दशैँ पर्वमा देवीको पूजा आराधना

Read Time = 13 mins

✍️ तोयराज नेपाल

वर्ष दिनका चाडपर्वमध्ये दशैँ नेपालीहरूको ठूलो पर्व हो । यस पर्वकी प्रधान देवता शक्ति दुर्गा माता हुन् । त्यसैले दशैँमा शक्तिस्वरूपा दुर्गामाताको आराधना गरिन्छ । शक्त्वाया विना शिवोऽपि शव एवं अर्थात् शक्तिको सहयोग नभई शिवले पनि केही गर्न सक्नुहुन्न भनेको छ । शक्त्यधीनं जगत् सर्वम् अर्थात् कुनै पनि कार्य गर्न शक्तिको नै आवश्यकता हुन्छ । मानिसले केही काम गर्नुपर्ने छ भने आज मसँग यो काम गर्ने शक्ति छैन भन्दछन् र त्यो काम हुन सक्तैन। वर्ष दिनसम्म धेरै काम गर्दा शक्ति क्षीण हुने र अरू धेरै काम गर्न शक्तिको आवश्यकता हुने भएकाले कम्तीमा वर्षको एकपटक शक्तिको आराधना गर्ने गरिएको हो ।

केराको पात, दारिम, धानका बाला भएको बोट, हलेदो, मानक (माने), कचु जसलाई कच भनिन्छ, बेलको पातसहितको हाँगो, अशोक र जयन्ती गरी नौ किसिमका फूल र पातहरूलाई नवपत्रिका फूलपाती भनिन्छ । अष्टमीका दिनलाई महाष्टमी भनिन्छ ।

यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दश दिनसम्म हो । दशैँका नौ दिनसम्म शक्तिको आराधना गरिन्छ । नाम, रूप र गुणका भेदले शक्तिका अनेक रूप छन् । दशैँमा नव दुर्गाको पूजा आराधना गरिन्छ । नवदुर्गाको नाम यस प्रकार छ-
प्रथमं शैलपुत्री च द्वितीयं ब्रहृमचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीती च ।
सप्तमं कालरित्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धदात्री च नवदुर्गाः प्रकीर्तिताः।।
१– शैलपुत्री, २–ब्रहृमचारिणी, ३– चन्द्रघण्टा, ४–कूष्माण्डा, ५– स्कन्दमाता, ६–कात्यायनी, ७– कालरात्री, ८–महागौरी र ९– सिद्धिदात्रीसमेत नव दुर्गाको आराधना गरिन्छ । यसमा पहिलो दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । यसदिन पहिले दियो, कलश र गणेशको पूजा गरी जमरा राखेर घटस्थापना गरी (अर्को कलश स्थापना गरी) दुर्गा स्थापना गरिन्छ । प्रथम दिन शैलपुत्री दु्र्गाको आराधना गरिन्छ । पूजाका अन्त्यमा कुभिण्डो, नरिवल आदि फल फूलको बलि दिनुपर्दछ । त्यसपछि ब्राहृमण वरणर गरी सप्तशती चण्डी पाठ आरम्भ गरिन्छ । अथवा संकल्प गरी आफैँ चण्डीपाठ गरे पनि हुन्छ । चण्डीपाठ प्रतिपदादेखि नवमीसम्म नौ आवृत्ति गरिन्छ । यसैक्रमले प्रतिदिन पूजा गरी चण्डीपाठ गर्नुपर्दछ । द्वितीयाका दिन ब्रहृमचारिणीको, तृतीयामा चन्द्रघण्टाको, चतुर्थीमा कूष्माण्डाको, पञ्चमीमा स्कन्दमाताको, षष्ठीमा कात्यायनीको, सप्तमीमा कालरात्रीको, अष्टमीमा महागौरीको र नवमीका दिन सिद्धिदात्री नामकी दुर्गाको पूजा आराधना गरिन्छ । यसैबीच षष्ठीका दिन भद्रकाली देवीको आराधना गरिन्छ । षष्ठीका दिनमा नै बिल्व निमन्त्रणा गरिन्छ । बिल्व निमन्त्रणा भनेको बेलका वृक्षमा पूजा गरी म भोलि हजुरको हाँगो देवीपूजाका लागि लानेछु भनी प्रार्थना गरी निम्ता गरिन्छ । सप्तमीका दिनमा सरस्वतीको आवाहन र पूजाआराधना गरिन्छ । सप्तमीका दिनलाई फूलपातीको दिन भनिन्छ । यसदिन बेलसमेत नवपत्रिका (फूलपाती ) भित्र्याउनेर तिनको पूजा गर्ने गरिन्छ । नवपत्रिका भनेका के के हुन् भने–
कदली दाडिमी धान्या हरिद्रा मानकं कचु ।
बिल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिकाः ।।
अर्थात् केराको पात, दारिम, धानका बाला भएको बोट, हलेदो, मानक (माने), कचु जसलाई कच भनिन्छ, बेलको पातसहितको हाँगो, अशोक र जयन्ती गरी नौ किसिमका फूल र पातहरूलाई नवपत्रिका फूलपाती भनिन्छ । अष्टमीका दिनलाई महाष्टमी भनिन्छ । यसदिन दुर्गाको आवाहन र पूजा आराधना गरिन्छ । अनि अष्टमीका रात्रीमा कालरात्रिविधि गरिन्छ । पशुबलि दिनेले यस दिन विधिपूर्वक पशुबलि दिने गर्दछन् । विधि पुगेन भने यसबाट उल्टो फल प्राप्त हुन्छ । पशुबलि दिन ब्रहृमण जातिलाई निषेध छ ।
बलिमांसादिपूजेयं विप्रवज्र्या मयेरिता ।
तेषां किल सुरामांसैर्नाेक्ता पूजा नृप क्वचित् ।। भनेर वैकृतिक रहस्यमा ब्राहृमणलाई पशुबलि गर्न निषेध गरिएको छ । ब्राहृमणले बलि दिँदा– कूष्माण्ड, नरिवल, बेल, घिरौँलो, केरा, काँक्रो, ऊखु, मूला, आदि फल फूल र कन्दमूलको बलि दिनुपर्दछ । कूष्माण्ड आदि बलि प्रत्येक दिन दिएर पाठ आरम्भ गर्नुपर्दछ । नवमीका दिनलाई महानवमी भनिन्छ । यसदिन त्रिशूलिनी भगवतीको आवाहन गरी पूजा आराधना गरिन्छ । त्यस दिन दुई वर्षदेखि दशवर्षसम्मका नवोटी कन्याको पूजा गर्नुपर्दछ । सक्नेले प्रत्येक दिन दुई वर्षदेखि दशवर्षका कन्याको पूज गर्नुपर्छ । त्यसै दिन नौ आवृत्ति चण्डीपाठ समाप्त हुन्छ र यसको हवन गरिन्छ । हवन सप्तमी, अष्टमीतिर गरे पनि हुन्छ । दुर्गा पूजाका दिनमा अग्नि जुराउनु पर्दैन । दशमीका दिनलाई विजया दशमी भनिन्छ । यसदिन जया, विजया र अपराजिताको पूजा आराधना गरिन्छ । अनि दशमीका दिन देवीको विसर्जन गरिन्छ । विसर्जनपछि नयाँ वस्त्र लगाई देवीको प्रसाद स्वरूप टीका र जमरा लगाइन्छ । यो टीका जमरा लगाउने चलन नेपालका पूर्वी र मध्य भागका धेरै ठाउँमा पूर्णिमाका दिनसम्म छ भने पश्चिमी भागमा कतिपय ठाउँमा टीकाका दिन राति १२ बजेसम्म मात्र लगाउने चलन छ । यसरी दुर्गा भगवतीको उत्सव गरी शक्तिसञ्चय गर्ने दशैँ महŒवपूर्ण पर्व हो । दुर्गामाताले स्वयं भन्नुभएको छ– शरत्काले माहा पूजा क्रियते या च वार्षिकी ।
तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्ति समन्वितः।।
सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वितः ।
मनुष्यो मत्प्रसादेन भविष्यति नसंशयः ।। अर्थात् शरद् ऋतुमा जसले भक्तिपूर्वक मेरो महापूजा आराधना गरी यो सप्तशती चण्डी पाठ गर्दछ त्यसका सम्म्पूर्ण दुःख कष्टहरू नाश हुन्छन् । धनधान्य सुख ऐश्वर्य प्राप्त हुन्छ । रोग, व्याध र शत्रु नाश भई जीवन आनन्दमय हुन्छ भनेर देवीले नै भन्न्नुभएको हुँदा दशैँ पर्वमा देवीको आराधना गरी चण्डीपाठ गरेर शक्ति सञ्चय गरौँ ।
यो दशैँ पर्व भनेको आसुरी शक्तिमाथि दैवीशक्तिको विजय भएको उपलक्षमा चलेको मानिन्छ । कारण अघि रावणको अत्याचारबाट त्रस्त जनताको र उसले हरिएकी सीताको समेत उद्धार गर्न रामचन्द्रले दुर्गाशक्तिको आराधना गरी भगवतीको प्रसादस्वरूप टीका तथा जमरा ग्रहण गरेर रावण विजयका लागि यात्रा गरेको दिन र त्यसै यात्राका क्रममा रावणमाथि विजय प्राप्त गरेको हुँदा आश्विनशुक्ल दशमीलाई विजया दशमी भनिएको हो । मधु र कैटभ दैत्यहरूको अत्याचारबाट त्रस्त ब्रहृमजीले भगवतीको आराधना गरेको र विष्णुले ती दैत्यमाथि विजय प्राप्त गर्नुभएको थियो । साथै महिषासुर र शुम्भनिशुम्भको अत्याचारबाट देवताहरूले भगवतीको आराधना गरी भगवतीले महिषासुर र शुम्भनिशुम्भमाथि विजय गर्न यात्रा गरेको आदि वर्णनबाट पनि आसुरीशक्तिमाथि दैवी शक्तिको विजय गर्न भगवतीको आराधना गरिएका प्रंगसबाट यसदिनको विजया दशमी नाम सार्थक भएको छ ।

