बडादशैँको हार्दिक शुभकामना

हिमालय टाइम्स
Read Time = 6 mins

नेपाली र नेपाली संस्कार संस्कृतिको पालना गर्दै आएका सनातनीहरू अहिले दशैँको बिचोबीचतिर छौँ । आज पञ्चमी तिथि भइसकेको छ । यस क्रममा सबै नेपाली दशैँको तयारीमा जुटिरहेका छौँ । कसैलाई राम्रा लुगा र कसैलाई मीठो खाने सरसामग्रीको जोहो गर्नु परेको छ भने कोही दशैँलाई नै सन्दर्भ बनाएर परिवारसँग भेटघाट गर्नकै लागि विदेशदेखि आइरहेका छन् । उपत्यकामा रहेका उपत्यका बाहिरका नागरिकहरूलाई केकसरी घर पुग्ने भन्ने चिन्ता छ । यातायातका साधनहरूको पर्याप्तता नहुनाले यात्रामा समस्या सिर्जना भएको हो ।

उपलब्ध भएका सवारीसाधनहरूले मौका छोपेर चर्को भाडा असुल्ने भएका कारण सामान्य कमाइ हुने वा कुनै पनि कमाइ नभएकाका लागि चाड पर्व भनेको एक प्रकारले तनाव सिर्जना गर्ने समय बन्ने गरेको छ ।

कसैकसैले त यस्ता पर्वका बेला परिवारजनका आवश्यकता परिपूर्ति गरिदिन नसकेको आत्मग्लानिमा आत्महत्यासम्म गरेका छन् । त्यसकारण पर्वलाई भड्किलो र खर्चिलो बनाउनुको सट्टा आपूmसँग जे जस्तो छ त्यसैमा रमाउने प्रवृत्ति विकास गर्न सके दुःखदायी अवस्थाहरू आउने थिएनन् । हिन्दुहरूको महान् चाड दशैँ वास्तवमा महान् नै बन्नुपर्छ यो दशा बन्नु हुँदैन । आजकाल त चाडपर्व, रीतिसंस्कृति, भेषभूष, खानपान जस्ता कुरा सबैका साझा बन्दै गइरहेका छन् । दशैँभन्दा पनि तीज तथा तिहार त सम्पूर्ण नेपालीले समान ढंगले बनाउँदै आएका छन् र पछिल्लो समयमा यो प्रचलन अझै वृद्धि हुँदै गइरहेको छ ।

दशैँलाई वास्तवमा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको चाडका रूपमा लिइन्छ । हाम्रा पौराणिक धर्मग्रन्थहरूमा यससम्बन्धी दुईवटा प्रसंगहरू जोडिएर आउने गरेको पाइन्छ । पहिलो हो देवीले दैत्यलाई मारेको सन्दर्भ । देवीले महिसासुरको बध गरेको दिन सबैले विजय उत्सव मनाएको मानेर आजका दिनसम्म हिन्दुहरूले त्यसको सम्झना र अनुशरण गरिरहेका छन् । अर्को सन्दर्भ भगवान रामले आसुरी शक्तिको पर्याय लंकाका राजा रावणलाई मारेको सम्झनामा दशैँ मनाइने गरेको भनिएको छ । देवता भनेका दैवी शक्ति र दैत्य वा दानवहरू भनेका आसुरी शक्तिका प्रतिनिधि हुन् । यसलाई विज्ञहरूले आफैँभित्रको खराब तत्वमाथि विजय गर्नुपर्ने दिनका रूपमा पनि लिएका छन् ।

तर, विडम्बना हाम्रो देशका अति उग्र सोच भएका केही व्यक्ति र व्यक्तिवादी संगठनले यसलाई क्षेत्री-बाहृमणको चाडका रूपमा प्रचार गर्दै दशैँ बहिष्कार गर्ने प्रयोजित अभियान चलाउँदै आएका छन् । यस्ता तत्वले अनर्गल भ्रम सिर्जना गर्ने गरेका छन् तर माओवादी सशस्त्र विद्रोहका बेला रातो टीका निधारमा लाएको देख्नासाथ त्यस्ताको हत्या गरिनेछ भनेर चलाएको हल्लालाई समेत बेवास्ता गरेर आ-आफ्ना सनातन चाड मनाउँदै आएका नेपालीहरूले आफ्ना रीति, संस्कृति र पर्वहरू मनाउन कसैको भड्काउका कारणले मात्र छोड्ने छैनन् ।
नेपाल सरकारले पञ्चायतका समयमा दशैँमा पन्ध्र दिन बिदा दिने गरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विभिन्न जनजातिका पर्वलाई पनि प्राथमितामा राख्ने क्रममा दशैँको विदामा कटौती गरिएको छ तापनि सरकारले अरू पर्वमा भन्दा दशैँमा बढी बिदा दिने गरेको छ । दशैँमा सरकारले कर्मचारीलाई एक महिना बराबरको थप तलब दिँदै आएको छ । सबैतिरका जनताले सहज तरिकाले दशैँ मनाउन सकून् भन्ने हेतुले विभिन्न स्थानमा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने गरिन्छ । खाद्य संस्थानले उपत्यकाका जनताका लागि सरल मूल्यदरमा खसी तथा च्यांग्रहरू बिक्री गर्ने गरेको छ ।

विगत केही वर्षका दशैँहरू कोरोना महामारीले खल्लो बन्न पुगे । लुकेर र बन्दकोठामा दशैँ मनाउनु प¥यो । यस वर्ष सहज भएको छ भन्दाभन्दै पुनः डेंगुको संक्रमण फैलिन पुगेको छ । यसबाट ठूलो संख्यामा मानिस संक्रमित हुनपुगेका छन्, केही मानिसहरूको दुःखद् निधन पनि भएको छ । यस्तो अवस्थामा हामी पर्व माउँदैछौं । त्यसैले सकेसम्म बढी सतर्कता अपनाएर सकेसम्म बढी आनन्द लिएर दशैँ मनाऔँ ।

सबैजना स्वस्थ रहौँ र स्वस्थ रहेरै यथेष्ट खुशीका साथ दशैँ मनाऔँ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा नेपाली मूलका सबै व्यक्तिहरूमा २०८९ सालको विजया दशमीका साथै निकटमै हामीसामु आइरहेका शुभदीपावली, नेपाल सम्वत्, छठलगायत सम्पूर्ण पर्वको हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?