बहुउद्देश्यीय सहकारी संघमा सुरेन्द्रको रजगज

रकम अपचलन हुँदा सयौँ सहकारी समस्याग्रस्त

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

काठमाडौं । देशभरका बहुउद्देश्यीय सहकारी संघहरूको साझा संस्था नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पदीय हैसियत दुरुपयोग गरेर रकम हिनामिना गरिरहेको देखिएको छ । वार्षिक साधारणसभासमेत नगरी संघलाई उनले आफू र आफन्तलाई पोस्ने स्रोत बनाएका छन् । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक र सिइओ दुवै पदमा अवैध रूपमा बसिरहेका भण्डारीले यस विषयलाई सहकारी विभागदेखि अदालतसम्म पु¥याएर भए पनि अध्यक्ष पद हत्याइरहेका छन् ।

संघबाट सार्वजनिक भएको आठौँ राष्ट्रिय प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा इन्टरनेशनल को-अपरेटिभ अलाइन्स-एसिया एण्ड प्यासेफिकद्वारा मलेशियामा आयोजित कार्यक्रममा प्रतिनिधिको रूपमा आफ्नै दाई अमृत भण्डारीलाई सहभागी गराएका हुन् । अमृत तिनै हुन् जो श्री लालीगराँस सहकारीले लिलाम सकार गरेको प्रसिद्ध गायक रामकृष्ण ढकालको घरमा भाडासमेत नतिरी वर्षौंदेखि बस्दै आएका छन् । प्रतिवेदन अनुसार २०७६ भाद्र १८ देखि १९ सम्म भएको कार्यक्रममा उनले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको शिक्षा उपसमितिको संयोजकको रूपमा दाइ अमृतलाई मलेशिया पठाएका थिए ।

संघका एक प्रतिनिधिका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी जागिरे रहेका अमृतलाई सुरेन्द्रले नक्कली कागजात तयार पारेर मलेशिया पठाएका हुन् । यो विषयमा संघमा विरोध नभएको पनि होइन । तर विरोध गर्नेलाई सुरेन्द्रले मुद्दा लगाइदिने धम्कीसमेत दिएका थिए । विरोध गर्नेमध्ये सचिव माधवप्रसाद तिमिल्सिनालाई उनले नक्कली कागजात किर्ते मुद्दा लगाएर जेल पठाइसकेका छन् । प्रहरीसमक्ष तिमिल्सिनाले दिएको बयानमा आफ्नो कागजात अध्यक्ष सुरेन्द्र भण्डारीले नै तयार पारिदिएको बयान दिए पनि प्रहरीले भण्डारीलाई मुद्दा नलगाई तिमिल्सिनालाई मात्रै मुद्दा लगाएको थियो ।

संघको पैसा मनोमानी रूपमा आफ्नै सहकारीमा लगानी
बहुउद्देश्यीय सहकारी संघमा देशभरका बहुउद्देश्यीय सहकारीहरूले सदस्यता लिएका छन् । तर, भण्डारीले भने बहुउद्देश्यीय सहकारी संघबाट आफू सिइओ तथा कार्यकारी निर्देशक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संघमा शेयर खरिद गरेको फेला परेको छ । आर्थिक प्रतिवेदन अनुसार संघले २०७६ असारमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा १० हजार रुपैयाँको शयर खरिद गरिएको छ । २०७७ असारमा १ लाख रुपैयाँको शेयर खरिद गरिएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थामा दुई आर्थिक वर्षका गरि १० लाख रुपैयाँको शेयर खरिद गरिएको छ ।

‘आफू नै सिइओ र कार्यकारी निर्देशक रहेको सहकारीको शेयर खरिद गरिनु आर्थिक अपराध हो । यसरी शेयर खरिद गर्नुको अर्थ सोही सहकारीमा संघको करोडौँ रुपैयाँ जम्मा गरेर राख्ने र हिनामिना गर्ने हो,’ संघका एक पदाधिकारीले भने, ‘कि देशैभरका बहुउद्देश्यीय सहकारी संस्थामा संघको पैसा राख्नुप¥यो । आफ्नोमा मात्रै सबै संघको पैसा खन्याइएको छ । अहिले कयौँ सहकारीहरूले संघमा जम्मा गरेको पैसा पाएका छैनन् । कारण हो-श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा लगानी डुब्नु ।’

श्री लालीगुराँसका कारण अन्य सहकारीलाई तनाव !
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संघको रकम सबै श्री लालीगुराँस सहकारीमा राखेका कारण संघमा रकम जम्मा गरेका सयौँ सहकारी समस्याग्रस्त बनेका छन् । संघमा राखेको रकम अपचलन भएपछि बैद्धिक बहुउद्देश्यीय सहकारीका सञ्चालकलाई तनाव भएको छ । तर, न्यूरोडमा कार्यालय रहेको बैद्धिक बहुउद्देश्यीय सहकारीले जम्मा गरेको लाखौँ रुपैयाँ फिर्ता पाएको छैन । यद्यपि सहकारीका एक उच्च तहका व्यक्ति भने कुनै समस्या नभएको बताउँछन् । ‘अहिले समय नै त्यस्तै छ । हामीले संघमा जम्मा गरेको केही लाख रुपैयाँ रकम फिर्ता पाउन मुस्किल भएको छ । श्री लालीगुराँसमा गएर पैसा निकाल्नु भन्छन् । तर, लालीगुराँसले पैसा दिन मान्दैन,’ ती सञ्चालकले भने ।

त्यस्तै न्यूरोडकै अर्को एक सहकारीले जम्मा गरेको एक करोड रुपैयाँ फिर्ता माग्दा भण्डारी विभिन्न बहानामा टार्ने गरेका छन् । स्रोतका अनुसार केन्द्रीय सहकारी संघमा जम्मा गरेको ६२ करोड रुपैयाँभन्दा बढी निक्षेप रकम ऐन मिचेर सुरेन्द्रले लालीगुराँस बहुउद्देश्यीय सहकारीमै राखेका छन् । संघको करोडौँ रकममा सुरेन्द्रको रजाइँ भइरहे पनि नियामक निकायले तदारुकता नदेखाउँदा उनीमाथि कारबाही हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
harish
harish
2022-09-29 10:01 am

यस्ता ठग सहकारीमा खै सम्बन्धित निकायको ध्यान गएको, सबै जसरी पनि कमाउ धन्दामा लागेका छन् । 

नविना राई
नविना राई
2022-10-15 3:06 pm

नराम्रो लाग्यो नि,,,,

छुटाउनुभयो कि ?