डा.शेखर समूहको पार्टी कार्यालयमा धर्ना, ४० प्रतिशत हिस्सा बटमलाइन

समानुपातिक सूची संशोधन गर्ने शीर्ष नेताको प्रयास

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा समान अवसर र न्यायको माग गर्दै नेपाली कांग्रेसको संस्थापनइतर (डा.शेखर कोइराला) समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारको सूची सच्याउन पार्टीका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहँदा बुधबार कोइराला समूहका दोस्रो तहका नेताहरूले भने पार्टी कार्यालय सानेपामा धर्ना दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नदिएकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ । धर्नालाई सम्बोधन गर्दै पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले भन्नुभयो, ‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं । अन्याय सहँदैनौं भनेर विरोध गरेका हौँ । त्यसैले हामी प्ले-कार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्णरूपमा मौन छ ।’

सोमबार बसेको कोइराला गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो । यस्तै, गत शनिबार दोस्रो तहका नेताहरूले पार्टीभित्रको अन्यायविरुद्ध भन्दै काठमाडौंमा विरोधसभा गरेका थिए । कोइराला समूहका नेताहरूले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन र प्रत्यक्षतर्फ टिकट वितरणमा सबैलाई न्याय हुने गरी उम्मेदवार चयन गर्न माग गरिरहेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिक बन्दसूचीमा करिब १० प्रतिशत नेताहरू मात्रै परेको उनीहरूको दाबी छ ।

समानुपातिक उम्मेदवार छनोटमा संस्थापन पक्षले किनारामा पु¥याएपछि प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही व्यवहार हुनसक्ने भन्दै कोइराला समूह त्रसित भएको छ । पार्टी नेतृत्वविरुद्ध दोस्रो तहका नेताहरूले निरन्तर चरणबद्ध विरोधका कार्यक्रम गरे पनि डा. कोइरालासहित समूहका पार्टी पदाधिकारी भने सहभागी भएका छैनन् । दोस्रो तहका नेताहरूले निरन्तर आन्दोलन गरेपछि संस्थापनइतर समूहको नेतृत्व गरिरहनुभएका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बुधबार आफूनिकट नेताहरूसँग छलफल गर्नुभएको छ । डा.कोइरालाले आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएको आफूनिकट नेताहरूसँग छलफल गर्नुभएको हो ।

बुधबार दिउँसोमात्रै पार्टी कार्यालयमा एक घण्टासम्म मौन धर्ना सकेलगत्तै डा.कोइरालाले रहेका नेता कार्यकर्तालाई बोलाएर बत्तीसपुतलीस्थित एक होटलमा छलफल गर्नुभएको हो । छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने सहभागी हुनुभएन । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरूसँग छलफल गर्नुभएको हो । डा.कोइराला विराटनगर रहे पनि काठमाडौंमा दोस्रो तहका नेताहरूले आन्दोलन चर्काएका थिए ।

सभापति देउवालाई केन्द्रीय सदस्य दिनेश कोइरालाको चिठी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई एक पत्र लेखी केन्द्रीय सदस्य कोइरालाले समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारले प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने टिप्पणी गर्नुभएको हो ।

समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरिनुपर्ने कोइरालाको जोड छ । समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरूको तावेदारीलाई प्राथमिकता दिएकोप्रति रोष प्रकट गर्दै कोइरालाले भन्नुभएको छ, ‘समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन । समानुपातिकतर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरूलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्यक्षमा लड्ने उम्मेदवारलाई समेत पर्ने देखिन्छ ।’

बुधबार केन्द्रीय कार्यालय सानेपामा बुझाएको पत्रमा कोइरालाले समानुपातिक सिट आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश कांग्रेसले देशव्यापी रूपमा दिनुपर्ने भन्दै ६ बुँदे सुझाव पनि दिनुभएको छ ।

लोसपाकी नेतृ चौधरी कांग्रेसमा प्रवेश
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेतृ तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई स्वागत गर्नुभएको छ । कांग्रेसले नेतृ चौधरीलाई सर्लाही-४ मा टिकट दिने निश्चित भएको स्रोतको दाबी छ । सर्लाही क्षेत्र नम्बर-४ मा कांग्रेस नेता डा. अमरेशकुमार सिंहले टिकटको दाबी गर्दै आउनुभएको थियो । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको चर्चा हुन थालेको छ । लोसपाका कार्यकारिणी सदस्यसमेत रहनुभएकी चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुनुहुन्छ । चौधरी लोसपाबाट समानुपातिक सांसद हुनुभएको थियो । चौधरीको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु देउवालगायत नेताहरू सहभागी हुनुभएको थियो ।

पार्टी विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरू निरन्तर छलफलमा
निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीका कारण पार्टीभित्र तीव्र असन्तुष्टि उत्पन्न भएपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू समानुपातिक सूची संशोधन गर्न निरन्तर छलफलमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिनभरिजसो छलफल गरेका नेपाली कांग्रेसका शीर्ष नेताहरूले बुधबार पनि सहमतिको प्रयासलाई निरन्तरता दिए । दुई दिन लगातारको छलफल समानुपातिक उम्मेदवार सूची संशोधन र सत्तागठबन्धनमा सिट बाँडफाँटको विषयमा केन्द्रित रहेको बताइएको छ ।

निर्वाचन आयोगमा असोज ३ गते बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकतर्फका उम्मेदवारको सूचीप्रति इतर समूह रुष्ट छ । चुनावको मुखमा इतर समूहका नेता तथा कार्यकर्ता समानुपातिक उम्मेदवारको सूची असोज १४ भित्र सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएपछि सभापति देउवा दवावमा पर्नुभएको छ ।

संस्थापन पक्षले आफ्नो समूहलाई समानुपातिक सूचीमा ४० प्रतिशत भाग नदिएको आरोप लगाउँदै आएको छ । ११० जनाको नाम प्रतिनिधिसभातर्फ समानुपातिकमा बुझाउँदा कोइराला पक्षका १४ जनाको नाम मात्रै समावेश गरिएको जिकिर उनीहरूको छ । उनीहरूले इतर समूहलाई कम्तीमा ३० देखि ४० प्रतिशत दिनुपर्ने माग राख्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?