सन्दीप विरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी हुने इन्टरपोलका एक अधिकृतले बताए । उनीमाथि एक नाबालिगलाई पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छिन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएकी थिइन् ।

जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नै क्यानको कार्य सम्पादन समितिको निर्णय भन्दै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।

भदौ २४ गते फेसबुक र ट्विटरमार्फत आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी लडाइँ लड्ने बताएका उनी अहिलेसम्म नेपाल फर्किएका छैनन् । फेसबुकमा उनले आफू कुन देशमा रहेको भन्नेबारे पनि केही खुलाएका छैनन् ।

आइतबार पनि उनले पुनः फेसबुकमार्फत आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए । त्यसको भोलिपल्टै प्रहरीको अनुरोधमा उनलाई इन्टरपोलले डिफ्युजन नोटिसमा समेटेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?