दशैँ दशैँ नै बनोस्

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

दशैँ सम्पूर्ण नेपालीको उल्लास र उमंगको चाड हो । यो समस्त हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो । इतिहासमा आसुरी शक्तिमाथि दैवी या मानव शक्तिको विजय भएको सम्झना गर्दै विजयोत्सवका रूपमा मनाइने दश दिने उत्सव दशैँ हो । असत्यलाई परास्त गर्दै सत्य हावी भएको अवसरको सम्मानमा जुट्ने खुसियालीको धार्मिक कार्य हो दशैँ । समग्रमा नेपाली मात्रको मनोरञ्जनात्मक पर्वोत्सव दशैँ हो । राक्षसराजबाट मत्र्यलोक मुक्त भएको खास दिनको पुण्य अवसरलाई आत्मसात् गर्दै मानवहरूमा मानवीय चरित्रको विकास गराउने उद्देश्य बोकेको महनीय पर्व दशैँ हो ।

ठूलाबाट आशीर्वाद थापेर आफूलाई धन्य भएको अनुभव गर्ने पर्व दशैँ हो । भगवान् विष्णु रामको अवतार लिएर धर्तीमा ओर्लनु अघि शुभकामना लिन महादेव र ब्रहृमाकहाँ पुगेको थिए र फलस्वरूप शिवले हनुमानको अवतार लिएर रावणसंगको युद्धमा सहयोग गर्न आएका थिए । भगवान्लाई त शुभकामना चाहिन्छ भने हामी मानव जातिलाई आशीर्वाद र शुभकामना नचाहिने कुरै भएन । ठूलाप्रति सम्मान व्यक्त गरेर आफूमा विनयशीलताको विकास गराउने चाड हो दशैँ । आफूभन्दा सानाप्रति माया, ममता र स्नेह प्रकट गर्दै वात्सल्यपूर्ण धर्ती बनाउने प्रयत्न गर्ने अवसर हो दशैँ । आफू सरहकासँग मित्रवत् व्यवहार गर्दै एकआपसमा सौहार्द सम्बन्ध प्रगाढ बनाउने पवित्र समय हो दशैँ । विशेषतः नौ दिनसम्म देवी दुर्गाको आराधना गरेर शक्तिको उपासना गर्दै आफूलाई सत्यको मार्गमा प्रवृत्त गराउने विशेष चाड हो यो दशैँ ।

आशीर्वाद थापेर पाइन्छ । आशीर्वाद थाप्न आउनेलाई सहजरूपमा पुण्य वचनहरूका साथ शुभकामना दिने प्रचलन छ तर आशीर्वादका सन्दर्भमा कुरा गर्दा प्रा.डा.राधाकृष्ण अधिकारीले सर्वत्र भन्ने गरेको र लेख्ने गरेको कुरा स्मरणीय छ । आशीर्वाद दिनेले दिएरमात्र हुँदैन, आशीर्वाद लिनेले पनि त्यसलाई ग्रहण गर्ने योग्यता राख्नुपर्दछ भनी उहाँ भन्ने गर्नुहुन्थ्यो । दशैँमा सबैलाई शुभ वचनहरूद्वारा वरिष्ठले कनिष्ठलाई उन्नति प्रगतिको कामना गर्दै आशीर्वाद दिने गर्दछन् तर ती वचनहरू मनैदेखि दिइएको र ग्रहणकर्ताले पनि सहृदय ग्रहण गरेको हुनुपर्दछ भन्ने उहाँको आशय रहन्थ्यो । आस्थारहित टीका ग्रहण गरियो भने न आशीर्वाद दिनेको वचन सार्थक हुन्छ न आशीर्वाद लिनेको जीवन नै सफल हुन्छ ।

