‘युद्ध साहित्य पनि पहिचानकै आन्दोलन हो’

कृष्ण भुसाल
Read Time = 17 mins

प्रसिद्ध कवि एवं युद्ध साहित्यका अभियन्ता नरेश काङमाङ राईको जन्म भोजपुरस्थित टेम्के मैयुङ गाउँपालिकामा भएको हो । आमा कृष्णकुमारी राई तथा बुबा कृष्णबहादुर राईका सुपुत्रका रूपमा जन्मिनुभएका नरेश काङमाङ साहित्यका सबै विधाका सशक्त हस्ताक्षर हुनुहुन्छ । २०४५ बाटै लेखनयात्रा प्रारम्भ गर्नुभएका उहाँका त्यसपछि थुप्रै फुटकर रचना प्रकाशित भए पनि ‘आँशुको दोभान’ नामक संयुक्त कविता संग्रह (विसं ०६१) पहिलो प्रकाशित कृति हो । त्यसपछि उहाँले क्रमशः ‘अनुहारमा लुकाइएका चोटहरू’ कविता संग्रह (विसं २०६५), ‘युद्ध बोकेको सिताङ’ युद्ध उपन्यास (विसं २०६८), ‘खुकुरीको धारमा ‘लाहुरेका युद्ध कथा र ब्यथाहरू’ (विसं २०७१), बेलायतको प्रकाशन हाउस ओलम्पियाबाट प्रकाशित ‘फियरलेस वरिवर (अंग्रेजी भाषामा) (सन् २०१५), ‘पप्पी फूल’ कविता संग्रह (सन् २०७४), ‘एघार नोभेम्बर’ कथा संग्रह (२०७६), ‘साखुङबारा’ किरात राई (२२ भाषी) हरूको जन्मदेखि मृत्यु संस्कार (२०७७) र ‘तेप्लायु’ कविता संग्रह (२०७८) जस्ता कृति पाठकमाझ ल्याउनुभएको छ । कुशल सम्पादकका रूपमा समेत काम गर्दै आउनुभएका काङमाङले विभिन्न स्रष्टाहरूसँग मिलेर थुप्रै सम्पादनका काम गर्नुभएको छ, जस्तैः कवि मिजास तेम्बेसँग ‘सीमाहीन बिम्बहरू’ कविता संग्रह (२०६३), मिजास तेम्बे र अप्जसे कान्छासँग ‘ग्रीनवीचका प्रतिध्वनिहरू’ कविता संग्रह (२०६६) अप्जसे कान्छासँग ‘युद्धमा हराएको प्रेम’ (पहिलो नेपाली युद्ध कविता संग्रह, मिजास तेम्बे र अप्जसे कान्छासँग ‘गोर्खा वार पोयम’ (अथर हाउस बेलायतबाट प्रकाशित (सन् २०१४), गणेश राई र अप्जसे कान्छासँग ‘युद्ध साहित्य र सिद्धान्त (२०६९), डा. रामनारायण कन्दङ्वासँग ‘गोर्खा सत्याग्रह’ (दस्तावेज सन् २०१४), कार्यकारी सम्पादकका रूपमा रहेर ‘ग्रीनवीच टाइम्स’ द्वैमासिक म्याग्जिन बेलायत (२०१२-२०१४), त्यसैगरी अंग्रेजी सम्पादक जेम्स इजिङ्गर र अप्जसे कान्छासँग कनराड प्रेस बेलायतबाट अंगे्रजीमा प्रकाशित साहित्यकार गणेश राईकृत ‘गोर्खा गन’ (२०२०) सम्पादन गर्नुभएको छ । ‘पहिचान पुरस्कार कोष’ का संस्थापक, ‘भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक सचिव, युद्ध साहित्य पुरस्कारका संस्थापक साथै ‘नवप्रतिभा युवा क्लब, नागी-४ भोजपुर फुटबल ग्राउण्डका निर्मातासमेत रहनुभएका काङमाङ नरेशसँग हिमालय टाइम्सको ‘हिँड्दा हिँड्दै’ का लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी:-

