नातावादभन्दा माथि उठेर निर्वाचनमा महिलालाई सहभागिता गराउन दबाब समूहको माग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । महिला सुरक्षा दबाब समूहले आगामी निर्वाचनमा नातावादभन्दा माथि उठेर महिलालाई टिकट दिनुपर्नेमा जोड दिएको छ । दबाब समूह नेपालले मंगलबार राजधानीमा आयोजना गरेको ‘आगामी निर्वाचनको घोषणापत्रमा महिला सहभागिता विषयक’ छलफल कार्यक्रममा उक्त माग गरेको हो । संस्थाकी अध्यक्ष कल्याणी शाहको सभापतित्वमा सम्पन्न कार्यक्रमले गुटवादबाट बाहिर निस्केर क्षमतावान र पार्टीमा लामो समयसम्म योगदान पुर्‍याउने महिलाहरूलाई अवसर दिनुपर्नेमा जोड दिएको थियो ।

अध्यक्ष शाहले समूहले उम्मेदवार छान्ने क्रममा १८ बुँदे मापदण्डलाई अगाडि सारेको हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि महिला हिंसाको घटनामा संलग्न राजनीतिज्ञलाई प्रत्यक्ष तथा समानुपातिक दुवैमा उम्मेदवारी दिनबाट वञ्चित गरिनुपर्ने, महिलामाथि हुने सबै प्रकारको भेदभाव अन्त्य गर्नुपर्ने, लोकतान्त्रिक प्रक्रियामा महिला योगदानको सम्मान र महिलाभित्रको विविधतालाई सम्मान गर्नुपर्ने, बढीभन्दा बढी महिला उम्मेदवार जिताउन महिलाविरुद्ध पुरुष नभई महिलाविरुद्ध महिलालाई प्रतिस्पर्धा गर्ने गरी निर्वाचन क्षेत्रमा महिला–महिलाबीच प्रतिस्पर्धा गराइनुपर्नेलगायतका मापदण्ड समूहले राखेको छ ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष इरादा पराजुली गौतमले आगामी निर्वाचनको घोषणापत्रमा महिला सहभागिताको विषयमा संस्थाको १८ बुँदे एजेण्डा ल्याएको बताउनुभयो । अघिल्लो निर्वाचनमा ३३ प्रतिशत रहे तापनि अबको निर्वाचनमा ५५ प्रतिशत महिला सहभागिता पु¥याउनुपर्नेमा कार्यक्रममा उपस्थित सबै नेतृहरूले जोड दिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले कृष्णबहादुर महरा समानुपातिकतर्फ सुनिश्चित हुनु, संस्थागत पार्टीहरूमा भइरहेको छोरीवाद, श्रीमतीवाद, दिदीबहिनीवाद, परिवारवाद, गुटवादबाट बाहिर निस्केर क्षमतावान र पार्टीमा लामो समयसम्म योगदान पु¥याउने महिलाहरूलाई अवसर दिनुपर्ने कुरामा जोड दिँदै आएको छ ।

यस्तै, प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी लोकतान्त्रिक पार्टीहरूको जिम्मेवारी रहनुपर्ने, राज्यको सबै तह र तप्कामा महिलाको सहभागिता ५० प्रतिशत सुनिश्चित हुनुपर्ने र महिलाको प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत उम्मेदवारी सुनिश्चितताका निम्ति प्रतिबद्व हुनुपर्ने र समान उम्मेदवारी सुनिश्चित हुनुपर्ने, नेतृत्वमा पुगेका महिलाको चारित्रिक लाञ्छना र भेदभाव बन्द गर्नुपर्ने, महिलाको नेतृत्वलाई सम्मान गर्नुपर्ने, महिलाको नेतृत्व दिगो विकासको आधार, राजनीतिमा युवा सहभागिता र समावेशी वातावरण निर्माण गर्नुपर्नेलगायतका बुँदाहरू समूहले अगाडि सारेको छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जयन्ती राई, वरिष्ठ अधिवक्ता डाक्टर शशी रावत, नेपाली कांग्रेस प्रदेश सभासद विजय केसी श्रेष्ठ, समाजवादी पार्टीकी नेता गरिमा शाहलगायतका व्यक्तित्वहरूले महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा जानका निम्ति वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?