स्वाभिमान शब्द आत्मसम्मान र आत्म गौरवको पर्यायवाची शब्द हो । स्वाभिमान शब्द यस्तो शब्द ब्रहृम हो जसको शक्तिले व्यक्तिलाई स्वयं जाग्रत गर्दछ । अभिप्रेरित गर्दछ । अनुशासित र कर्तव्यनिष्ठ बनाउँछ । व्यक्तिलाई कर्तव्यको ख्याल गर्दै अघि बढ्न निरन्तर मार्गनिर्देश गर्दछ । स्वाभिमानले व्यक्तिको आस्था र विश्वासलाई जाग्रत गर्दछ । परिणामस्वरूप व्यक्तिको विचारमा, आस्थामा, बोलीमा, कार्यसम्पादनमा इमानदारी स्वतः प्रकटीकरण हुन्छ । अर्कोलाई कामले, व्यवहारले र बोलीले कमसल आकलन गर्नु र स्वयंलाई उच्च र प्रतिष्ठावान ठान्ने संस्कृति, आचरण र प्रवृत्ति अभिमान हो ।
यो वर्तमान नेपाली राजनेताहरूको विशिष्ट पहिचान हो । विडम्बना अभिमान र अहंकारको उचाइले उच्चपदस्थ हुने सौभाग्य प्राप्त छ । त्यसैले नेपाली राजनीतिको शिखर पदहरूमा अभिमानीहरूको एकाधिकार छ । स्वाभिमानीहरूलाई उच्चपदस्थ हुने बाटाहरू अभिमानीहरूले पूर्णतः बन्द गरेको अवस्था छ । यत्रतत्र सर्वत्र उच्चपदमा अभिमानीहरूकै उपस्थिति र वर्चस्व छ । आफ्नो मूलभूत आदर्शको निर्धारित मार्गमा कसैलाई चोट नपुर्याइकन, घृणा नगरिकन निरन्तरताको यात्राले व्यक्तिको स्वाभिमानलाई प्रकट गर्छ । जो अभिमानी छ उसको चरित्र कस्तो हुन्छ भने आफूलाई स्वाभिमानी प्रमाणित गर्न असत्यमा आधारित तर्कमात्रै गर्दैन कुतर्कसमेत गर्दा आफूलाई गौरवान्वित र सम्मानित अनुभव गर्दछ ।
हाम्रो वर्तमान राजनीतिक परिदृश्यमा स्वाभिमानीहरूको उपस्थिति छैन । त्यसैले हाम्रो राजनीतिमा स्वाभिमानी र अभिमानीबीच द्वन्द्व हुने चरणमै अझै हामी प्रवेश गरेकै छैनौँ । किनकि नेपाली राजनीतिमा अहिले स्वाभिमानी राजनेताको नितान्त खडेरी छ ।
उसका कुतर्कले, व्यवहारले, आचरणले र शब्दले अन्य व्यक्तिलाई आहत पार्छ । अभिमानीहरू स्वभावैले अन्याय गर्दछन् भने स्वाभिमानीहरू अन्यायको सधैँ सशक्त विरोध गर्दछन् । जो व्यक्ति समाजमा आफ्नो पद र धनको आधारमा आफूलाई महत्वपूर्ण ठान्दछ र अभिमान गर्दछ भने त्यो उसको अहंकार हो । अहंकारले उसको अभिमानलाई प्रकट गर्दछ । स्वाभिमानी र अभिमानीको चरित्र, स्वभाव र व्यवहारको अन्तरले नै दुईबीचको भिन्नताको अनुभव समाजले गर्छ । स्वाभिमानीलाई समाजले महत्वपूर्ण सम्झन्छ भने अभिमानीले आफैँले आफैँलाई महत्वपूर्ण सम्झन्छ । अभिमानी एक प्रकारको मपाईवाद हो । स्वाभिमानी समाजद्वारा सम्मानित हुन्छ भने अभिमानी आफैँले आफैँलाई, सम्मानित भएको ठान्दछ ।
