बंगालको खाडीमा विकसित मनसुनी वायु नेपाल भित्रिँदै, टीकाको दिन भारी बर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यो वर्षको दशैं शुरु भइसकेको छ । असोज १९ गते विजया दशमी रहेको छ । दशैं नजिकिसके पनि पानी पर्ने क्रम भने जारी छ । मनसुनी प्रणाली नेपालबाट नबाहिरिएका कारण पानी परिरहेको हो ।

मनसुन सामान्यतः नेपालमा औसतमा अक्टोबर २ बाट बाहिरिन्छ । तर, यो औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडिसम्म पनि मनसुनी वायु सक्रिय रहन सक्छ ।

यसैबीच, यसपाली मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा आउँदो मंगलबारदेखि त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।

यसले गर्दा दशैंको नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै बुधबार विजया दशमीको दिन देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार (एकादशी) का दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

जुन १३ नेपालमा मनसुन भित्रिने सरदर मिति हो । तर, यस वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?