भारतीय कांग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दिने

Read Time = 3 mins

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । संघीय संसदको सांसदसमेत रहनुभएका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्नुहुने भएको हो । उहाँले भन्नुभयो, ‘कांग्रेसका देशभरीका प्रतिनिधिहरूले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरूको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।’

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उहाँले जानकारी दिनुभयो । उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो भने भारतीय राष्ट्रिय कांग्रेसमा २५ वर्षपछि मात्रै गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनेछ । यसअघि सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता कांग्रेसको अध्यक्ष हुनुभएको थियो । उहाँले शरद पवार र राजेश पिलोटलाई पराजित गर्नुभएको थियो । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गर्नुभएको थियो ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसूदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिनुभयो । भारतीय राष्ट्रिय कांग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आउनुभएको छ । गत आमनिर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उहाँलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर, जति आग्रह गर्दा पनि उहाँले नमानेपछि उहाँकै आम तथा पूर्वअध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।

अब हुने महाधिवेशनबाट पनि राहुला गान्धीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिँदै आएका नेताहरूको संख्या धेरै छ । तर, उहाँको बारेमा स्पष्ट निर्णय भइनसकेका बेला थारुरले उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय कांग्रेसले नयाँ नेतृत्व पाउने आंकलन गर्न थालिएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?