रकम दुरुपयोग गर्दा श्री लालीगुराँस र स्टार सहकारी संकटमा

बचतकर्तालाई अलमल्याउन मर्जको सम्झौता, रकम फिर्ता नदिँदा तनावमा लगानीकर्ता

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । सञ्चालक तथा पदाधिकारीको निजी स्वार्थमा रकमको दुरुपयोग गर्दा विघटनको संघारमा पुगेका ललितपुरका लालिगुराँस र स्टार सहकारीले बचतकर्तालाई भुलभुलैयामा पार्न प्रारम्भिक एकीकरणको सम्झौता गरेका छन् । ललितपुर महानगरपालिका-३ मा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर महानगरपालिका-५ कुमारीपाटीमा रहेको स्टार बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि एकीकरण गरी उम्किने बहाना खोजेका हुन् । दुवै सहकारीले कोरोना महामारीपछि रकम फिर्ता नगरिदिँदा तनावमा रहेका बचतकर्ताहरूको बिल्लबाठ भएको छ । लालीगुराँस र स्टार सहकारीका अध्यक्षहरू क्रमशः अमरदास श्रेष्ठ र दिनेश राईले गत ७ गते शुक्रबार दुई सहकारी एकीकरण गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसका लागि लालीगुराँसका अध्यक्ष अमरदास श्रेष्ठको संयोजकत्वमा अञ्जु उप्रेती र सिए गोविन्द शर्मा गैह्रे तथा स्टार सहकारीकी उपाध्यक्ष श्रद्धा शाक्य र सिए प्रयास श्रेष्ठ रहेको कार्यदलको घोषणा गरेका हुन् ।

स्रोतका अनुसार लालीगुराँस सहकारीलाई त्यसका सचिव समेत रहेका गोरखाका सुरेन्द्र भण्डारीले व्यापक रूपमा दुरुपयोग गरेर व्यक्तिगत सम्पत्ति जोड्ने भाँडो बनाउँदै आएका छन् । जसका कारण लालीगुराँस सहकारी टाट पल्टने अवस्थामा पुगेको छ । त्यसका सञ्चालकहरूलाई भण्डारीले प्रभावमा पारेर सहकारीलाई ब्रहृमलुट गर्दागर्दै संकटमा परेपछि मर्ज गरी अरूलाई जिम्मा लगाएर आफू उम्कने भण्डारीको योजना रहेको देखिएको छ ।

एकीकरणका लागि प्रारम्भिक सम्झौता गरेको स्टार सहकारीको हालत पनि उस्तै खराब छ । तरलता अभाव चुलिएका बेला स्टार सहकारीका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरी घरजग्गामा लगानी गरेका थिए । तर त्यसको लगानीले प्रतिफल दिन नसक्दा उक्त सहकारी पनि विघटनको संघारमा पुगेको हो । पछिल्लो समय सहकारीको रकम झिक्ने बचतकर्ताहरूको संख्या बढ्दै गएपछि एक महिनाभित्रै ४६ करोड रुपैयाँ रकम फिर्ता भयो । त्यसपछि स्टार सहकारी रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेर हात उठाउँदै लालीगुराँससँग मर्ज गर्ने अवस्थामा पुगेको हो ।

बचतकर्तालाई फिर्ता गर्ने रकम नभएर अप्ठ्यारो अवस्थामा पुगेको स्टार बचतले लगानी गरेका भाखा नाघेका कर्जा पनि उठ्न छाडेका छन् । त्यतिमात्र होइन तीन हजार शेयर सदस्यको ३७ करोड रुपैयाँ शेयर पुँजी पनि डुब्ने अवस्थामा पुगेको छ भने दुई अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी र ७० करोड रुपैयाँको घरजग्गाको लगानी पनि ‘झोल न मोल’ को अवस्थामा छ ।

