दशैँ पर्व वीरताको प्रतीक

चूडामणि कोइराला
Read Time = 11 mins

दशैँ पावन पर्व हिन्दू धर्मावलम्बीमा मात्र सीमित नभएर यो सनातनी पर्व हो । दशैँ पर्वलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीमा फरक यति छ कि हिन्दूहरू रातो टीका लगाएर नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

वैदिक सनातन धर्मानुयायीहरूले दशैँको आर्शिवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । दशमी तिथि अर्थात् विजयादशमीको दशौं दिनमा पर्ने दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश+आनन(मुख) । विजया दशमीकै दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर शास्त्रमा उल्लेख गरिएको छ । टीका, जमरा अनि रमाइलोको माहोल, दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा ग्रहण गरिएको दिन आश्विन शुक्ल दशमी नै विजया दशमी हो ।

त्रेता युगमा यही दिनमा श्रीरामले सीताको हरण गर्ने, रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेषगरी मनाइने गरिएको छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैँलाई वडादशैँ एवं विजयदशमीको नामले पुकारिन्छ । दशैँलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरएिको छ ।

विजयादशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैँको उत्सव–पर्व सुरु भएको शास्त्रीयमा मान्यता रही आएको छ । हामी सबैमा दशैँ चाड महा खुशीको पर्व हो ।

चाडपर्वहरूले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्ष, उल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । बास्तवमा दश दिन मनाइने हुनाले दशैँ भनेको बुढापाकाहरूको लोक भनाइ छ । दशैँमा नवदुर्गाको नौवटा रूप शैलपुत्री, ब्रहृमचारणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीको विशेष पूजाआराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः प्रत्येक नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टीका, जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा-टाढादेखि आउने आफन्तहरूले पूर्णिमासम्मै टीका लगाएर आशीर्वाद लिने/दिने गरिन्छ ।

हाम्रो लौकिक शास्त्रले मान्यजनबाट टीका लगाउँदा महिला र पुरुषलाई भिन्न-भिन्न आर्शीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण, शब्द, अर्थ फरक छ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषमा छँदै छनन् । अनेक देवी देवतालाई पुकार गर्दा संस्कृत भाषामा भएका अधिक अर्थयुक्त मन्त्र र श्लोकहरू उच्चारण गर्ने गरिन्छ । हिन्दुहरूका अधिक घरघरमा रातो टीका, जमरा अनि जान्नेहरूले मन्त्र, शब्दोचारित गरी र मन्त्र उच्चारण गर्न नसक्नेहरूबाट आफ्नो परम्पारामा रहेका देवी देउता र जोसँग जे छैन त्यो काना पूरा हवस् भनी आशिर्वाद प्रदान गर्ने गरिन्छ ।
पुरुषलाई टीका लगाई दिँदा भन्ने आशिर्वाद
ॐ आयू द्रोण सुते, श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थ :
द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, हनुमानको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र कर्ण झै दानी बन्नू्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टीका लगाइदिँदा भन्ने आशिर्वाद
ॐ जयन्ती मंगलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थ :
ती देवी जसले सम्पूर्ण जगतलाई विजय गर्नसक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निवारण गर्न सक्दछिन्, समयको पावन्दिभन्दा पर रहेकी ती माँ देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे माँ देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी नमन गर्दछौं ।

दशैँ महिमा :
दशैँको टीका, जमरा, र आशिर्वादको के महतत्व छ । बडा दशैँ आश्विन शुक्ल पक्ष प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैँलाई बडा दशैँ, दशहरा, विजया दशमी, दुर्गा–पूजा आदि नामले चिनिन्छ । यस अवधिमा विभिन्न शक्ति पीठहरूमा भक्त जनबाट पूजाआराधना हुने गर्दछ ।

दशैँको टीका :
दशैँमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टिका थापिन्छ। यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टीकाको निकै अर्थपूर्ण महतत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ ।

आश्विनकृष्ण प्रतिपदाको जमरा :
अंकुरित जौलाई सांकेतिक रूपमा विजयादशमीको प्रसादका रूपमा ग्रहण गरिन्छ । सो दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा दायाँ कानमाथि राखी आशीर्वाद दिँदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

धर्मशास्त्रहरूले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ । वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रूपमा लिइएको छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसी धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ । गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् औषधिहरूमा म जौ हुँ भन्नु भएकाले यसको महतत्व पुष्टि हुन्छ । चिकित्सकहरूका अनुसार जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ ।

दशैँको दक्षिणा :
दशैँमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन वा द्रव्य नै दक्षिणा हो । विजयदशमीको दिन आ-आफ्नो गच्छेनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ ।

माथि शुभाशिषहरूमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकौं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिलै नचुकौं, सम्पूर्णमा असत्यमाथि सत्य, अन्यायमाथि न्याय विजयको प्रतीक बनोस् । क्रोध, लोभ, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र सोकले व्याप्त अनेक रावण रूपहरूको २०७९ सालको विजया दशमीले अन्त्य गर्न सकोस् । यो पावन पर्व विजयादशमीको अनेकानेक शुभकामना । सबैको शुभ रहोस्, मंगल रहोस् । जय दुर्गा भवानी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?