अभिमानीहरूले यस कुरालाई बुझ्नुपर्छ कि समाजले कसैको अलेख्य सम्पत्ति र उच्च पदको सम्मान गर्दैन । समाजले व्यक्तिको उत्कृष्ट कर्म, व्यवहार तथा आचरणको श्रेष्ठताको सम्मान गर्छ । स्वाभिमानीले सत्यसँग प्रेम गर्दछ । अभिमानीहरूको सत्यसँग सधैँ दुश्मनी हुन्छ । यदि अभिमानीहरूमा पनि सत्यसँग प्रेम गर्ने स्वभावको विकास भयो भने अभिमानी अब स्वाभिमानी हुने बाटोमा अग्रसर भएको संकेत हो । स्वाभिमानको श्रेष्ठता भनेको इमान हो । मानिस जब सत्य एवं निष्ठापूर्वक आफ्नो सत्कर्मबाट परिणाम दिन्छ, आफ्नो कर्तव्यको पालना पूर्णनिष्ठाले गर्दछ भने ऊ समाजमा स्वतः इमानदार कहलाउँछ । स्वाभिमानको श्रेष्ठतामा जब समाजले निसंकोच इमानदारीको छाप लगाउँछ भने त्यो व्यक्तिलाई समाजमा विशेष सम्मान प्राप्त हुन्छ । विश्व राजनीतिमा प्रतिष्ठा अर्जन गर्नेहरू यहीँ श्रेणीमा पर्छन् । हाम्रो वर्तमान राजनीतिक परिदृश्यमा स्वाभिमानीको उपस्थिति छैन । त्यसैले हाम्रो राजनीतिमा स्वाभिमानी र अभिमानीबीच द्वन्द्व हुने चरणमै अझै हामी प्रवेश गरेकै छैनौँ । किनकि नेपाली राजनीतिमा अहिले स्वाभिमानी राजनेताको नितान्त खडेरी छ । त्यसैले नेपाली राजनीतिमा अभिमानीहरूबीच द्वन्द्व र शक्ति संघर्ष छ । अहिले नेपाली राजनीतिको अनौठो तर सत्य के हो भने राजनीतिमा पक्ष-विपक्षमै अभिमानीहरू छन् । उनीहरूबीचको भ्रष्टाचारजन्य धनार्जनको द्वन्द्व र शक्तिसंघर्षको चक्रब्युहमा हाम्रो राजनीति रुमलिएको छ ।
तसर्थ राजनीतिले धेरै कोर्स परिवर्तन गर्दासमेत आश्चर्य के छ भने निकासको सम्भावना शून्य छ । राजनीतिले जनताका समस्याहरूको निदानभन्दा नेताहरूको धनको र पदको इच्छलाई पूरा गर्न अभिमानीहरू बीचको लडाइँ, झगडा र खिचातानी नै राजनीति हो भन्ने बुझ्न नेपाली जनता विवश छन् । नेपाली राजनीति अहिले राजनीति नभएर लुटनीति भएको छ । राजनीतिमा नेताहरूको शक्ति संघर्ष जनताको हित गर्ने नीतिका विषयमा हुन्छ । नीतिगत भिन्नताका कारण र परिणामका सम्बन्धमा बहस, पैरवी हुन्छ । तर्क वितर्क हुन्छ । आफ्नो नीतिप्रति अडिग र इमानदारीले स्वाभिमानी राजनेताहरू जनताद्वरा सम्मानित हुन्छन् ।
तर, यहाँ अभिमानी नेतामात्रै पक्ष र विपक्षमा हुँदा उनीहरू जनताको हितका सवाललाई देखाउने दाँत बनाउँछन् भने चपाउने दाँतले आफ्नो र आफ्नाको मात्रै हित गर्ने गर्दछन् । भूकम्प र कोरोना जस्तो महामारीको समयमा अभिमानीले भ्रष्टाचार गरे । यो मानवता र मानवीय संवेदनशीलताको लिलामी थियोे । आश्चर्य के छ भने भ्रष्टाचारको विरोध त हुन्छ तर विरोध भ्रष्टाचार भयो भनेर हुँदैन । भ्रष्टाचार गर्न पाइनँ भनेर हुन्छ । दलीय राजनीतिको प्रमुख विशेषता नै राजनीतिमा पक्ष र विपक्ष हुन्छ । सत्तापक्षले खराब काम गर्यो भने प्रतिपक्षको विरोधले त्यो काम रोकिन्छ । या सत्ता परिवर्तन भएपछि सुशासनका लक्षणहरू स्वतः आउछन् ।