ललितपुरमा मुख्य कार्यालय रहे पनि दुवै सहकारीले अन्यत्र सेवा कार्यालय खोलेर घरजग्गामा व्यापक लगानी गरेका थिए । लालीगुराँसले त अझ भैरवकुण्ड जलविद्युत् आयोजना, गाइफर्मलगायतमा समेत लगानी गरेर करोडौं रुपैयाँ डुबाएको छ । स्रोतका अनुसार त्यसरी रकम डुबाउने मुख्य पात्र सुरेन्द्र भण्डारी नै हुन् ।

सहकारीको सम्पत्ति बेचविखन गरेर भाग्ने तयारीमा सिइओ भण्डारी
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था टाट पल्टिएपछि प्रमुख कार्यकारी निर्देशक तथा सिइओ दुवै पदमा अवैध रूपमा बसिरहेका सुरेन्द्र भण्डारीले सहकारीले लिलाम सकार गरेको सम्पत्ति बेचविखन गरेर भाग्ने ध्याउन्नमा लागेका छन् । सोहीअनुसार भण्डारीले केही दिनअघि ललितपुरको भैँसेपाटीमा रहेको केही जग्गा पनि बेचविखन गरिसकेका छन् । सहकारीले लिलाम सकार गरेका ती जग्गाहरू करोडौँमा बिक्री भए पनि संस्थालाई भने कुनै रकम प्राप्त नभएको सहकारीको उच्च स्रोतले बतायो । गत भदौ ३० गते भैँसेपाटीमा रहेको करोडौँको जग्गा बिक्री गरिएको छ ।

भैँसेपाटीको उक्त जग्गा लालिगुराँसकै चितवनस्थित फार्ममा ठेक्का पट्टाको काम गर्ने यादवराज सापकोटाले खरिद गरेको बताइएको छ । सहकारीले लिलाम सकार गरेको १३ आना जग्गा आनाको ३५ लाख रुपैयाँको दरले चार करोड ५५ लाखमा बिक्री गरेको स्रोतले जनाएको छ ।

भैँसेपाटीस्थित सैँबु नगरपालिका-९ (ख) मा रहेका ती जग्गा बिक्रीमा राजस्वसमेत छली भएको सहकारीकै एक सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा बताए । त्यस्तै साविक सैँबु-५ (क) हाल ललितपुर वडा नम्बर-१८ मा रहेको चार आना जग्गा बिक्री गर्न खोज्दा हालसाविक गर्न नसकेपछि समस्या भएको छ । जग्गा किन्न ठिक्क परेका रेशम पाख्रिनलाई वडाकै कर्मचारीले अवरोध गरिदिएपछि सुरेन्द्रलाई तनाव भएको छ । उक्त जग्गा आनाको ४५ लाखका दरले बिक्री गर्ने तयारी गरिएको थियो । तर, वडाका कारण अवरोध भएको स्रोतको भनाइ छ । ‘उहाँले सहकारीको सबै सम्पत्ति बिक्री गरेर भाग्ने तयारी गरेको भन्ने सुनेका छौँ । सबै सम्पत्ति बिक्रीको तयारी गरिएको छ । केन्द्रीय कार्यालय भवनसमेत बिक्री गरी सकिएको छ,’ स्रोतले भन्यो, ‘कुमारीपाटीमा रहेको समस्याग्रस्त अवस्थामा पुगेको स्टार सहकारीसँग मर्ज गरेर सोही सहकारीको भवन कब्जा गरेर केन्द्रीय कार्यालय राख्ने सुरेन्द्रको तयारी छ ।’

केही दिनअघि मात्रै स्टार सहकारीसँग मर्ज गर्ने प्रारम्भिक सम्झौता भएको थियो । हाल केन्द्रीय कार्यालय रहेको पुल्चोकस्थित भवन दुई सय वर्ष पुरानो समय फल्चा मिचेर निर्माण गरिएको पाइएपछि ललितपुर महानगरपालिकाले भवनको अगाडि नै फल्चा निर्माण गरिदिएको थियो । यस विषयमा विभिन्न अदालतमा मुद्दासमेत छ ।

