रेसुङ्गा नगरपालिकाले गर्यो आँखाका बिरामीहरूको निःशुल्क उपचार

हिमालय टाइम्स
Read Time = 5 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आँखाका बिरामी नागरिकहरुको निःशुल्क उपचार गरिदिएको छ । नगरपालिका भित्रका आँखाका बिरामीहरुको निःशुल्क उपचार गर्ने कार्यपालिकाकामा भएको निर्णय अनुसार नागरिकहरुको आँखाको निःशुल्क उपचार गरिएको हो ।

अहिलेसम्म १६ जना आँखाका बिरामी बृद्धबृद्धाहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । आँखाका बिरामीहरुको सम्पूर्ण आर्थिक जिम्मा नगरपालिकाले लिएको छ । साउन महिनामा आठ जना, भदौ महिनामा चार जना र असोज महिनामा चार जना बृद्ध बुवाआमाहरुको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

‘आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेर चस्मा लगाएर बृद्ध बुवाआमाहरुले आँखाले प्रष्ट रुपमा देख्न सक्नुभएको छ ।’ नगरप्रमुख पन्थीले भन्नुभयो, ‘यो एउटा महत्वपूर्ण काम हो । यो कामले निकै नै हौसाला मिलेको छ । गरिब, दिनदुखी, बृद्ध बुवाआमाहरु र नागरिकको पक्षमा काम गर्न आएका हौं । सधै रेसुङ्गाबासी नागरिकको पक्षमा काम गनेछौं ।’

आँखाका बिरामी नागरिकहरुको निःशुल्क शल्यक्रिया गर्नका लागि केहि समयअघि रेसुङ्गा नगरपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास बीच सम्झौता भएको नगरप्रमुख पन्थीले बताउनुभयो । ‘जिल्लाभरीकै आँखाका बिरामी हुनुभएका बृद्ध बुवाआमाहरुले पनि सजिलै उपचार पाउनुहुनेछ ।’ उहाँले भन्नुभयो, ‘जिल्लाका अन्य स्थानीय तहले पनि महत्वपूर्ण कामको अनुशरण गर्नुहुनेछ ।’ बृद्ध बुवाआमाहरुलाई नियमित औषधि र चस्माको प्रयोग गर्न नगरप्रमुख पन्थी आग्रह गर्नुभयो ।

‘आँखाको उपचारबाट प्रष्टरुपमा बाहिरी संसार देख्न पाउँदा, सबैलाई प्रष्टरुपमा चिन्न पाउँदा आफुहरु निकै खुसी भएका छौं ।’ बृद्ध बुवाआमाहरुले भन्नुभयो, ‘अब कुनै पनि बस्तुलाई सजिलै के कस्तो भनेर छुट्याउन सक्ने बनाउनु भएकोमा नगरपालिकालाई विशेष धन्यवाद छ ।’

यता, इस्मा गाउँपालिकाले पनि बृद्ध बुवाआमाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क रुपमा शल्यक्रिया गरिदिएको छ । गाउँपालिका प्रमुख भगत सिंह खड्का अनसार छ जना बृद्ध बुवाआमाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क रुपमा शल्यक्रिया गरिएको हो । भदौ महिनामा दुई जना र असोज महिनामा चार जना बृद्ध बुवाआमाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क रुपमा शल्यक्रिया गरिदिएको उहाँले बताउनुभयो । इस्माका आँखाका बिरामी भएका सबै नागरिकको पालिकाले उपचार गर्ने उहाँको भनाई छ ।

त्यस्तै, आँखा उपचार केन्द्र तम्घासमा आई रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिका बाहेक अन्य अरु स्थानीय तहले आँखाका बिरामी नागरिकहरुको निःशुल्क उपचार गर्छौ भनेर समन्वय र सहकार्य नगरेको नेत्र अधिकृत सुर्य बहादुर बस्नेतले बताउनुभयो ।

यस जिल्लामा करिब ३५ सय नागरिकहरुमा आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार यहाँ प्रत्येक वर्ष सात सय मोतियाबिन्दुको शल्यक्रिया गर्ने आँखाका बिरामीहरु थपिने गर्छन् । यसलाई न्यूनीकरण गर्न हामीहरु लागेका छौं उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?