तपाईं नेपाली युुद्ध साहित्यको प्रवद्र्धक हुनुहुन्छ, युद्ध साहित्यका सीमाहरू के-कति हुन् ?
युद्ध केन्द्रित विषयमा लेखिएको साहित्य नै युद्ध साहित्य हो । यद्यपि हिंसा, आन्दोलन र युद्ध नितान्त फरक कुरा हो । यसर्थ, युद्ध साहित्यको सीमा यहीँनेर छुट्टिन्छ । अर्को कुरा युद्ध एउटै हुन्छ तर यसका चरण तीनवटा हुन्छन्, जस्तोः युद्धअघिको तयारी, युद्धमा होमिँदाको स्थिति र युद्धपछिको परिणति । त्यसो त विशुद्ध युद्धसँग जोडिएका घट्नाक्रमहरू र त्यसले समाज, राष्ट्र र विश्वमा पारेका प्रभावहरूको विषयमा लेखिएका युद्ध साहित्यका सीमाबारे अझै बृहत् बहस चलाउनुपर्ने आवश्यकता छ ।

युद्ध साहित्यलाई प्राज्ञिक निकायले कसरी हेरेको पाउनुहुन्छ ?
नेपाली साहित्यमा एउटा केन्द्रियता भन्ने कथित मानक छ । जसले सीमान्तकृत वा मार्जिनलाइज समाजको विषयमा लेखिएका विषयलाई ग्रहण र अध्ययन गरेको पाइँंदैन । दूरदराजमा बसेर लेखिरहेका लेखकहरूलाई लेफ्टिज, राइटिज र नयाँ विषयमा लेखिरहेका लेखकहरूले पनि स्विकार्न कन्जुस गर्छन्, कारणः प्राज्ञिक निकायहरूले खस नेपाली भाषामा लेखिएका साहित्यलाई प्राथमिकतामा राखेका मात्रै नभएर प्राध्यापकीय दृष्टिकोणको जुवासमेत भिराउँदै आएका छन् । अनि किराँत भूमिमा लेखिएका साहित्यबाट आएका भाषिक सौन्दर्यात्मक आयामहरूलाई सजिलै कसरी ती प्राज्ञिक निकायहरूले स्विकार्छन् त ? यस्तो स्थितिमा युद्ध साहित्यलाई त झन् सजिलै ग्रहण गर्छ भन्ने नै लाग्दैन । यद्यपि पछिल्लो समय भने युद्ध साहित्यलाई सकारात्मक ढंगले हेरिँदैछ, जसले गर्दा आशा गर्ने ठाउँ पलाउँदै आएको छ ।

कति युद्धमै हराए । जसको आधिकारिक खबर बेलायत र नेपालले तिनका परिवारलाई अहिलेसम्म दिएका छैनन् । यसैको उत्तरको खोजी पनि हो युद्ध साहित्य ।

कति युद्धमै हराए । जसको आधिकारिक खबर बेलायत र नेपालले तिनका परिवारलाई अहिलेसम्म दिएका छैनन् । यसैको उत्तरको खोजी पनि हो युद्ध साहित्य ।

युद्ध साहित्य आफैंमा के हो ?
युद्धले विध्वंसमात्र गर्दैन निर्माण पनि गर्छ । यसर्थ, युद्ध सकारात्मक बिम्ब पनि हो । हिजो दोस्रो विश्वयुद्धमा धुलामय भएका जापानका दुई शहर हिरोसिमा र नागासाकी आज विश्वको फूलबारीका रूपमा उदाए । त्यसैले युद्ध सिर्जना पनि हो । नेपाली साहित्यमा युद्ध साहित्य पनि पहिचानको मुख्य आन्दोलन हो, जसले पहिचानको खोजी गर्छ । जसरी २०८ वर्षदेखि बेलायती सेनामा कार्यरत ६० हजारको हाराहरीमा आदिवासी नेपाली युवाहरूले वीरगति प्राप्त गरे । कति युद्धमै हराए । जसको आधिकारिक खबर बेलायत र नेपालले तिनका परिवारलाई अहिलेसम्म दिएका छैनन् । यसैको उत्तरको खोजी पनि हो युद्ध साहित्य । अर्को विषय के हो भने विश्वमा युद्ध साहित्यहरू प्रशस्त लेखिँदै आए । २०८ वर्षसम्म नेपाली लाहुरेहरूले लड्दै आएको युद्धको विषयमा भने छिटफुटमात्र लेखियो । त्यसैले आफ्नो विषयमा आफैंलै लेख्नुपर्छ भन्ने आहृवान र अभियान हो युद्ध साहित्य । अझ भनौं पहिचानको आन्दोलनमा पहिचानको खोजी नै युद्ध साहित्य हो ।

