कांग्रेसमा किचलो हारगुहार गर्दै सभापति

शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको संस्थापन पक्षको भनाइ, कारबाही भोग्न तयार रहेको इतर समूहको दाबी

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसमा आन्तरिक कलह चुलिँदै गएको छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा रहेको कांग्रेसको संस्थापन इतर समूह संस्थापन पक्षले समानुपातिक उम्मेदवार छनोटमा एकलौटी गरेको र प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा पनि त्यही षड्यन्त्र गरिरहेको भन्दै विरोध गरिरहेको छ । उम्मेद्वार छनोटको विवाद साम्य हुनुको सट्टा पार्टीका दुई पक्षबीच आमनेसामनेको अवस्था सिर्जना हुन थालेको छ । इतर समूहले नेतृत्वलाई दबाब दिन निरन्तर दबाबमूलक कार्यक्रम गरिरहँदा संस्थापन पक्षले भने डा.शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित सम्मेलनमा पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले संस्थापन इतर समूहले गर्दै आएको दबाबमूलक आन्दोलनलाई पार्टीले नजिकबाट नियालिरहेको बताउनुभएको हो । समानुपातिकको बन्दसूची सर्वसम्मत निर्णय गरेर तयार गरिएको दाबी गर्नुभएका प्रवक्ता डा.महतले डा.शेखर निकट दोस्रो तहका नेताहरूले गर्दै आएका भेलाहरूले पार्टीको हित नगर्ने जिकिर गर्दै भन्नुभयो, ‘सम्पूर्ण निर्णय विधि, विधानअनुसार भएको छ । बहुमतबाट मात्रै भएको होइन, सर्वसम्मत भएको छ । कुनै विमतिबिना सम्पूर्ण प्रक्रिया अगाडि बढेको हुनाले त्योभन्दा अन्यथा कुनै अभिव्यक्ति अथवा क्रियाकलाप हुन्छ भने त्यसले पार्टीको हित गर्दैन । पार्टीले ती गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।’

पार्टी हितविपरीत गतिविधिमा लागेका नेताहरूलाई कांग्रेसले अनुशासनको कारबाही गर्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रष्ट जवाफ नदिनुभएका प्रवक्ता महतले इतर समूहका दोस्रो तहका नेताहरूका गतिविधिलाई अनावश्यक भएको टिप्पणी गर्दै भन्नुभयो, ‘सम्पूर्ण नेतागण यो निर्णय प्रक्रियामा हुनुहुन्छ । उहाँहरूले बोलेको मैले देखिराखेको छैन भनेपछि त्यसैबाट तपाईंहरूले अनुमान गर्नुहोस् । यदि त्यस्तो भएको भए त ती नेतागण नै आएर यो–यो भयो, यस्तो भयो, हामीले भनेको चिज भएन भन्ने कुरो आउथ्यो होला नि ! यसकारण जे भइराखेको छ त्यो अनावश्यक हो ।’

कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको र अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको पटक-पटक दोहोर्‍याउनु भएका प्रवक्ता डा. महतले भन्नुभयो, ‘पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय बोर्डका सदस्यहरू समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय प्राविधिक त्रुटि छन् । तर, एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन । विरोधका नाममा जुन गतिविधि भइरहेका छन् पार्टी अनुशासनको कुरा होइन ।’

नेपाली कांग्रेसको संस्थापन समूहले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन आयोगमा बुझाएको बन्दसूची परिमार्जनको माग राख्दै इतर समूहले दबाबमूलक आन्दोलन गरिरहेको छ । सभापति शेरबहादुर देउवा पक्ष एकपक्षीय रूपमा अघि बढेको निष्कर्षसहित कोइराला पक्षले आज (बुधबार) बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने तयारी गरेको छ ।

