अपराधिक घटना नियन्त्रणमा भोजपुरमा विशेष सुरक्षा योजना

Read Time = 3 mins

-निरोज कोइराला
भोजपुर । चाडपर्वका बेलामा हुन सक्ने अपराधिक घटनाहरु न्युनीकरणका लागि भोजपुरमा सुरक्षा निकायबाट बिशेष योजना बनाईएको छ ।

जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटनाहरु हुन नदिन जिल्लातहका सवै सुरक्षा निकायहरुसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । प्रजिअ घिमिरेले भन्नुभयो, “निर्वाचन समेत नजिकिदै गएको साथै दशै तिहार लगायतका चाडपर्वहरुलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छौ ।”

चाडपर्वका बेलामा कुनै पनि घटनाहरु जिल्ला भित्र हुन नदिन बिशेष सुरक्षा योजना अपनाईने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो । प्रहरी प्रमुख डिएसपी क्षेत्रीले भन्नुभयो, “चाडपर्वका समयमा अपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई निरुत्साहित गर्न जिल्ला प्रहरी कार्यालयले मातहतका सवै प्रहरी युनिटहरुलाई परिचालन गरेको छ ।” नागरिक सुरक्षा प्रहरीको पहिलो कर्तब्य भएकाले प्रहरीले आफनो युनिटलाई सोही अनुसार परिचालन गर्ने प्रहरी प्रमुख डिएसपी क्षेत्रीको भनाई रहेको छ ।
भोजपुरमा जिल्ला प्रहरी कार्यालय सहित ३७ वटा प्रहरी युनिटहरु छन । जसमा सात वटा इलाका प्रहरी कार्यालय, १८ वटा प्रहरी चौकी, तीन वटा अस्थायी प्रहरी चौकी, तीन वटा अस्थायी प्रहरी पोस्टहरु छन । चाडपर्वका बेलामा बढी घटना घटने भएकाले प्रहरीलाई पनि सजग गराईएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सवै सरकोरवाला निकायहरुसँग छलफल समेत गरिएको जनाएको छ । चाडपर्वका समयमा केही समस्या परेमा जिल्ला प्रहरी कार्यालयले प्रहरीसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

यता जिल्लाको सुरक्षा स्थिती मजवुत बनाउन सशस्त्र प्रहरी बल समेत परिचालन हुने छ । सशस्त्र प्रहरी बल नम्वर ५ गुल्म टक्सारले पनि जिल्ला तहको शान्ति सुरक्षाका लागि प्रहरीसँग समन्वय गरी काम गर्ने सशस्त्र प्रहरी बल नम्वर ५ गुल्म टक्सारका प्रमुख डिएसपी दिनेश श्रेष्ठले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?