त्यस्तो अवस्था त्यति बेलामात्रै हुन्छ जहाँ स्वाभिमानी र अभिमानीहरू पक्ष र विपक्षमा हुन्छन् । तर, हाम्रो राजनीतिमा पक्ष र विपक्षमै अभिमानीहरू मात्रै भएकोले भ्रष्टाचारको विरोध भ्रष्टाचार भयो भनेर हुँदैन । उनीहरूले भ्रष्टाचार गरेर कमाए हामीले भ्रष्टाचार गर्न पाएनौँ भनेर विरोध हुने हुँदा जो सत्तामा आए पनि भ्रष्टाचार सबैले आफ्नो पहिचान र आदर्श बनाएका छन् । भ्रष्टाचारलाई आफ्नो पहिचान र आदर्श बनाउने हाम्रो राजनीति र राजननेतासँग अहिले पूरै जनसमुदाय असन्तुष्ट छ । असन्तुष्टहरूको संगठन छैन । असंगठित असन्तुष्टिले भ्रष्टाचारीलाई प्रहार गर्ने वातावरण बनेको छैन ।
अहिलेको नेपाली राजनीतिको आवश्यकता र निकास भनेको सबै पार्टीका असन्तुष्टलाई एक्यवद्धता गर्ने सशक्त नेतृत्वको नितान्त खाँचो छ । सबै पार्टीहरूमा भ्रष्टहरूकै बिगबिगी भएकोले अहिले मतदान गर्न पनि भ्रष्टहरूको विकल्प नहुँदा धेरैलाई मतदान गर्ने जाँगर र उत्साह छैन । त्यसैले देशैभर स्वाभिमानी, नैतिक, योग्य र विज्ञ व्यक्तिहरू अब स्वतन्त्र उम्मेदवार बन्नुपर्ने आवश्यकतालाई आगामी निर्वाचनमा पूरा गरेर भ्रष्टहरूको विकल्प छ भन्ने सन्देश दलहरूलाई दिनुपर्ने चुनौतीको सामना के देशले गर्नसक्छन् ? असन्तुष्टहरूको नेतृत्व गर्ने शक्तिलाई कमजोर बनाउन दलहरूका अभिमानी नेतृत्व तहमा ऐक्यबद्धता छ । असन्तुष्टको नेतृत्व गर्ने जबर्जस्त व्यक्तित्वको उत्पत्तिले वर्तमान राजनीतिलाई सुधारको बाटो अख्तियार गर्न दबाब दिन्छ । त्यो दबाब दिने अवस्थामै हाम्रो राजनीति अग्रसर छैन भने सुधारको सम्भावनै नभएको अवस्थामा राजनीतिप्रति कसरी आशावादी हुने ? अहिले सत्तामा हुने र प्रतिपक्षमा हुने भ्रष्टाचारीले सत्ता आलोपालो गर्दै देशलाई लुटेका छन् । अन्य विषयमा फुट देखाउँछन् । भ्रष्टाचारको विषयमा एकजुट हुन्छन् ।
भ्रष्टाचार भयो भन्ने चिन्ता छैन । भ्रष्टाचार आफूले गर्न नपाएको असन्तुष्टिलाई हामीले भ्रष्टाचारको विरोध सम्झन्छौँ । जनताका र देशका लागि भ्रष्टाचार जसले गरेपनि जनताको भाग्य र भविष्य लुटिने हो । पार्टी र व्यक्ति बदलिन्छ । प्रवृत्ति र चरित्र बदलिँदैन । जनताको चाहना व्यक्ति बदल्ने होइन, चरित्र बदल्ने हो । हाम्रो पद्धतिको परिवर्तनले व्यक्ति फेर्न कठिन छ । चरित्र फेर्ने काम असम्भव जस्तै भएको छ ।
