतियोगिताको तयारीका लागि प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारीका काम अघि बढाएको छ । विभिन्न १४ वटा उपसमितिले आफ्नो जिम्मेवारीका कामलाई अघि बढाएका छन् ।
प्रतियोगिताका लागि अहिले पोखरा रंगशालाभित्रका खेलस्थलको मर्मत, सरसफाइ तथा स्तरोन्नति सुरु भएको छ । प्रतियोगिता नजिक आएकाले नयाँ खेलस्थल निर्माण हाललाई सम्भव छैन । प्रतियोगितालाई भव्य बनाउनका लागि भएका पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।
उहाँका अनुसार तोकिएका खेलस्थलमा अहिले पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ तथा खेल्नयोग्य बनाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘नयाँ पूर्वाधार बनाउनका लागि समय र बजेट दुवै हामीसँग छैन तर भएका पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नतिका सानातिना काम सुरु भएका छन् । खेल खेल्नका लागि योग्य बनाउन खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङरोगनलगायतका काम सुरु भएको छ ।’
राखेपले प्रतियोगिता तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिले आफ्नो जिम्मेवारीका काम सुरु गरेका छन् । खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताअन्तर्गतका ३६ वटै खेलका खेलस्थल टुंगो लगाएको छ ।
यद्यपि केही खेलका खेलस्थल परिवर्तन हुने अझै सम्भावना छ । राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको समितिका कार्यालय प्रमुख योगीले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार स्तरोन्नतिको कामका लागि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
खेलस्थल व्यवस्थापनका लागि हाल एक करोड रुपैयाँ बजेट छ तर सो बजेट अपुग हुने देखिएको छ । ‘प्रतियोगिता सञ्चालन गर्न र खेल्नयोग्य बनाउन दुई करोड रुपैयाँ खर्च लाग्ने देखिएपछि राखेप सदस्य-सचिवसँग कुरा गरेका छौं, उहाँले काम अघि बढाउन भन्नुभएको छ । एक सातामा स्तरोन्नतिका काम सक्छौं,’ कार्यालय प्रमुख योगीले भन्नुभयो । राखेपले गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँबाहेकका जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल खेलाउने गरी खेलस्थल तोकेको छ । महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाउने तय गरिए पनि बास्केटबल तनहुँमा खेलाउने गरी कुराकानी अघि बढाइएको राखेप बोर्ड सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गण्डकीका ११ वटै जिल्लामा कम्तीमा एक खेल खेलाउने र प्रतियोगिताको अपनत्व सबै प्रदेशवासीलाई दिने योजनामा थियौं तर हिमाली जिल्लामा मौसमका कारण सम्भव देखिएन । पछिल्लो समय तनहुँमा महिला बास्केटबल लैजानका लागि त्यहाँको नगरपालिकासँग सकारात्मक कुरा भएको छ । अन्तिम निर्णय हुन बाँकी छ ।’
प्रतियोगिता तयारीका लागि मुख्य आयोजनास्थल पोखरा रंगशालामा राखेप मातहतको क्षेत्रीय खेलकुद विकास समितिले पूर्वाधार स्तरोन्नति र व्यवस्थापकीय काम गर्दै आएको छ । यसैगरी स्थानीय आयोजकसमेत रहेको गण्डकी प्रदेश सरकारले प्रदेशको आफ्नो तयारीका काम गरिरहेको हो ।
प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोट, विशेष तथा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ । गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउनका लागि सबै खेलका खेलाडी छनोट सकेर विशेष प्रशिक्षण सुरु गरेको परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही असोज १ देखि दुई साताका लागि विशेष प्रशिक्षण सुरु भएको छ भने दशैंपछि लगत्तै बन्द प्रशिक्षण सुरु हुनेछ । गण्डकीले पदकको बढी आशा भएका कराँते र बास्केटबलको हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण (हाइअल्टिच्युड ट्रेनिङ) सुरु गरेको छ । उहाँले भन्नुभयो, ‘गण्डकीले भाग लिने सबै खेलका खेलाडी छनोट सकेर अहिले विशेष प्रशिक्षण सुरु गरेका छौं । मनाङमा हाइअल्टिच्युट ट्रेनिङ जारी छ । यसले खेलाडीको खेल कौशल र क्षमता वृद्धि गर्ने विश्वास लिएका छौं ।’
गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोलीको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा ३९२ स्वर्ण, ३९२ रजत र ६०० कास्य गरी एक हजार ३८४ पदकका लागि आठ हजार हाराहारीमा खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका