चोयाका पोशाक लगाएर जीवन जीउँदै भरीबहादुर पर्तेल

हिमालय टाइम्स
Read Time = 5 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षिय भरीबहादुर पर्तेलले विगत दुई वर्षदेखि चोयाका पोशाक बनाएर र तिनलाई लगाइ मेला पर्वमा गएर नै जीविकोपार्जन गर्दै आउनुभएको छ ।

जंगलबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उहाँले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्याग लगाएतका पोशाकहरु चोयाबाट नै बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्नुहुन्छ ।

आधुनिक युगमा पनि पर्तेलले चोयाका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गरेका छन् भने कतिले उहाँको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहित पनि गर्ने गर्दछन् । शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् ।

‘मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, यही पोशाक लगाएर म हिड्ने गर्छु,यसबाट हुने आम्दानीले नै मेरो गुजारा चलेको छ’ पर्तेलले भन्नुभयो ।

पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन् । छोराहरु अलग भएर बसेका छन् भने छोरी विबाहा गरेर गएकी छन् । घरमा श्रीमान् श्रीमती मात्र हुनुहुन्छ । बिहान उठेर नजिकको जंगलमा गई निगालो ल्याउने, चोया बनाउने र चोयाँका पोशाक तथा कृषि सामाग्रीहरु बुनेर दिन विताउने गनुभएका पर्तेलले चोयाका पोशाकहरु बेचेर दुई वर्षमा रु १ लाख ७० हजार भन्दा बढी आम्दानी गरेको बताउनुभयो । त्यसका अतिरिक्त चोयाका पोशाक लगाएर गाउँघर र शहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खुसी भइ पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजार भन्दा बढी कमाएको उहाँले बताउनुभयो ।

हिजोआज गाउँघरका युवायुवतीहरुले पर्तेलले लगाउने चोयाँका पोशाक मागेर लगाइ टिकटक बनाउने र कपडा लगाएवापत १ सय पर्तेललाई दिने गरेका छन् । पर्तेल भन्नुहुन्छ, ‘अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउँछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।’

शनिबार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाँका पोशाकहरु प्रदर्शन गरेर नै पर्तेलले तीन हजार बढी आम्दानी गर्नुभयो । उहाँको सीपको सम्मान गर्नु पर्ने र उहाँलाई प्रोत्साहित गरेर यस्तो कलाको प्रवद्र्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुनले बताउनुभयो ।

पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका,नाम्ला, भकारी,थुन्से लगाएतका घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गर्नुभएको छ । यस्ता कृषि सामाग्रीहरु गाउँघरमा फाट्ट फुट्ट विक्रि हुने गरे पनि यो पेशा व्यवसायिक नभएकाले उहाँले पोशाक बनाएर प्रर्दशन तथा विक्रि वितरण गर्न थालेको बताउनुभयो ।

आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेलले बताउनुभयो ।

‘चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,’ पर्तेलले भन्नुभयो, ‘यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।’

स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?