मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, १५ जना घाइते

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा गएको हिमपहिरोमा परेर एकजनाको मृत्यु भएको छ । अन्य १५ जना बढी घाइते भएको बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिका-१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।

हिमपहिरोमा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले एकजनाको मृत्यु भएको पुष्टी गर्नुभयो । कैलाश हेलिकप्टरका श्रीहरि कुइँकेलले सोमबार दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धार गर्न नसकिएको हिमालय टाइम्सलाई जानकारी दिनुभयो । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा जानुभएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य पुष्टी गर्नुभयो । चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको हो । त्यही पहिरोमा उनीहरू परेको प्रहरीले जनाएको छ ।

यस्तै, मौसम खराब हुँदा उद्धार गर्न नसकिएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाका अनुसार सोमबार पहिरो जाँदा १५ जना आरोही तथा आरोहण दलका सदस्य फसेका छन् ।

दुई जना घाइतेलाई काठमाडौं ल्याइयो
मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेलाई कैलाश हेलिकप्टरबाट काठमाडौंमा ल्याइएको छ । अन्य दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको छ । कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेका अनुसार, गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुईजना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पतालमा ल्याएको हो । अस्पतालका अनुसार दुईजना घाइतेहरू डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहनुभएको छ ।

मनास्लुमा गएको हिमपहिरोमा परेकाहरूको खराब मौसमका कारण पाँच घण्टापछि हेलिकप्टरले उद्धार गरेको हो । सम्पर्क अधिकृत अर्यालका अनुसार, हिमपहिरोमा नपरेका शेर्पाहरूले घाइतेहरूलाई उद्धार गरेर तेस्रो शिविरमा पु¥याएका थिए । त्यहींबाट हेलिकप्टरले उद्धार गरेको हो ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुली आरोहणका लागि जम्मा ५८ आरोही समूहका ५०६ जनाले आरोहण अनुमति लिएका छन् । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरू सबै पहिरोमा परेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?