६०/४०को अडानमा शेखर, इतर समूहलाई ओलीको ८०/८५को प्रस्ताव
नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किदै जाँदा पार्टी विभाजन सम्मको हल्ला चल्न थालेको छ । मंगलबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेता डा. शेखर कोइरालासँग पटक पटक सम्वाद गर्न खोज्नुभएको तर सम्वाद हुन नसकेको स्रोत बताउँछ । स्रोतका अनुसार उहाँले तीन–चार पटक सम्वादका लागि फोन सम्पर्क गर्नु भयो तर शेखरले उहाँको फोन रिसिभ गर्नुभएन । आफ्नो फोन रिसिभ नगरेपछि उहाँले शेखरसँग नजिकका व्यक्तिमार्फत प्रयास गर्नुभयो त्यसमा शेखरले ६०/४० भन्दा आफू तलमाथि नगर्ने बताउनुभयो । शेखरलाई मिलाउनका लागि पनि वैदेशिक कुटनीतिक पनि सक्रिय भएको वालुवाटार स्रोत बताउँछ ।

यता, नेकपा एमालेका अध्यक्ष केपी ओलीले डा. शेखरलाई ८०/८५ गरेर जाऔ भन्ने प्रस्ताव गरेको विश्वस्त स्रोतको दाबी छ । तर, शेखरले तत्काल उक्त प्रस्तावले पार्टी नै विभाजनतर्फ जाने भन्दै सो प्रस्ताव अस्विकार गर्नुभएको छ । शेखर समूहको दोस्रो पुस्ताले भने आवश्यक परेमा पार्टी फुटेर भएपनि जानुपर्ने प्रस्ताव राखेको छ तर शेखरले तत्काल त्यसतर्फ जान नहुने अडान राख्नुभएको छ । त्यस्तै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि केही सिट दिएर जाने प्रस्ताव गरेको स्रोत बताउँछ ।

हाम्रो खबरदारी देउवालाई मात्र होइन, शेखरलाई पनि हो : घिमिरे
कांग्रेसभित्र उम्मेदवार चयन र सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै दबाबमूलक कार्यक्रमको नेतृत्वकर्ता मध्येका एक शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेले आफूहरूको खबरदारी नेता डा.शेखर कोइरालालाई पनि भएको बताउनुभएको छ । समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिरहेको समूहको अगुवाइ गरिरहनुभएका नेता घिमिरेले आफूहरूको खबरदारी सभापति देउवालाई मात्रै नभएको प्रष्ट पार्नुभएको छ । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै नेता घिमिरेले आफूहरूको खबरदारी पार्टीभित्रका प्रतिस्पर्धी अरू नेताहरूलाई पनि भएको जिकिर गर्दै भन्नुभयो, ‘खबरदारी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, सबै पदाधिकारीलाई, दलका नेताहरूलाई पनि हो । हाम्रा नेताहरूसँग छलफल गर्दा पार्टीभित्र न्यायसंगत भए÷नभएको शोधखोज उहाँहरूले गर्नुपर्दछ ।’

कांग्रेसकै भाग खोस्ने काम माओवादीबाट भएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उम्मेदवारी दिने अभिव्यक्ति दिनुभएका नेता घिमिरेले भन्नुभयो, ‘हाम्रो भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ । हामीले उहाँसँग प्रतिस्पर्धा गर्छौं ।’ पार्टीभित्रको अन्यायविरुद्धको खबरदारीको तीन चरण रहेको जानकारी दिँदै घिमिरेले उम्मेदवारी गठबन्धनका विरुद्ध उम्मेदवारी दिने कार्य विद्रोहको चरण भएको दाबी गर्नुभयो । विनम्रताको चरण सकिएर विरोधको चरणमा खबरदारी भइरहेको घिमिरेको भनाइ थियो । गठबन्धनका नेताविरुद्ध उम्मेदवार हुँदा पार्टीले कारबाही गरे भोग्न तयार रहेको दाबी गर्दै घिमिरेले भन्नुभयो, ‘न्यायका लागि आवाज उठाउँदा कारबाही भए भोग्न तयार छौं ।’

शीर्ष नेता विवाद मिलाउने प्रयासमा
चुनावको मुखमा पार्टीभित्रको कलह उग्र हुँदै गएपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू आन्तरिक विवाद मिलाउने प्रयासमा लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक बन्द सूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको सिट बाँडफाँटका विषयमा छलफल भएको छ । यसअघि मंगलबार बिहान नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।

सोमबार पार्टी सभापति देउवा र उपसभापति डा. धनराज गुरुङबीच पनि छलफल भएको थियो । आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ । मुख्य गरी केन्द्रीय सदस्य डा.शेखर कोइराला पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलसँग सम्झौता गर्न नहुने भन्दै नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?