त्यसैले भ्रष्टाचारको निरन्तरता नै हाम्रो शासन संयन्त्रको मुख्य विशेषता हुँदै आएको छ । जनता राष्ट्र लुट्नेहरूलाई नै निर्वाचनमा मतदान गर्न बाध्य छन् । किनकि राजनीतिमा अभिमानीहरूले स्वाभिमानीलाई प्रतिस्पर्धामा आउने बाटो अवरुद्घ गरेका छन् । अहिले निर्वाचनमा प्रतिस्पर्धा नै एउटा पार्टीको भ्रष्ट र अर्को पार्टीको भ्रष्टको बीचमा हुन्छ । जनताको भाग्यमा भ्रष्टाचारीबाहेक अर्को रोज्ने विकल्प नै हुँदैन भने निर्वाचनले के परिवर्तन दिन्छ ? निर्वाचनप्रति किन र कसरी आशावादी हुने ? जनताको बाध्यताको फाइदा लिने पक्ष र विपक्षमा हुनेहरू अहिले मालामाल छन् । हिजोका सुकुम्बासी नेताहरूको उच्च जीवनशैलीले जगतले लाज मानेको छ तर उनीहरूमा लज्जा छैन । त्यसको मुख्य कारण हो नेपालको राजनीतिमा स्वाभिमानी राजनीतिज्ञहरू नै छैनन् । लज्जा शून्यता अभिमानीहरूको मुख्य विशेषता हो । अभिमानीहरू बीचको शक्तिसंघर्ष, भ्रष्टाचारको प्रतिस्पर्धा र द्वन्द्वको सिकार हाम्रो विकास र समृद्धि भएको छ । विकास र समृद्धिको नाममा राष्ट्र लुटिएको हेर्न नेपाली जनता विवश छन् ।
अहिले नेपालको राजनीतिमा दुई शब्दावली अत्यन्तै प्रचलनमा छन् । गठबन्धन र ठगबन्धन । गठबन्धन गर्नेहरू पनि मिलिजुली अनियमितता गर्ने रणनीतिक यात्रामा छन् भने ठगबन्धन भनेर विरोध गर्ने पक्ष हिजो जस्तै अनियमितता गर्ने अवसर गुम्यो भन्ने चिन्ताले ग्रस्त छ । आखिर गठबन्धन गर्नेहरू र ठगबन्धन भन्ने दुवै पक्षको गन्तव्य देश र जनतालाई ठग्ने नै भएकाले गठबन्धन पक्षधर र ठगबन्धन भन्नेहरू दुवैको गन्तव्य भ्रष्टाचार नै थियोे र हो । त्यसैले अबको निर्वाचनमा यी दुवै गठबन्धनका पक्षधर र ठगबन्धनको नारालाई सशक्त पार्ने पक्षलाई नेपालको राजनीतिले नयाँ विकल्प दिनसक्नुपर्छ । राजनीतिप्रति वास्तविक चिन्ता गर्नेहरूले यो निर्वाचनलाई भ्रष्टाचारीहरू र भ्रष्टाचारविरोधीबीचमा हुने जनमत संग्रहको परिस्थिति निर्माण गर्न सक्नुपर्छ । त्यसका लागि अभिमानी उम्मेदवारको विकल्पमा स्वाभिमानी उम्मेदवारको उपस्थिति हुने वातावरण बन्नुपर्ने हुन्छ । गठबन्धन गर्नेहरू र गठबन्धनलाई ठगबन्धन भन्नेबीचको प्रतिस्पर्धा भनेको भ्रष्टाचारी भ्रष्टाचारी बीचको प्रतिस्पर्धा हो । हाम्रो दुर्भाग्य भ्रष्टाचारी र भ्रष्टाचार विरोधीबीचमा प्रतिस्पर्धा नै नहुने अवस्थामा जनताले भ्रष्टाचारीको विकल्पमा भोट हाल्नै नपाउने अवस्थाले नेपाली राजनीति भ्रष्टाचारीको निर्विकल्प क्रीडास्थल बन्यो ।
यस्तो भ्रष्टाचारी भ्रष्टाचारीबीचमा हुने प्रतिस्पर्धामा हुने निर्वाचनको खर्च देशको साधन र स्रोतको दुरुपयोगमात्रै हो । यस्तो निर्वाचनले समस्याको निकास होइन उल्टै थप जटिल समस्या उत्पादन गर्छ । अहिलेसम्मका हाम्रा निर्वाचनले समस्याको निकास दिन सकेनन् । प्रतिस्पर्धा सदाचारी र भ्रष्टाचारीको बीचमा हुनुपर्ने हो त्यो नभएर सबै दललाई भ्रष्टाचारीले कब्जा गरेका कारण प्रतिस्पर्धा नै भ्रष्टाचारी भ्रष्टाचारीबीच हुन्छ । दलहरूले उम्मेदवार भ्रष्टाचारीलाई मात्रै बनाउँछन् भने जनताले भ्रष्टाचारीलाई नै मतदान गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थाको निकास के ? हाम्रो दुर्भाग्य र आश्चर्य निर्वाचनमा भ्रष्टाचारीको विकल्प भ्रष्टाचारी ।