दशैँमा वरिष्ठले कनिष्ठलाई उन्नति प्रगतिको कामना गर्दै आशीर्वाद दिने गर्दछन् तर ती वचनहरू मनैदेखि दिइएको र ग्रहणकर्ताले पनि सहृदय ग्रहण गरेको हुनुपर्दछ । आस्थारहित टीका ग्रहण गरियो भने न आशीर्वाद दिनेको वचन सार्थक हुन्छ न आशीर्वाद लिनेको जीवन नै सफल हुन्छ ।

दशैँका दिन टीका लगाइदिनेले ‘आयुद्र्रोण सुते’ भन्दै लामो आयुको कामना गर्दछन् । द्रोणाचार्यका छोरा अश्वत्थामा चिरञ्जीवी थिए भन्ने मानिन्छ । त्यस्तै आयुको कामना गरेर आशीर्वाद दिनेले दिन्छन् । ‘श्रियो दशरथे’ अर्थात् दशरथ राजाको जस्तो मानसम्मान होस् भनेर मातापिताले शुभकामना दिने गर्दछन् । ‘शत्रुक्षयो राघवे’ अर्थात् भगवान् रामचन्द्रले शत्रु संहार गरे जस्तै शत्रुनाश गर्न क्षमता राख्नु भनी आशीर्वचन प्राप्त हुन्छ । ‘ऐश्वर्यं नहुषे’ अर्थात् नहुष राजाको जस्ता ऐश्वर्य प्राप्त होस्, ‘गतिश्च पवने’ याने कि हावाको जस्तै द्रुत गति होस्, ‘मानश्च दुर्योधने’ अर्थात् दुर्योधनको जस्तै मान होस् जस्ता शुभ वचनहरू आशीर्वादका रूपमा पाइने पर्व दशैँ नै हो ।

‘शौर्यं शान्तनवे’ भनेको शन्तनु राजाका छोरा भीष्म पितामहको जस्तो शौर्य, ‘बलं हलधरे’ अर्थात् कृष्णका दाइ बलरामको जस्तो बल, ‘सत्यञ्च कुन्तीसुते’ माने युधिष्ठिरको जस्तो सत्यवादिता, ‘विज्ञानं विदुरे’ याने विदुरको जस्तो ज्ञान र ‘कीर्तिश्च नारायणे’ अर्थात् नारायण भगवानको जस्तो कीर्ति होस् भनी ठूलाले टीका लगाई दिँदा आशीर्वाद दिने गरिन्छ । पुरुषहरूलाई ती ओजपूर्ण वचनहरूका साथ टीका प्रदान गर्ने गरिएको छ भने कन्या र विवाहित महिलाहरूलाई ‘नमो देव्यै महादेव्यै...’, ‘जयन्ती मंगला काली...’ र ‘आयुर्वृद्धि यशोवृद्धि...’ आदि मन्त्रहरूले पूजन गर्दै टीका लगाइन्छ । यसको अर्थ महिलाहरू अझ कन्याहरू भनेका साक्षात् देवी नै मान्ने गरिएको छ ।

दशैँको टीका थापेको लक्का जवान पुरुष मरेको देखिएकै छ । हरेक वर्ष दशैँ मनाउने र आशीर्वाद लिने व्यक्ति पनि कंगाल हुनपुगेकै छ । इज्जत गुमाएर समाजमा मुख देखाउनै नहुने गरी कलंक लागेका दशैँ मनाउनेहरू कति छन् कति । त्यसैले दशैँमा आशीर्वाद थाप्ने र यो पर्व मनाउनेहरू ढोँगी हुन् र यो चाड मनाउनु बेकार छ भन्नेहरू पनि देखिएका छन् । यस्तै अफवाहका पछि लागेर दशैँ बहिष्कार गर्नेहरू सगर्व घोषणा गर्दै आफूलाई आधुनिक देखाउन उद्यत रहेका भेटिन्छन् । यस्तै हावादारी कुराका पछि लागेर दशैँ मनाउन छाड्नेहरूको लर्को लाग्न थालेको छ ।

