एकीकृत समाजवादी र जनता समाजवादी असन्तुष्ट, सहमतिभन्दा बाहिरको सूची ल्याएको आरोप

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटेको नेताहरूले दाबी गरे पनि शुक्रबार अबेरसम्म अन्तिम निर्णय हुनसकेको छैन् । बुधबार गठबन्धनका दलहरूबीच केही निर्वाचन क्षेत्रबाहेक सिट बाँडफाँटमा सहमति जुटिससकेको नेताहरूले दाबी गरेका थिए । केही दोहोरो दाबी परेका ठाउँमा पनि एक-दुई दिनभित्र सहमति जुट्ने सिट बाँडफाँट कार्यदलमा रहेकै नेताहरूको दाबी थियो । तर, बाँकी रहेका क्षेत्रमा सहमति जुट्नुको सट्टा गठबन्धनका दलहरूबीच असन्तुष्टिका स्वर सार्वजनिक हुन थालेका छन् । बाँकी रहेका निर्वाचन क्षेत्रमा सहमति जुटाउन बिहीबार बसेको कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरूको बैठकमा गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसले सहमतिनजिक पुगेको भन्दा अर्कै सूची ल्याएको भन्दै असन्तुष्टि जनाएको थियो । नेपाली कांग्रेसको दोस्रो प्रस्तावले आफूहरू सहमतिमा आउन नसकेको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।

बिहीबारको बैठकमा एकीकृत समाजवादीको भागमा १७ सिट रहने बताए पनि त्यसमा हेरफेर गरेर सूची ल्याएको भन्दै समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै बैठकमा असन्तुष्टि व्यक्त गर्नुभएको कार्यदलका एक सदस्यको दाबी छ । बुधबार मध्यरातिसम्म गठबन्धनमा कांग्रेसले ८५, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले दुई सिट लिने सहमति जुटेको दाबी गरिएको थियो । तर, १६५ मध्ये नौ निर्वाचन क्षेत्रमा दलहरूले दोहोरो दाबीका कारण तालमेल टुंगिन बाँकी रहेको नेताहरूले बताएका थिए । तर, नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिल्यै दाबी गरेको स्थान राखेर सूची बनाएपछि एकीकृत समाजवादी र जसपा असन्तुष्ट भएपछि अन्तिम सहमति पर धकेलिएको छ । बिहीबारको बैठकमा कार्यदलका संयोजक एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सहमति भएभन्दा फरक सूची ल्याउनुभएको जसपाका एक नेताको दाबी छ ।

घरमा बस्न नदिए अर्को घर खोज्ने जसपाको चेतावनी
पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ । गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

जसपाका नेताहरूले गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन नगरिए एक्लै पनि चुनाव लड्न सक्षम भएको जिकिर गरेका छन् । गठबन्धन निर्माणमै महत्वपूर्ण भूमिका निर्वाह गरेको जसपाले यसअघि पनि बारम्बार गठबन्धन छाड्ने चेतावनी दिँदै आएको थियो । जसपाले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ कम्तीमा १५ वटा सिटको माग गरेको छ । तर, गठबन्धनका अन्य दलहरूले १०–११ वटा सिटमात्र दिन चाहेका छन् । बुधबार भएको भनिएको सहमतिमा पनि जसपाको भागमा देशभरि १५ दिइएको छ । जसपाका प्रवक्ता मनिष सुमन गठबन्धनमा सम्मानजनक व्यवहार नभए त्यहाँ बस्नुको कुनै अर्थ नरहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म छलफलहरू सकारात्मक अवस्थामै अगाडि बढिरहेका छन् । जसपाको जुन स्ट्रेन्थ छ, त्यो अनुसार आफ्नो भाग खोजेको हो, यदि दबाएर, हेपेर केही दिएजस्तो गर्न थालियो भने हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं । जसपा हत्तपत्त गठबन्धन छाड्दैन । यदि घरबाट जबर्जस्ती निकाल्न खोज्यो भने अर्को घर खोज्न बाध्य हुन्छौँ ।’

