गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कास्कीसहित गण्डकीका सात जिल्लामा हुने प्रतियोगितामा गण्डकी प्रदेशले सर्वाधिक धेरै खेलाडी दर्ता गराएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारसम्म प्रतियोगितामा सहभागी हुने टोलीले खेलाडी दर्ता गर्नुपर्ने तालिका बनाएको थियो ।

राष्ट्रिय खेलकुदमा देशका सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र गरी तीन विभागीय र एक गैरआवासीय नेपालीको टोलीले प्रतिस्पर्धा गर्नेछन् । राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाले ६७३ खेलाडी दर्ता गरेको छ ।
यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँच सय २२, नेपाल प्रहरीले चार सय ८८ र सुदूरपश्चिम प्रदेशले चार सय ३६ खेलाडीको नाम दर्ता गराएको छ । बागमती प्रदेशले चार सय ३०, प्रदेश नं. १ ले तीन सय ७१, मधेश प्रदेशले दुई सय ६२, कर्णाली प्रदेशले एक सय ९७, एनआरएनएले एक सय ३१ र लुम्बिनी प्रदेशले एक सय २३ खेलाडीको नामावली राखेपमा दर्ता गराएका छन् ।

आयोजक प्रदेशसमेत रहेको गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ । परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङले सबै खेलमा भाग लिइने बताउनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरिसकेको छ । छनोट भएका खेलाडीहरूलाई असोज १ गतेदेखि विशेष प्रशिक्षणमा राखिएको परिषद्ले जनाएको छ । दुई साताको विशेष प्रशिक्षणपछि बन्द प्रशिक्षण सुरु हुने सदस्य-सचिव गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशले पदकको बढी आशा भएका कराँते र बास्केटबल खेलका खेलाडीहरूलाई हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण (हाइअल्टिच्युड ट्रेनिङ) सञ्चालन गरेको छ ।

पोखरासहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेलहरू हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौंमा हुने तय गरिएको छ । अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रंगशालामा हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो ।

गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदमा ११ टोली सहभागी हुनेछन् भने प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?