बारामा डेंगुको प्रकोप बढ्दै, सर्तकता अपनाउन चिकित्सकको सुझाव

क्याप्सन : बाराको सदरमुकाम कलैयास्थित प्रादेशिक कलैया अस्पताल ।

हिमालय टाइम्स
Read Time = 6 mins

-संजीवकुमार मिश्रा

बारा । बारामा दिनहुँ डेंगु उकालो लाग्ने क्रममा रहेको छ । दिनहुँ जसो १० देखि १५ वटासम्म डेंगुका विरामी अस्पतालमा आउने गरेको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल जैसवालले बताउनुभयो ।

डेंगुका विरामीहरू आउने र ठीक भएर जाने गरेका छन्, कलैया अस्पतालका मेसु जैसवालले भन्नुभयोे, ‘तर अहिलेसम्म जिल्लामा यो रोगबाट कोही कसैको मृत्यू भएको छैन । दिनहुँ केश बढनुले यसले विकराल रुप लिदैन भन्न सकिदैन ।

हामीसँग डेंगु रोगको परिक्षण गर्ने व्यवस्था छ तर किट सिमीत मात्रामा भएको कारण समस्या उत्पन्न हुने गरेको उहाँले जानकारी दिनुभयो । डेंगु रोग परिक्षण गर्ने ल्याब हुँदाहुँदै पनि किट अभावको कारण समस्या हुने गरेको तर अहिलेसम्म जहाँबाट भएपनि किटको व्यवस्था गरेर सबैलाई सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

बारा जिल्लामा हालसम्म डेंगु रोगबाट कसैको मृत्यु भएको छैन, डा. जैसवालले भन्नुभयो, ‘केही समय अगाडी मात्र डेंगुबाट सिकिस्त भएका तीन जनालाई आइसियूमा राखेर उपचार गर्यौ अहिले तीनै जना ठीक भएर घर फर्किएको बताउनुभयो ।’

‘एक जना विरामीलाई हामीले बीरगंज रेफर गरेका थियौ उहाँले भन्नुभयो, ‘तर बीरगंजमा पनि उनी निको हुन सकेनन आखिरमा बीरगंज अस्पतालले समेत उनलाई काठमाण्डौ रिफर गर्यो । ती विरामी काठमाडौं नगएर फेरि कलैया अस्पतालमा फर्केर आउनुभयो । यही उनको उपचार गरी निको भएपछि उनी घर फर्किएको मेसु जैसवालले बताउनुभयो ।’

यो रोगबाट बच्न झुलको प्रयोग गर्ने, घर वरिपरि सफा सुग्घर राख्ने, लामखुट्टेबाट बच्न पुरै शरीर ढाक्ने गरी कपडा लगाउने, लामखुट्टे धपाउने धुप वा लिक्वीडको प्रयोग गर्ने, घरमा वा घर वरिपरि पानी जम्न नदिने लगायतका उपायहरु अपनाउन सकियो भने यस रोगबाट बच्न सकिने उहाँले बताउनुभयो ।

बाराका अधिकांश पालिकाहरू यस रोगबाट ग्रसित भएको देखिएको छ, पालिकाहरुले लामखुट्टे धपाउनको लागि औषधी छिर्कने काम गर्नु पर्ने, ठाउँ ठाउँमा होर्डिङ बोर्डहरू राखेर यसबाट बच्न प्रचार प्रसार गर्नु पर्ने जस्ता क्रियाकलाप गरियो भने यसबाट आम जनमानसमा सचेतना हुने उहाँले जानकारी गराउनुभयो ।

यो रोग विशेष गरि लामखुट्टेबाट सर्ने रोग भएकाले यसको संक्रमण चाँडै हुन्छ । यो रोग लागेपछि अत्याधिक ज्वरो, चिसो लाग्ने, टाउँको दुख्ने, वान्ता आउने, चिसोले शरीर काम्ने जस्ता लक्ष्णहरु देखा पर्ने गरेको उनले जानकारी दिनुभयो ।

रोग लागेपछि आतिनु हुँदैन, उहाँले भन्नुभयोे, ‘यो रोग लागेपछि मानिस चाँडै मर्दैन । हिम्मत हार्नु हुँदैन । समयमा औषधी उपचार गरियो भने यो रोग ४ देखि पाँच दिनमा ठीक हुन्छ । तर लापरवाही गरियो भने यो रोगले जान लिन पनि सक्छ । त्यसैले यस्ता लक्षण देखिए तुरुन्त अस्पतालमा गएर डाक्टरसँग चेकजाँच गराईहाल्नु पर्छ । नियमित औषधी सेवन गरे यो निको हुन बेर लाग्दैन र मानिस फेरि स्वस्थ भएर आफनो घर फर्किने उहाँले जानकारी दिनुभयो ।

बारामा भदौ २८ गतेदेखि डेंगु रोगको परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिनुभयो । कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगुका बिरामी फेला परेका छन् । धेरैले उपचार गराएर निको भई घर फर्केका छन् भने कतिपय प्रादेशिक अस्पताल कलैयामा उपचार गराइरहेको निमित्त प्रमुख यादवले बताउनुभयो ।

डेंगु रोग नियन्त्रण गर्न सरसफाईदेखि औषधी छर्कने व्यवस्था गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले जानकारी दिनुभयो । पानी जम्ने ठाउँ खाल्डाखुल्डी पुर्ने नगरको सरफाई गर्ने काम शुरु गरिएको छ भने एक दुई दिन भित्र नै लामखुट्टे धपाउने औषधी नगरभरि छर्किने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?