पछिल्लो समय त सांस्कृतिक कविताहरू बढी लेख्न थाल्नुभयो नि, यसको कुनै खास कारण छ कि ?
हाम्रा रैथाने बाउ, बाजेहरू जो युद्धमा धेरैभन्दा धेरै मारिए वा हराए । उहाँहरूको अन्त्यसँगै हाम्रो संस्कृति लोप हुँदै गएको आभास हुन थालेपछि तिनै संस्कृतिको सम्वद्र्धन गर्न यतिखेर म अलि बढी सांस्कृतिक विषयहरूमा लेखिरहेछु ।

अहिले चर्चामा रहेको तपाईंको कविता संग्रह ‘तेप्लायु’ ले उठाएका सामाजिक, राजनीतिक मुद्दाहरू के-के हुन् ?
‘तेप्लायु’ कविता संग्रहमा मूलतः युद्ध साहित्यकै उठान छ । सामाजिकरूपमा लाहुरेहरूलाई हेरिने गलत दृष्टिकोणलाई सकारात्मक भएर हेर्न सक्नुपर्छ भन्ने आवाज छ । हिजो गोर्खा भर्ती पठाउन नसकिरहेको अवस्था थियो । भक्ति थापाले लडिरहँदा गोर्खा भर्ती पठाउनका लागि एजेन्ट (दलाल) को काम गर्ने कनकनिधि तिवारीहरू को हुन् ? भक्ति थापाको लाशको खबर सुन्दा वा हेर्दा किन हाँसे कनकनिधि तिवारीहरू ? तिवारीका निमित्त पात्रहरू अझै छन् । जसले अहिले पनि राज्य चलाइरहेका छन् । त्यसैले इतिहास उत्खनन् पनि गर्नुपर्छ भन्ने हो एकातिर भने अर्कोतिर चाहिँ लाहुरेहरूको सामाजिक योगदानको पाटोलाई उजागर गरेको छ । शिक्षा, स्वास्थ्य, प्रविधि, अर्थ सामाजिक एवं अर्थ राजनीतिमा लाहुरेहरूको पनि अहं भूमिका रहेको छ । विशेषतः लाहुरेहरूकै कारण २००७ को क्रान्ति सफल भयो । तथापि उनीहरू देशभित्रै पहिचानविहीन भए । जुन समुदाय आज पनि पहिचान प्राप्तिको आन्दोलन गरिरहेको छ । लाहुरेहरू बेलायतमा आफ्नो पहिचान बचाउन यतिखेर लडिरहेका छन् । आखिर यो किन भइरहेको छ ? यो सबको कारण के हो ? ‘तेप्लायु’ भित्रका कविताहरूले यिनै गहन विषय एवं मुद्दाहरू उठाएको छ ।

तपाईं त मुन्दुमी दर्शनको जगमा निर्मित कवि हुनुहुन्छ, वर्तमान साहित्यले तपाईंको दर्शनको शिरलाई आज कसरी उठाइरहेको पाउनुहुन्छ ?
मुन्दुम एउटा अलिखित तर अत्यन्त भव्य जीवन दर्शन हो । यसर्थ यसको विषयमा सम्बन्धित समुदायले नै काम गर्ने हो र विभिन्न भाषी राईहरूले यो काम गरिरहेका पनि छन् । तर पनि मुन्दुममा साहित्यको खोजी भइरहेको छ जस्तो लाग्दैन । मुन्दुम स्वयंमा साहित्यको अनन्त भण्डार हो । जन्मदेखि मृत्यु संस्कारलाई मात्र अध्ययन गर्दा मुन्दुमबाट असीमित काव्यको जन्म हुन्छ । यसभित्र हामीले काम गर्न धेरै जरुरी छ । विजुवाहरूले फलाकेको रिसियालाई मात्र उल्था गर्न सक्यौं भने धेरै महाकाव्यहरू जन्माउन सकिन्छ । त्यसलाई फ्युजन गर्नसके त्यसले नेपाली साहित्यमा हस्तक्षेप गर्न सक्छ । तर, हामीले पाँच प्रतिशत पनि मुन्दुमी साहित्यमा काम गरेका छैनौं । अब यिनै कामहरू गरेर प्रत्येक स्रष्टाले मुन्दुम दर्शनको शिर उठाउने गर्नुपर्छ ।

