६२ वर्षमा मुहार फेरेको एक विद्यालय

हिमालय टाइम्स
Read Time = 9 mins

डम्मर बुढा मगर/बागलुङ । एक दशकअगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स-साना छाप्रोमा पनि पठनपाठन गर्नुप¥यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमुना बनेको छ । अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन् । तर, अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न भएको छ । निसीखोला गाउँपालिका-३ झिवाखोलामा रहेको यस विद्यालय पश्चिम बागलुङकै अग्रणी विद्यालयमध्येमा पर्छ ।

निसीखोलामा यस विद्यालयभन्दा अगाडि धेरै विद्यालय स्थापना भए पनि सबैभन्दा पहिले माध्यमिक तहसम्म पढाइ हुने पहिलो विद्यालय भने प्रभा मावि नै हो । विसं २०१७ सालमा स्थापना भएको यस विद्यालयमा २०२७ सालमा माध्यमिक तहसम्म पढाइ थालिएको थियो । २०२८ सालमा नयाँ शिक्षा ऐन लागू भएपछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । विद्यार्थीको चाप र स्थानीयको मागपछि सरकारले १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रूपान्तरण गरी पठनपाठन सञ्चालन गरिँदै आइएको छ । निसीखोलामा प्रभा माविभन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाइ हुँदैनथ्यो ।

जसले गर्दा साबिक बोहरागाउँ, निसी र देवीस्थान गाविसअन्तर्गतका विद्यार्थी घण्टौं लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर, पछि निसीमा ज्ञानेन्द्र मावि, देवीस्थानको देवीस्थान माविमा १० कक्षासम्म पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो । लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा २०६७ सालदेखि प्लस टु सञ्चालनमा आयो । कक्षा १२ सम्म सञ्चालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् । झिवाखोलामा प्लस टु सञ्चालन नहुँदा यहाँका सयौं विद्यार्थी उच्च शिक्षा लिन निसीखोलाबाहिर जानुपर्ने बाध्यता थियो ।

निसीखोलाको केन्द्र भागमा रहेको हुँदा विद्यार्थीको चाप पनि उत्तिकै छ । विद्यालयमा स–साना टहरादेखि काठ र ढुंगाबाट बनेका भवनमा पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेका छन् । भौतिक संरचनाको हिसाबले सुविधासम्पन्न भएको र अब शिक्षालाई गुणस्तरीय बनाउनतर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताउनुभयो । उहाँले पछिल्लो समय कक्षा ११ मा विद्यार्थीको चाप बढेपछि विद्यालय भवनसमेत आवश्यक परेको बताउनुहुन्छ । ‘वर्षौंसम्म भौतिक संरचना अभावमा विद्यार्थीलाई कहिले खुला चौरमा, कहिले जीर्ण भवनमा राखेर पठनपाठन गरायौं, जोखिममै विद्यालय सञ्चालन गर्न बाध्य भयौं, केही वर्षअघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनहरूमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विभिन्न संघसंस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्, निकै सहज भएको छ,’ प्रअ आचार्यले भन्नुभयो, ‘अहिले भवन करिब-करिब पुगेको छ, चारकोठे भवन बन्दैछ, यो बनिसक्यो भने भौतिक संरचनामा हामी कमजोर हुने छैनौं, अहिले विद्यार्थीको चाप पनि बढेको छ ।’
आचार्यले भौतिक संरचनाको पर्याप्ततासँगै अब गुणस्तरीय शिक्षा प्रदानतर्फ जोड दिन थालेको बताउनुभयो । नयाँ-नयाँ प्रविधिको विकाससँगै शिक्षकहरूलाई पनि सोहीअनुसारको तालिम प्रशिक्षण दिएर शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन थालेको आचार्यको भनाइ छ । ‘भौतिक संरचनाको विकाससँगै हामी अब कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छांै भन्नेतर्फ केन्द्रित भएका छौं, अहिलेसम्म भवनहरू अभाव थियो, अब त्यति धेरै समस्या नहोला, विद्यार्थीको चाप पनि बढेकै छ, विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर शिक्षालाई प्रविधिसँग पनि जोडेर जाने लक्ष्य राखेका छौं,’ प्रअ आचार्यले भन्नुभयो ।

उहाँले अहिले विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै प्रावि तहमा पनि विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुुभयो । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा प्रावि तहमा १३० जना, आधारभूत र मावि तहमा गरी ६२० जना विद्यार्थी अध्ययनरत रहेको प्रअ आचार्यको भनाइ छ । उहाँले नमुना विद्यालयका रूपमा यस विद्यालयलाई अगाडि सार्न माग गरिरहेको बताउनुभयो । अहिले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको उहाँको भनाइ छ ।

‘विद्यार्थीको उत्साह निकै देखियो, यहाँ कहिल्यै पनि विद्यार्थीको कमी भएन, अहिले झन् विद्यार्थीको चाप बढेको छ, व्यवस्थापनलाई पनि हामीले चुस्त बनाएका छौं, ११ कक्षा र साना कक्षामा देखिएको विद्यार्थीहरूको चापले हामी पनि उत्साहित भएका छौं,’ उहाँले भन्नुभयो, ‘शिक्षाको गुणस्तर पनि राम्रो भएर हो कि जस्तो पनि लागेको छ, विद्यार्थीको बाक्लो उपस्थितिले हामी पनि खुसी छौं, अझै केही व्यवस्थापन गरिरहेका छौं, चारकोठे भवन बनिसकेपछि हाम्रा धेरै समस्याहरू समाधान हुनेछन् ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशविक्रम शाहीले प्रभा माविको भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षाका लागि आफूहरू लागिपरेको बताउनुभयो । उहाँले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधासम्पन्न भवन बनाइदिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको भन्दै अब भौतिक संरचनामा विद्यालय कमजोर नरहेको बताउनुभयो ।

‘अब विद्यालय पहिलेको जस्तो भौतिक संरचनाको अभावमा गुज्रिनुपर्दैन, विभिन्न संघसंस्थाहरूको सहयोगले विद्यालय भवनहरू निकै राम्रो बनेका छन्, अझै केही कोठाहरू थपिँदैछन्,’ अध्यक्ष शाहीले भन्नुभयो, ‘निरन्तर प्रयास गरिरहेका छौं, अब गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’ विद्यालयमा विज्ञानका प्रयोगशाला, कम्प्युटरलगायत अन्य आवश्यक सामग्रीहरूको समेत व्यवस्थापन भएको अध्यक्ष शाहीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?