राजनीतिप्रति वास्तविक चिन्ता गर्नेहरूले यो निर्वाचनलाई भ्रष्टाचारीहरू र भ्रष्टाचारविरोधीहरू बीचमा हुने जनमतसंग्रहको परिस्थिति निर्माण गर्न सक्नुपर्छ । त्यसका लागि अभिमानी उम्मेदवारहरूको विकल्पमा स्वाभिमानी उम्मेदवारहरूको उपस्थिति हुने वातावरण बन्नुपर्ने हुन्छ ।
यो अवस्था सम्भवतः संसारकै अनौठो परिस्थिति हुनुपर्छ । संसारका अन्य कुनै पनि देशको निर्वाचनमा उम्मेदवार छनौट गर्नुपर्दा कुन पार्टीको भ्रष्टाचारीलाई छान्ने भन्ने समस्या मतदाताले भोग्नुपरेको छैन जुन समस्या नेपाली मतदाताले भोग्दै आएका छन् । चुरोटको धुवाँ उडाउँदै धूमपानको विरोध गरेजस्तै गृहमन्त्री खाँड आफ्नी श्रीमतीलाई प्रतिनिधिसभाको समानुपातिक सदस्यको बन्दसूचीको नवौं नम्बरमा राखेर अन्य आकांक्षीहरूलाई त्याग गर्न सिकाउँदै थिए । हाम्रो राजनीतिमा सबै पार्टीमा सबै नेताले जिम्मेवारी पाउने बित्तिकै जिम्मेवारीको चरम दुरुपयोग गर्ने गर्दछन् । आश्चर्य के छ भने फेरि उनीहरू नै त्यागको विषयमा भाषण गर्छन् । हामो वर्तमान राजनीतिक परिवेशमा त्यागको अहिलेसम्म नामोनिसान कतै देखिएको छैन । यिनीहरूको बुझाइमा अरूले भन्दा कम भ्रष्टाचारलाई त्यागको संज्ञा दिन्छन् । नेपाली राजनीतिको मुख्य समस्या त्यागको परित्याग हो । हाम्रो राजनीतिको मुख्य समस्या स्वाभिमानीहरूको अनुपस्थिति र अभिमानीहरूको एकल उपस्थिति हो । नेपाली राजनीतिले भ्रष्टाचारीको विरुद्धमा सदाचारी उम्मेदवार नै दिन नसक्ने अवस्थामा सुधार कसरी हुने ?
यो निर्वाचनमा पनि सबै पार्टीहरूले दिने उम्मेदवार भ्रष्टाचारी नै हुने भएकाले अब यस्तो अवस्थामा हुने निर्वाचन अर्थहीन छ । अब यसको उत्तम विकल्प के ? राजनीतिमा लुटनीतिको संक्रमणको विकल्प निर्वाचनले दिने हो तर निर्वाचनमा प्रतिस्पर्धै भ्रष्ट–भ्रष्टबीचमा हुने परिस्थितिले हाम्रा राजनीतिक परिवर्तनहरू पश्चगामी प्रमाणित भएका छन् । दुर्भाग्य पश्चगमनलाई नै अग्रगमन भन्नेहरूको जबर्जस्त उपस्थितिलाई परास्त गर्ने शक्तिको उपस्थितिको सम्भावनाहरू नदेखिँदा सुधारको अपेक्षामा प्रतीक्षा गर्नेहरूको निराशालाई आशामा बदल्ने कसले र कहिले ? यो प्रश्न अब सधैँ अनुत्तरित हुन सक्दैन र हुनुहुँदैन ?
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका