आधुनिकताको प्रभाव गाउँघरमा : हराउन थाल्यो रातो र कमेरो माटोले घर पोत्ने प्रचलन

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

डम्मर बुढा मगर/बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-४ की फुर्सी विकलाई दशैँकोे घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घरमा पुर्‍याउन भ्याइनभ्याई हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पुर्‍याइदिएबापत दशैँ खर्च पाउनु हुन्थ्यो । तर, दुई वर्षयता उहाँलाई दशैँ खर्च जोहो गर्न मुस्किल भएको छ । गाउँमा खर र ढुंगेघर विस्थापित हुँदै गएपछि रातो र कमेरो माटोले घर पोत्न छोडिसके ।
घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आउनुभएकी विकले पेशा परिवर्तन गर्ने सोंचमा हुनुहुन्छ । ‘मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुँनै छोड्यो, १५/२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै (पोत्न) छोडिसके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरू पेशा गर्नुपर्ने भयो ।’

विकले दशैँ–तिहारबाहेक अरू बेला गाउँलेका घरमा माटो पुर्‍याउने गरेकोमा अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको बताउनु हुन्छ । उहाँले दशैँका बेलामा पाँच सयदेखि आठ सय बोरा माटो गाउँलेका घरमा पुर्‍याउने गरेको स्मरण गर्दै अहिले एक सय बोरा पनि बिक्री हुन छोडेको बताउनुहुन्छ । ‘मैले दशैँमा मात्रै माटो बेचेर १५ देखि २० हजार आम्दानी गर्थेँ, अहिले वर्षभरीमा १५ हजार पनि कमाई हुँदैन, गाउँभरी टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरूले मेरो माटो के को किन्थे,’ विकले भन्नुभयो, ‘पहिले-पहिले रातोमाटो र सेतो कमेरोले घर पोत्दा गाउँनै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले माटो प्रयोग हुनै छोड्यो ।’ गाउँमा परम्परागत ढुंगा, काठ र माटोले बनेका घर विस्थापित हुनथालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको निसीखोला–२ की फुलमाया कुँवरले बताउनुभयो । ‘गाउँलले घर, आँगन लिपपोत गर्न थाले भने दशैँैँ आएको आभाष हुन्थ्यो, घर लिपेपछि घटस्थापनाका दिनमा जमरा राख्ने गरिन्थ्यो, अहिले त बजारबाट रंग किनेर ल्याएर लगाउँछन्, माटोेको प्रयोग हुनै छोड्यो’, कुँवरले भन्नुभयो ।

उहाँले आधुनिकताले परम्परालाई विस्थापित गर्न थालेको भन्दै दशैँकोे रौनक पनि हराउँदै जान थालेको बताउनुभयो । माटो र कमेरो गाउँले जनजीवनसँग जोडिएको भन्दै देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्थामा पुगेको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘माटो र कमेरो गाउँलेहरूको जनजीवनसँग जोडिएको छ, पहिले गाउँका सबै घर रातो र सेतो माटोले पोतिएका हुन्थे, टाढाबाट देख्दा गाउँले परिवेश झल्किन्थ्यो, आधुनिकताले सबै मेटाउन थाल्यो, पछिल्लो पुस्ताले देख्नै पाउने छैनन् ।’

केही वर्षअगाडिसम्म निसीखोला गाउँपालिका-४ को बडाचौरमा रातोमाटो ल्याउन आउनेको भिड लाग्ने गथ्र्यो तर पछिल्लो दुई वर्षदेखि कम भएको स्थानीय बलबहादुर खत्रीले बताउनुभयो । पछिल्लो समय गाउँमा ढुंगे घरमा समेत कृतिम रंग लगाउन थालेपछि माटो र कमेरोको प्रयोग कम हुँदै गएको खत्री बताउनुहुन्छ । ‘यो ठाउँमा माटो लिन आउनेको भिड लाग्थ्यो, दशैँको बेलामा त झन् पालो गरेर माटो लैजानुपर्ने अवस्था थियो, अहिले मान्छेहरू आउनै छाडे’, खत्रीले पुरानो माटो निकालिएको ठाउँ देखाउँदै भन्नुभयो, ‘यहाँबाट सयौँ बोरा माटो निकालेर टाढा पु¥याउँथे, यो गाउँका मात्रै होइन, धेरै गाउँबाट मान्छे माटो ल्याउन यहाँ आउने गर्थे ।’ अहिले गाउँमा खर र ढुंगाका घर विस्तारै हराउँदै गएको भन्दै सिमेन्ट र जस्तापाताले बनेका घर बढिरहेको उहाँको भनाइ छ । पहिले विद्यालयका भवन माटो र काठले बनेको हुँदा दशैँका बेला माटोले लिप्ने गरेको खत्रीले स्मरण गर्नुभयो ।

बागलुङका १० वटै स्थानीय तहहरूले खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन् । सो अभियान गाउँमा भएका पुराना खरका छाना हटाएर जस्तापाताले छाउन थालेका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगायत पालिकामा खरका घर पूर्णरूपमा विस्थापित भएका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?