छोइनसक्नु भयो मुस्ताङ्गी च्याङग्राको मूल्य(तस्बिरसहित)

रोज्जा च्याङग्राको ५० हजार, छोड्डा च्याङ्ग्रा पनि पाइँदैन ३० भन्दा कम

हिमालय टाइम्स
Read Time = 8 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । दशैंमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ । तर, रहर भएर के गर्नु, यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढे पछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन् ।

मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा बजारमा आएकाले मूल्य आकाशिएको व्यापारीहरुले बताएका छन् । तर,उपभोक्ताहरुले भने व्यापारीहरुले मनलाग्दो गरी मूल्य निर्धारण गरेकाले उपभोक्ताहरुलाई खरिद गर्न महंगो भएको गुनासो गरेका छन् ।

भेडाको तुलनामा च्याङ्ग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले दशैंमा मुस्तांगी च्याङ्ग्राको माग बढी हुने गर्दछ ।उपल्लो मुस्ताङका ब्यापारीले सानो–सानो संख्यामा खरिद गरी मुस्ताङ बाहिरबाट आउने ब्यापारीलाई विक्री गर्ने गरेकाले पनि उपभोक्तासम्म पुग्दा मुल्य बढ्ने गरेको पाइएको छ ।

मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मुल्य रोज्जाको ५० हजारसम्म पुगेको छ । त्यसैगरी सवैभन्दा सानो र सबैले छोडेको च्याङ्ग्राको मूल्य पनि ३० हजारको हाराहारीमा पर्ने मुस्ताङबाट च्याङग्रा लिएर पोखरातिर लैजादै गर्नुभएका व्यापारी शशिधर थापाले बताउनुभयो । उहाँसँग चार जनाको समूहले ४५० वटा च्याङ्ग्रा खरिद गरेर बेनी हुँदै पोखरातर्फ च्याङ्ग्रा लैजादै हुनुहुन्छ ।

उहाँका अनुसार, गत बर्षको तुलनामा मुस्ताङमै च्याङ्ग्राको मुल्य प्रतिगोटा ४ देखि ५ हजारसम्म बढेको छ । मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्याङ्ग्रा भएकाले पनि मुल्य बढेको हो । घरकै खोरमा पालेको च्याङ्ग्रा स्वस्थकर हुने भएकाले त्यसको माग पनि बढी हुने गर्छ ।

मुस्ताङमा व्यापारीहरुले च्याङ्ग्रालाई प्रतिगोटा रु ४२ हजारसम्म मुल्य परेको बताएका छन् । केहि बर्ष अघि सम्म २० देखि २२ हजारमा पाईने च्याङ्ग्राको मुल्य यस बर्ष दोब्बरले बढेको व्यापारीहरुको गुनासो रहेको छ ।

कोभिड–१९ का कारण विगत तीन वर्षदेखि उत्तरी कोरला नाका बन्द छ । नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्यांग्रा खरिद गर्न नपाउँदा यस वर्ष पनि भेंडाच्यांग्राको संख्या न्यून भएको मुस्ताङका व्यापारीहरुको भनाइ छ । जोमसोम र लेते मा पशु चिकित्सकहरुले मुस्ताङबाट बाहिरिने भेंडाच्यांग्राको स्वास्थ्य परिक्षण गरि निरोगिताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ ।

गत वर्ष ३० देखि ३५ हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट २० हजार देखि २५ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए । मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चिनको तिब्वतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडाच्याङ्ग्रा आउने गरेका छन् । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ ।

तिब्वती च्याङ्ग्राको तौल र मुल्य फरक हुने भएकाले पनि उपभोक्ताले ब्यापारीसँग बुकिङ गर्ने गरेका छन् । प्रयाप्त चरन क्षेत्र, बजार मुल्य, प्राविधिक सहयोग सहित कृषकहरूको भेडापालनप्रतिको आर्कषणले विगतका तुलनामा भेडाच्याङ्ग्रा पालनमा आर्कषण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विक्रि केन्द्र म्याग्दी–मुस्ताङले जनाएको छ ।

स्वास्थ्य परिक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमती दिइएको छ । मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्याङ्क संकलनसँगै स्वास्थ्य परिक्षणमा खटिएका छन् । हिलाम्मे सडकका कारण धेरै भेडाच्याङ्गा घाईते समेत भएको अवस्थामा देखिएका छन् ।

बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या हुने भएकाले यसबर्ष विगतमा भन्दा छिट्टै ब्यापारी मुस्ताङमा पुगेपनि कृषकले ब्यापारी बिच नै मुल्यमा प्रतिस्पर्धा गराएपछि ढिलो भएको ब्यापारीको भनाई छ ।

मुस्ताङदेखि गन्तब्यसम्म पुग्ने बेलामा पटकपटक स्थानीय कर तिनुपर्ने अवस्थाको अन्त्य भएमा उपभोक्तालाई केही सस्तोमा विक्री गर्न पाईन्छ । यसैबीच दशैतिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमा समेत ठूलो संख्यामा भेडापालन गरिएको छ । दशैंमा मात्रै म्याग्दीबाट समेत १ करोडको बिक्री हुने गरेको छ भने मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?