गठबन्धन भित्रको किचलो

हिमालय टाइम्स
Read Time = 6 mins

चुनाव आउन मात्र अब ५४ दिन बाँकी छ । विभिन्न पाँच दलहरू मिलेर बनेको हालको गठबन्धनको सरकार हो र सरकारमा सम्मिलित दलहरू यही गठबन्धन कायम गरेरै निर्वाचनमा जाने भएका छन् । यो उनीहरूका बीच भएको सहमति हो तर सहमति भएर पनि यसमा सम्मिलित दलहरूमध्ये कसले कति सिट पाउने भनेर सहमति हुन अझै सकेको छैन । यसका लागि धेरैपटक गठबन्धनका दलहरूको बैठक भइसकेको छ तर सबै दलले आफूले सकेसम्म बढी सिटको दाबी गर्नाले सहमति हुन नसकेको हो । सबै पार्टीको चाहना आफ्नो पार्टीले नै बढी सिट पाउनुपर्छ भन्ने रहेको हुन्छ ।

यसलाई अस्वाभाविक भन्ने कुरा हुँदैन । हालको सरकारमा नेतृत्व नेपाली कांग्रेसको रहेको छ र नेपाली कांग्रेसका सहकर्मी पार्टीहरूमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, संयुक्त जनमोर्चा नेपाल रहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनभित्र निर्वाह गर्दै आएको भूमिकालाई लिएर राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । नेपाली कांग्रेसको नीति, सिद्धान्त, राजनीतिक आस्था र नेकपा माओवादी केन्द्रको नीति तथा आस्था फरक-फरक छन् । प्रारम्भिक चरणमा हिंसाकै बाटो अपनाएको भए तापनि पछिल्लो चरणमा हिंसा त्यागेर सत्याग्रहको बाटो समातेर अगाडि बढिरहेको नेपाली कांग्रेस र हिंसाबाट आएको माओवादी केन्द्र हाल सत्ता सञ्चालनका क्रममा एउटै ठाउँमा उभिन आउनु आफैँमा एउटा अनौठो संयोग हो ।

अझै हालका दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मित्रता गहिरो बन्दै गएको पाइएको थियो । हालका दिनहरूमा पार्टीहरूबीच भएको किचलो वा नेताहरूबीच भएको मतमतान्तर त केवल निर्वाचनका लागि उम्मेदवार संख्या र स्थानमा मात्र हो । नत्र यसरी गठबन्धन नै हुने थिएन, पार्टीहरू आआफ्नै किसिमले निर्वाचनमा भाग लिन्थे । गठबन्धनमा भएका पार्टीले निर्वाचनका लागि गठबन्धन गर्नु भनेको त्यसबाट सबैले लाभ लिन सक्ने वातावरण सिर्जना गर्ने चाहना हो । सबैको यही उद्देश्य छ । कोही कसैलाई गठबन्धनबाट आफू र आफ्नो पार्टीलाई लाभभन्दा हानी हुन्छ भन्ने लागेको भए उक्त पार्टी गठबन्धनमा जाने थिएन ।

हाल गठबन्धनका दलहरू गठबन्धनमा जाने कुरामा सहमत भएर पनि आफूले कति सिट पाउने भन्ने सहमतिमा पुग्न सकेका छैनन् । सहमतिमा पुग्नु त परको कुरा, हाल यी दलहरूमा किचलो पैदा भएको छ । चाड मनाउने तयारीमा गाउँगाउँका मानिस लागिरहेका छन् । टार्ने पुर्‍याउने चिन्तामा छन् उनीहरू । नेता र नेतृत्वप्रति जनता उदासीन छन् तर नेतृत्वको प्रत्यक्ष प्रभाव पर्ने चाहिँ जनताका दैनिकीमै हो । विकास निर्माण जनताकै लागि हो । त्यसैले जनताले विकासका लागि पहल गर्नसक्ने नेता चयन गर्नुपर्ने हुन्छ । जनताले यो कुरा बुझेका छैनन् र नेतृत्वबाट यस्ता कुरा बुझाउने प्रयास भएको छैन ।

त्यो प्रयास हुनु आवश्यक छ तर गर्नुपर्ने काम नगरेर नेताहरू आपसी किचलोमा उत्रिएका छन् । चुनावमा टिकट दाबी गर्ने ७७ जिल्लाका नेताहरू काठमाडौंमा आएर बसेका छन् । यहाँ होटल र लजहरू भरिएका छन् । आफन्तका घरमा बस्नेहरू त्यत्तिकै छन् । दशैँतिहार अहिले नमनाए आघौँ मनाउँला तर यसपटक टिकट लिन सकिएन भने पाँच वर्ष पर्खिनुपर्छ भन्ने मनमा लागेको हुनसक्छ । चुनाव वा पदलाई व्यापार बनाउँदै नेपालको राजनीति अगाडि बढिरहेको छ । यसले नेपालको राजनीतिलाई धूमिल बनाउँदै लगेको छ । नेपाली राजनीतिलाई सम्मानपूर्वक होइन घृणाको नजरले हेर्नेहरू बढिरहेका छन् ।

यो सब नेता र नेतृत्वकै कारणले गर्दा भएको हो । केही जिल्लाका केही गठबन्धनभित्रैका नेताहरूले गठबन्धनको अनावश्यक भारी बोक्नुपरेको भनेर राजीनामाको घोषणा गरेका छन् । आफूले टिकट नपाएका खण्डमा विद्रोह गर्छौं भन्नेहरू अन्यत्र पनि छन्, जिल्लामा सबै पार्टीमा छन् । त्यसको सम्बोधन नेतृत्वले गर्नैपर्छ । टिकटका दावेदार नेताहरूले आफूले यसरी साम, दाम, दण्ड, भेद प्रयोग गरेर टिकट खोज्ने होइन कि टिकटले आफूलाई खोजोस् भन्ने सोच्नुपर्ने हो । निष्कर्षमा आगामी निर्वाचनबाट देशका लागि नभई नहुने, बौद्धिक र विकास गर्न सक्ने सामथ्र्य भएको नेता देशले खोजेको छ भन्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?