भण्डारीले उक्त भवनमा एउटा काउन्टर राखेर आफूहरू थसिखेल जान लागेको बताउँदै आएका छन् । ‘यो भवनको अघिल्लो भागमा फल्चा निर्माण भएपछि दक्षिणतर्फबाट भित्र प्रवेश गर्ने मिल्छ । अझै खुला बनाउन सकिन्छ । तर, सुरेन्द्रले यो भवन बेच्नमा नै जोड गरिरहेका थिए,’ ती सञ्चालक भन्छन्, ‘भवन बिक्रीबाट समेत व्यक्तिगत लाभ लिने उनको तयारी थियो ।’

ती सञ्चालकका अनुसार सहकारीले सबैजसो सम्पत्ति बिक्रीमा राखेको छ । सहकारी बैंकको नाममा आएको करोडौँ रुपैयाँ पनि लालीगुराँस सहकारीमै राखिएको थियो । त्यो रकम पनि बचतकर्ताले फिर्ता लगेका छन्,’ उनी भन्छन्, ‘भित्रभित्रै सबै सम्पत्ति बेचेर सुरेन्द्र भण्डारी भाग्दैछ भन्ने सन्देश गएको छ । उनको व्यवहारले पनि त्यस्तै संकेत गरेको छ ।’

पछिल्लो समय पुल्चोकस्थित श्री लालीगुराँस सहकारी भवनमा बचत रकम फिर्ता माग्नेको भिड छ । तर, रकम दिन नसकेपछि अहिले रकम झिक्नसमेत बन्द गरिएको छ । केही दिनअघि एक लगानीकर्ताले त्यहाँ राखेको २० लाख रुपैयाँबराबरको शेयर फिर्ता माग्दा भण्डारीले फिर्ता दिन नमिल्ने भन्दै झपारेर पठाएका थिए । शेयर र बचत फिर्ता माग्नेको भिड लाग्न थालेपछि सिईओ तथा निर्देशक भण्डारी अहिले सम्पर्कविहीन छन् ।

भण्डारीप्रति लगानीकर्ताको आक्रोश
लालीगुराँस सहकारीका एक पीडित लगानीकर्ता केशव पुरीले सुरेन्द्र भण्डारीले आफूलाई बिल्लबाठको अवस्थामा पु¥याएको गुनासो गर्नुभयो । उहाँले आफूले न्यायको खोजीमा भण्डारीका कर्तुतविरुद्ध थुप्रै निकाय धाए पनि कतैबाट सुनुवाइ नभएको पीडा पोख्नुभयो । ‘म मिडिया, अख्तियार, सम्पत्ति शुद्धीकरणलगायत दर्जनौं निकायमा धाइसकेँ । सहकारी विभागमा पनि कैयौँ पटक गएको छु, तर मेरो केही उपाय लागेन । सबैतिर सेटिङ मिलाएर बसेको छ । म मात्र होइन कैयाँै व्यक्तिलाई उसले पीडित बनाएको छ । सायद हाम्रा आँसुले उसलाई कुनै दिन त पोल्ला । मसँग उसले गरेका बदमासी र ठगीका दर्जनौँ प्रमाण छन्’, पुरीले सुनाउनुभयो, ‘यति धेरै ठगी गरिरहेको मान्छेलाई पनि किन कुनै निकायले अझैसम्म कारबाही गर्न सकेको छैन, म अचम्ममा परेको छु । नेपालमा त जे पनि हुँदो रहेछ । यस्ता अपराधी र ठगहरू त खुलेआम हिँडिरहेका छन् । उसको छलछाम र षड्यन्त्रबाट धेरैको सडकमा बास भइसकेको छ । नियामक निकायको ध्यानाकर्षण नहुँदा हाम्रो स्थिति बेहाल भइसकेको छ ।’ उहाँले आफ्नो ५०/६० करोडको सम्पत्तिबापत ९५ लाख रुपैयाँमात्र फिर्ता पाएको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?