आधिकारिक निर्णय पर्खन नेता शर्माको आग्रह
सहमतिभन्दा फरक सूची सार्वजनिक भएको भन्दै गठबन्धनको घटक एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाइरहेकै बेला नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि सिट बाँडफाँटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका नेता शर्माले गठबन्धनको सिट बाँडफाँटमा अहिलेसम्म कुनै पनि सहमति नभएको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत नेता शर्माले देशभरिका कार्यकर्ताले चासो राखेको भन्दै अहिलेसम्म कुनै सहमति भइसकेको जानकारी नपाएको स्पष्ट पार्नुभएको छ । सबैलाई धैर्य रहन र पार्टीको आधारिक सहमतिको प्रतिक्षा गर्न पनि शर्माले अनुरोध गर्नुभएको छ । गठबन्धनमा सिट बाँडफाँट टुंगिएको भन्दै सार्वजनिक भएका खबरपछि माओवादीभित्र पनि असन्तुष्टिका स्वरहरू देखिन थालेपछि शर्माले वक्तव्य दिनुभएको हो ।

पार्टीभित्रै विद्रोह गर्ने बेला आएको छ : महामन्त्री थापा
गठबन्धनका दलहरूबीच भएको भनिएको सिट बाँडफाँट र समानुपातिक सूचीलाई लिएर नेपाली कांग्रेसभित्र पनि तीव्र कलह देखिएको छ । संस्थापन पक्षले एकलौटी गरेको भन्दै कांग्रेसको संस्थापन इतर डा.शेखर कोइराला समूहले चरणबद्ध विरोध गरिरहेको छ । पार्टीको मुख्य नेतृत्वप्रति इतर समूहका नेताहरू आक्रोशित भइरहेको बेला महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विद्रोह गर्ने बेला आएको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । शुक्रबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको टिप्पणी गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मात्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको बताउनुभएको हो ।

पार्टीभित्रका नेताहरूले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै महामन्त्री थापाले भन्नुभयो, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । हाम्रो आफ्नै पार्टीभित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ । सन्तुलन भएन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । पार्टीलाई ठीक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नत्र त पार्टी सत्ताको मात्र हतियार हुनेभयो ।’
पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका महामन्त्री थापाले डेंगु नियन्त्रणलाई सरकारले प्राथमिकता नदिएको भन्दै आलोचनासमेत गर्नुभयो । पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको भन्दै महामन्त्री थापाले आक्रोश पोख्नुभयो । डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले आपत्कालीन बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

आरजु र मञ्जु हट्नुपर्ने कोइराला समूहको बटमलाइन
समानुपातिक बन्द सूची सच्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरू तीन दिनदेखि लगातार छलफल गरिरहेका छन् । संस्थापन पक्षले एकलौटी र अन्यायपूर्ण तरिकाले समानुपातिक उम्मेदवार छनोट गरेर बन्द सूची बुझाएको भन्दै संस्थापन इतर शेखर कोइराला समूह आन्दोलनमै उत्रेपछि नेताहरू सूची सच्याउन छलफल गरिरहेका छन् । घोषित आन्दोलनमै उत्रेको शेखर समूहले श्रीमान्-श्रीमती दुवैलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेको छ । पहुँचका आधारमा सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण दुवैले आफ्ना श्रीमती आरजु राणा देउवा र मञ्जु खाँण चुनिने गरी समानुपातिकको अघिल्लो नम्बरमै राखेको इतर समूहको आरोप छ । पार्टीका शीर्ष नेताहरूको बैठकमा पनि इतर समूहका नेताहरूले राणा र खाँणलाई समानुपातिक बन्दसूचीबाट हटाउनुपर्ने बटमलाइन बनाएका छन् । पार्टी कार्यालयमा धर्नादेखि छुट्टै गुट भेला गरेर गठबन्धन नै असफल पार्ने चेतावनीपछि सभापति देउवा समानुपातिकको सूची हेरफेर गरेर कोइराला पक्षलाई उचित स्थान दिन तयार हुनुभएको छ । संस्थापन पक्ष बन्दसूची सच्याउन तयार भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षका नेताहरू निरन्तर छलफलमा जुटे पनि निष्कर्ष निस्कन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?