बजार अनुगमनलाई तीव्रता दिँदै स्थानीय प्रशासन

Read Time = 3 mins

विजय रावत/जुम्ला । चाडबाड नजिकिांदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलंगा बजारमा रहेका पसल अनुगमन गरेको हो । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बसपार्क लाइनमा रहेका पसल अनुगमन गरिएको छ । उपभोक्तालाई कालोबजारीबाट मुक्त गर्न अनुगमन गरिएको हो । ठूला खाद्यान्न पसलसमेत अनुगमन गरिएको छ । चार हजार बराबरको म्याद सकिएको पेयपदार्थ बरामद गरी नष्ट गरिएको छ ।’

अघिल्लोपटक अनुगमन गर्दा म्याद नाघेका खाद्यवस्तु फेला परेकोमा यसपटक समयमै अनुगमन गर्दा म्याद सकिएका खाद्यान्न वस्तु कममात्रामा भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाको दाबी छ । तर, व्यापारीले अझै पसलमा मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक-फरक भएकाले उपभोक्ता मर्कामा परेको स्थानीयवासी उपराज रावतले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलंगाका ठूला व्यापारीले नै म्याद सकिएका सामान पसलबाटै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताउनुभयो ।

अनुगमनका क्रममा बिस्कुट कोकाकोला, स्प्राइट, रेडबुलजस्ता म्याद सकिएका सामान भेटिएका छन् । खाद्य अनुसन्धान अधिकृत डा. सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री गरेको भेटिएको पाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली बजारको अनुगमनमा निस्किएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?