आशीर्वाद लिनेले दिनको बीसवटा चुरोट तन्काउँछ भने आशीर्वाद दिनेको के दोष रहन्छ र ? घटस्थापनादेखि दशैँ भन्दै रक्सी धोक्दै हिँड्नेलाई यो आशीर्वादले छोला भन्ने कल्पना गर्नै सकिन्न । दशैँमा त जुवा फुक्छ भन्दै बिहानैदेखि बेलुका अबेरसम्म तास कौडामा बिताउनेको प्रगति भएन भनेर दशैँको आशीर्वादको अर्थ छैन भन्न मिल्छ र ? अनि त्यस्तामाथि आशीर्वाद लागेन भनेर हिन्दूहरूका चाडपर्व बेकारका हुन् भन्नेहरू देखिए भने तिनलाई बिचरा भन्नु सिवाय के पो रहन्छ र ?

चाडको महत्व एउटा छ, समाजको जल्दोबल्दो युवाका पाइला अर्कैतिर लम्किएको पाइन्छ । पर्वले उद्देश्य एउटा राखेको छ, आधुनिक भनाउँदाहरूका कर्महरू अर्कैतिर मोडिएको देखिन्छ । अंशबण्डामा झगडा गरेर मुख टालेर बसेका दुई भाइहरूका मुख खुलाउने चाड दशैँ हो । साँध सीमानामा झमेला भएका कारण खुँडा भिरेर एकअर्कालाई हान्न तम्सिएका दुई छिमेकीहरूका बीचमा मेल गराउने पर्व हो दशैँ । विराटनगर भएकी बहिनी र धनगढीमा रहेका दाइलाई आफ्नो पुख्र्यौली थलो धादिङमा बसेका बाबुआमाका काखमा पुर्‍याउने पर्व हो दशैँ ।
यस्तो महत्ता बोकेको चाडमा पनि पाँचवटा किताब बोकेर एकान्तवासमा जान्छु भन्नेहरू भेटिन्छन् । टीका थाप्यो, टीका लगाइदियो, दक्षिणा बाँड्यो, बेकारको पैसाको सत्यानाश । बरू त्यही पैसाले पुग्छ, यसपटक त सपरिवार नै दार्जिलिङ घुम्न जाने योजना बनाएको छु भन्नेहरू पनि देखिएकै छ । हुँदाहुँदा जुठै नलाग्ने मान्छे मरेको निहुँमा जुठो परेको छ भनेर यो पटक कोही नआउनू भन्दै उर्दी जारी गर्नेहरू पनि त्यत्तिकै संख्यामा पाइन थालिएको छ ।

यस्तो प्रवृत्ति विकास हुनुमा धेरै कारण रहेका छन् । प्रतिपदाको दिनमा घटस्थापना गरिन्छ भन्ने पढेको हाम्रा छोराछोरीहरूका पाठ्यपुस्तकमा त्यस्ता कुराहरू हटाइसकिएको छ । नवदुर्गा भनेका शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीहरू हुन् भन्ने थाहा पाउन त पुस्तकालयमा धुलो जमेर बसेका पुराना पुस्तकहरू नै पल्टाउन पर्ने भइसकेको छ । विद्यालयका पाठ्यपुस्तकमा आमाको महिमा झल्काउने कविता हटाएर रक्सी र भट्टीका पाठहरू समावेश गरिएको छ भने आउँदो पुस्ता दशैँमा कसरी रमाउला ?

आकाशमा चंगा देखिँदैन । टोलटोलमा लिंगेपिङ, लठ्ठेपिङ, रोटेपिङहरू देखिनु त परको कुरा भयो आजभोलिका बालबच्चाहरूले तिनको नामसमेत सुन्न पाएका छैनन् । सरसर्ती हेर्दा यस्ता कुराहरूले कुनै महत्व राख्दैनन् जस्तो देखिन्छ तर यिनकै व्यवस्थापनमा गाउँ उल्टिएर सामाजिकता विकास गरेको कसैले अनुभव गर्दैन । आजभोलि शहरका युवाहरू जोडिएको छिमेकी घरका मान्छेलाई चिन्दैनन् तर हाम्रा परम्परागत पर्वहरूले पूरै गाउँलाई नै एउटै सूत्रमा उन्ने गरेको थियो भन्ने कुरा अहिलेका पुस्तालाई के थाहा ?

