नुवाकोट । नुवाकोटको बेलकोटगढीका गाउँ–गाउँमा अवैध ढुंगाखानी सञ्चालन भएका छन् । दर्ताबिनाको ढुंगाखानी चलाएर ठेकेदारहरूले स्थानीय स्रोतसाधनमाथि दोहनमात्र गरेका छैनन्, राज्यले पाउनुपर्ने करोडौं राजस्वसमेत छलेका छन् । अवैध खानी सञ्चालन गर्न चलाइएका स्काभेटरले वनपाखा रित्तिनुका साथै सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।
नुवाकोटको बेलकोटगढी-१३ मा बनिरहेको वाराही शक्ति मावि बडारे बस्नेत गाउँ सडकखण्डअन्तर्गतको सात किलोमिटर सडक अहिलेसम्म अलपत्र छ । सडक अलपत्र छाडेर ठेकेदारहरू अवैध खानी सञ्चालन गर्न लागेका छन् । नार्गाजुन कल्पवृक्ष निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडकका लागि यतिखेर सिँगारे खोलामा अवैध खानी सञ्चालन भइरहेको छ । सडक बनाउने जिम्मा पाएको नार्गाजुन कल्पवृक्ष निर्माण सेवा र त्यसका सञ्चालक रामबाबु जिसीले अवैध खानीबाट दैनिक एक सयभन्दा ट्रिप ढुंगा निकाल्ने गरेका छन् । तर, सम्बन्धित निकायको ध्यान यसतर्फ जान सकेको छैन ।
अवैध खानी सञ्चालन गरेको भन्दै जिसीविरुद्ध वडा कार्यालयमा उजुरीसमेत परेको छ । कानुनतः निर्माण व्यवसायीले सडकको काम गर्दा अवैध खानी सञ्चालन गर्ने र अवैध खानीको सामग्री किन्न पाउँदैनन् । नाफाका लागि गाउँमै अवैध खानीबाट ढुंगा झिक्ने र राज्यलाई फर्जी बिल दिएर रकम असुल्ने धन्दामा जिसी लागेका छन् । लालपुर्जा भएको जग्गामा किन खानी चलाउन पाइन्न भन्दै उनले कारबाही गरेर देखाउन चुनौतीसमेत दिने गरेका छन् । खोला, वन, बस्ती, हाइटेन्सनलगायतका क्षेत्र वरपर खानी खोल्न प्रतिबन्ध लगाइएको छ ।
जिसीको कम्पनीले बनाइरहेको वाल, ग्राभेलिङलगायतका काममा गुणस्तरहीन सामान प्रयोग भइरहेको इन्जिनियरहरूले नै बताउन थालेका छन् । पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियरले गुणस्तरहीन सामानको प्रयोग गरेर सडक निर्माण भइरहेको भन्दै पटकपटक उनलाई सचेत गराए पनि जिसीले त्यसको बेवास्ता गर्दै आएका छन् ।
आफूले निर्माण गरिरहेको सडकमा कमसल सामान प्रयोग भएको उनले स्विकारेका छन् । उनले आफूले धेरैतिर काम लिएकाले सडकको काम के भइरहेको छ हेर्नसमेत नपाइरहेको दाबी गरे । नुवाकोटमा दर्ता भएका धेरै खानी अवैध भएको भन्दै आफूले पनि खानी सञ्चालन गर्न पाउनुपर्ने दाबी गरे । ‘दर्ता गरेका खानी पनि मापदण्डअनुसार छैनन् । सडक बनाउन सामग्री धेरै टाढाबाट ल्याउन सम्भव भएन, त्यसैले ढुंगा निकालिएको हो, यसलाई ठूलो विषय नबनाउनुहोस्,’ उनले भने । अवैध खानी सञ्चालनका विषयमा वडा कार्यालयमा उजुरी र गुनासो आइरहेको वडाध्यक्ष नवराज पाण्डेले बताउनुभयो । उहाँले यो विषयमा आफूले पूर्वाधार कार्यालय र सम्बन्धित निकायसँग बुझिरहेको बताउनुभयो ।
सडक अनुगमनको जिम्मा पाउनुभएका बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले पनि अवैध ढुंगाखानी सञ्चालन गर्नु आपत्ति भएको बताउनुभयो । ‘बिनाअनुमति यदि कसैले ढुंगाखानी सञ्चालन गरेको हो भने त्यसलाई तत्काल रोक्नुपर्छ, कानुनी कारबाहीमा ल्याउनुपर्छ,’ दाहालले भन्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका