किसानका पीडा : पानी पर्दा पनि चिन्ता, नपर्दा झनै चिन्ता

हिमालय टाइम्स
Read Time = 5 mins

सञ्जीवकुमार मिश्रा/बारा । किसानहरू बालीनाली जोगाउन अनेक जोहो गर्छन् । समय-समयमा मल हाल्ने, पानी हाल्ने, गुणस्तरीय बीउबिजनका लागि उनीहरू नेपालदेखि भारतसम्म चहार्ने गर्दछन् । एकातिर पानी समयमा नपरेर धान रोप्ने किसानहरू चिन्तित भएका थिए भने अर्कोतर्फ एक्कासी धेरै वर्षाका कारण तरकारी खेती गर्ने किसानहरू पिरोलिएका छन् । विगत २५ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका सिम्रौनगढ नगरपालिका-१ का किसान रामएकवाल मुखियाले पानीका कारण आठ कठ्ठामा लगाइएको बाली नोक्सान हुने अवस्थामा पुगेको बताउनुभयो ।

‘हाम्रो कमाइ भनेकै यही तरकारी खेतीमात्र हो,’ उहाँले भन्नुभयो, ‘भदौ महिनामा काउलीका बिरुवाहरू रोप्यौं । आफ्नो पर्याप्त जग्गा नभएका कारण अरूसँग लिजमा लिएर तरकारी खेती गर्दै आएको छु । आठ कठ्ठा जग्गामा २० हजारभन्दा बढी बिरुवा रोपेका थियांै । काउली राम्रो सप्रेको थियो । तर, भदौ अन्तिम सातातिर परेको भारी वर्षाले आधाभन्दा बढी काउली नष्ट गरिदियो । अहिलेसम्म ४० हजारभन्दा बढी लगानी काउली खेतीमा लागिसकेको छ । अरूको जग्गा लिजमा लिएबापत प्रत्येक वर्ष ४० हजार रुपैयाँ बुझाउनुपर्दछ । एकातिर बाली नोक्सान हुने अवस्थामा पुगेको छ भने अर्कोतर्फ जसरी पनि जग्गावालालाई भाडा बुझाउनुपर्ने बाध्यता रहेको छ ।’

अन्तिम समयमा आएर पानी नपरेको भए कात्तिकको पहिलो हप्ता काउली तयार हुने थियो । आठ कठ्ठामा लगाइएको काउलीबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म कमाइ हुन सक्थ्यो । तर, अब लगाइएको लगानी पनि ननिस्कने जस्तो भएको छ । ढिलो उत्पादन भयो भने बजारमा काउलीको भाउ सस्तो हुन्छ र गरिएको लगानी पनि डुब्छ । उत्पादन जति अगाडि तयार हुन्छ र बजारमा पुग्छ त्यति हामी किसानलाई फाइदा हुन्छ । भारतबाट काउली आउन थाल्यो र बजार भरिभराउ हुन थाल्यो भने माग घट्छ र भाउ पनि घटेर जाँदा गरिएको लगानीसमेत डुब्ने अवस्था आउने गरेको अनुभव उहाँले बताउनुभयो ।

बालीनाली सप्रियो भने उत्पादन पनि राम्रो हुन्छ । काउली सप्रियो भने प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म उत्पादन हुन्छ । कात्तिक पहिलो साता काउली निस्क्यो भने बजारमा त्यो बेला ७० देखि ८० रुपैयाँ प्रतिकिलो काउली बिक्री हुन्छ र हाम्रो कमाइ पनि राम्रो हुन्छ । तर, ढिलो गरी उत्पादन भयो भने कमाइ हुँदैन । लगानीसमेत निकाल्न गाह्रो हुने गरेको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि तरकारी खेती गर्दै आए पनि सरकारबाट कहिल्यै पनि कुनै किसिमको अनुदान वा राहत आफूले नपाएको उहाँले बताउनुभयो । अनुदान वा राहतसम्बन्धी आफूलाई कुनै जानकारी नभएको र तरकारी खेती गर्दा सप्रियो भने कमाइ हुन्छ, सप्रिएन भने दैवको नियति सम्झेर स्वीकार्दै आएको उहाँले बताउनुभयो ।

हामीसँग सम्पत्तिको नाममा तीन कठ्ठा जग्गामात्र छ । त्यसैले अरूको जग्गा लिजमा लिएर तरकारी खेती गरी जीवनयापन गर्दै आएको उहाँले बताउनुभयो । ‘परिवार ठूलो छ कमाइ भनेको यही खेतपातीबाट मात्र हो । अरू कुनै पेशा व्यवसाय छैन,’ रामएकवाल मुखियाकी श्रीमती रामसखी देवी मुखियाले भन्नुभयो, ‘आफ्ना दुई छोरा र दुई छोरी छन् । छोराछोरीहरूको विवाह भइसकेको छ । कान्छो छोरा एसएलसी पास छ । तर, काम नपाएका कारण ज्यालामजदुरी गर्छ । हामी संयुक्त परिवारमा बसेका छौं । अहिले हाम्रो परिवारमा छोरा, बुहारी, नातिनातिनी गरी १६ जना रहेका छौं ।’ खेतीपाती गरेर जीवन धान्न समस्या भएको उहाँले बताउनुभयो ।

छोराहरू नेपालका विभिन्न शहरमा गएर ज्याला मजदुरी गर्छन् । घरमा बस्नेहरू यही तरकारी खेती गरेर जीवनयापन गर्ने गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?