सबैको चाहना छ कि यो दशैँमा अरूलाई भूइँमा घुँडा टेकाएर आफू गद्दीमा बसी टीका प्रदान गरिएको देख्न नपरोस् । छोरा सिंहासनमा बसेर टीका थाप्ने र उभिएका बुढा बाबुले टीका लगाइदिएको पनि अवश्यै देखिने छैन ।

बीस वर्ष पुगेर एक्काइस लागेको युवाले केकमाथि एक्काइसवटा मैनबत्ती बालेर बीसवटा निभाउनै पर्दछ । एउटा भने बालेरै राख्नुपर्दछ । यो अनिवार्य छ किनभने यो परम्परा विदेशबाट भित्रिएको हो । गर्भवती महिलालाई नातेदार, छिमेकीहरू गएर दही चिउरा खुवाउने हाम्रो चलनलाई त्याग गर्दै बेबी सावरको नाम दिएर सुत्केरी हुन लागेकी श्रीमतीको पेटमा श्रीमान्ले म्वाइँ खानै पर्दछ किनभने यो परम्परा अंग्रेजहरूको हो । हाम्रा संस्कृतिमा के अर्थ छ र ? उनीहरूका पछि लागे पो आधुनिक र विकसित भइन्छ भन्नेहरूले डेरा जमाउँदै जानथालेका छन् र हामी दशैँ जस्तो व्यापक महिमा बोकेको पर्वलाई पनि पन्छाउने प्रयत्न गर्दैछौँ भने यसभन्दा दयनीय केही हुँदैन ।

सबैको चाहना छ कि यो दशैँमा अरूलाई भूइँमा घुँडा टेकाएर आफू गद्दीमा बसी टीका प्रदान गरिएको देख्न नपरोस् । छोरा सिंहासनमा बसेर टीका थाप्ने र उभिएका बुढा बाबुले टीका लगाइदिएको पनि अवश्यै देखिने छैन । बाबुले टीका लगाइदिएपछि छोराले मुड्की बजारेर अभिवादन गरेको पनि टेलीभिजनहरूले प्रसारण गर्न पाउने छैनन् । हाम्रो संस्कृति, परम्परा, संस्कार जे जस्तो छ, त्यसैको प्रबद्र्धन हुने गरी दशैँ मनाइनेछ ।

दशैँमा दुर्गा एवं देवीहरूको उपासना गरेर शक्तिको उपासक बन्ने प्रयत्न गर्ने अभिप्राय त छँदैछ नै यसका अलावा यसको सामाजिक एवं सांस्कृतिक महत्व त्यत्तिकै महत्वपूर्ण छ । आफूभन्दा ज्येष्ठ एवं वरिष्ठबाट टीका थाप्दै आशीर्वाद ग्रहण गरेर नयाँ स्फूर्तिका साथ जीवन निर्वाह प्रारम्भ गर्ने समय पनि यही दशैँ नै हो । भ्रातृत्व एवं बन्धुत्वमा प्रगाढ सम्बन्ध कायम गर्दै सामाजिक एकताको सन्देश दिने चाड पनि दशैँ नै हो । विगतका मनोमालिन्यलाई तिलाञ्जलि दिँदै सम्बन्धमा आएका दरारहरूलाई विसर्जन गर्दै सुमधुर सम्बन्ध कायम गर्न प्रारम्भ गर्ने पर्व पनि यही दशैँ नै हो । त्यसैले आउँदो असोज १९ गतेको टीकालाई भव्य रूपमा सम्पन्न गरौँ । शुभ विजया दशमीका सुअवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?