उसले हरिएकी सीताको समेत उद्धार गर्न रामचन्द्रले दुर्गाशक्तिको आराधना गरी भगवतीको प्रसादस्वरूप टीका तथा जमरा ग्रहण गरेर रावण विजयका लागि यात्रा गरेको दिन र त्यसै यात्राका क्रममा रावणमाथि विजय प्राप्त गरेको हुँदा आश्विनशुक्ल दशमीलाई विजया दशमी भनिएको हो ।

फेरि सुरथ राजाले भगवतीको आराधना गरेर शत्रुद्वारा खोसिएको राज्य पुनः प्राप्त गरे भने समाधिनामक वैश्यले श्रीमती तथा छोराहरूद्वारा अपहेला गरी घरबाट निकालिएपछि भगवतीको आराधना गरेर मोक्ष प्राप्त गर्ने ज्ञान प्राप्तगरी मोक्ष भए । युधष्ठिरादि पाण्डवहरूले छलयुक्त जुवाद्वारा खोसिएको राज्य भगवतीको आराधना गरेर युद्धद्वारा जितेर पुनः प्राप्त गरेका थिए । सत्राजित् द्वारा लगाइएको मिथ्यापवाद मेटाउन कृष्णद्वारा सत्राजितका भाइ प्रसेन र मणिको खोजीमा जाँदा अठ्ठाईस दिनसम्म जाम्बवान्सँग युद्ध गर्दा कृष्ण हराएकामा चिन्तित भई वसुदेव र देवकीले कृष्ण छिटै आउन् भनेर भगवतीको उपासना गरेका हुँदा उपासना सकेकै दिन कृष्णजी आउनुभएको थियो । भगवतीको उपासनाद्वारा आफ्ना मनोकामना पूरा भएका धेरै उदाहरण छन् । केहीमात्र याहाँ प्रस्तुत गरिएका हुन् । जेहोस् भगवती दुर्गामाताको उपासना गर्दा मानिसलाई अवश्य कल्याण हुने कुरामा सन्देह छैन । त्यसैले हामी पनि श्रद्धा एवं भक्तिद्वारा भगवतीको उपासना गरौँ, हाम्रा मनोकामनाहरू पूर्ण हुनेछन् । ॐ दुर्गायै नमः ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?