विश्वमा युद्ध साहित्यहरू प्रशस्त लेखिँदै आए । २०८ वर्षसम्म नेपाली लाहुरेहरूले लड्दै आएको युद्धका विषयमा भने छिटफुटमात्र लेखियो । त्यसैले आफ्नो विषयमा आफैंलै लेख्नुपर्छ भन्ने आहृवान र अभियान हो युद्ध साहित्य ।

साहित्यमा संस्कृतिको निर्माण कसरी गर्ने ?
साहित्यको सम्बन्ध संस्कृतिसँग हुने भएकाले जुन संस्कार र संस्कृति मान्ने समुदाय छ, सबैभन्दा पहिले उसको भाषा, उसको सामाजिक बनावट बुझ्न जरुरत पर्छ । त्यसपछि उक्त समुदायको संस्कृतिको विषयमा साहित्य सिर्जना गर्न सकिन्छ । त्यही कामले बलियो काव्यको जन्म हुन्छ र एउटा संस्कृतिको निर्माण हुन्छ ।

प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्वद्र्धनमा प्राज्ञिक काम गरिरहनुभएको छ, यसमा आउने चुनौतीहरूलाई कसरी चिरिरहनुभएको छ ?
पहिलो कुरो श्रमलाई जहाँ सम्मान हुन्छ, त्यसको पछाडि इन्डिपेन्डेन्ट समाज हुन्छ । प्रवासको प्रत्येक समयलाई घडीले निर्देश गरिरहेको हुन्छ । यस्तो अवस्थामा समयसँग समन्वय गर्दै कला, साहित्य र संस्कृतिका लागि केही गर्न सकिन्छ कि भनेर निरन्तर लागिरहेको चाहिँ हो । काम गर्दै जाँदा चुनौतीहरू जहाँ पनि हुन्छन् । हाम्रो समाज त झुण्डहरूको खुड्किलो न रैछ । जुन खुड्किलो टेक्दै बुइगल पुग्नुपर्ने । बुइगल पुगेपछि खुड्किलोलाई भुलेजस्तो गर्नुपर्ने । अझै यो खालको धेरै प्रवृत्तिको सामना गर्न निकै चुनौतीपूर्ण छ, यद्यपि पन्छाउँदै अघि बढिरहेछु ।

तपाईं स्वयं गम्भीर स्रष्टा हुँदाहुँदै पनि अन्य स्रष्टाहरूको हितमा काम गरिरहनुभएको छ, यद्यपि बेला-बेला उनै स्रष्टाहरूबाट अपजस खेप्नुभएको सुनिन्छ, यसको कारण बताउन मिल्छ ?
म माझ किराँतमा जन्मी हुर्किएको व्यक्ति हुँ । आज जहाँ छु, तिनै माझ किराँतको स्वभाव, सौन्दर्य र संस्कार सँगालिरहेछु । जो मेरो असली पहिचान हो । सत्यलाई इमान्दार र स्पष्ट स्विकार्ने । सबैलाई निस्वार्थ सहयोग गर्ने । कसैको दुःखमा तुरुन्त सामेल भइहाल्ने एक साधारण र संवेदनशील लेखक हुँ म । यद्यपि जतिसँग सकारात्मक सोचका साथ विगतमा जोडिएर कामहरू गरें, केही पात्र तथा परिवेशसँग समस्या बेहोरेको छु तर मलाई मेरो प्रतीकात्मक सोच र मभित्रको स्वाभिमानले सधैँ जोगाइरहेको छ । ‘गर्नेले जस पाउँदैन’ को गहिरो शिक्षा लिँदै खोला तरेर लौरो बिर्सनेहरूलाई मैले पनि बिर्सने निर्णय गरेको छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?