ह्युमन मिल्क बैंक ‘अमृत कोष’ (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को स्थापना गरेको छ । मिल्क बैंकको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्ने उद्देश्यले बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ । समय नपुगेरै जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा यस बैंकले अन्य आमाहरूबाट संकलन गरिएको दूध उपलब्ध गराउने भएको छ ।

समय नपुगीकन शिशुहरू जन्मिँदा जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् । यता समय नपुगेर जन्मिएर कम तौल भएका शिशुहरू पनि अझ बढी जोखिममा हुन्छन् । पोषणको उत्तम स्रोत आमाको दूधले शिशुको जीवन सुनिश्चित गर्नुका साथै स्वास्थ्य विकासमा मद्दत पुर्याउने विश्वास गर्दै अस्पतालले ह्युमन मिल्क बैंकको अवधारणा ल्याएको हो ।

प्रायः विभिन्न समस्याले हरेक शिशुलाई प्रत्यक्ष स्तनपान सम्भव हुँदैन । यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु आवश्यक भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठ बताउनुहुन्छ । जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन, नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ । तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण (सेप्सिस्) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ । यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो ।

नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र युरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा आफू हर्षित भएको युनिसेफले जनाएको छ । विशेष गरी समयअघि नै जन्मेका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई धेरै लाभ पुग्ने युनिसेफले जनाएको छ । हेरौं देशमै पहिलो ह्युमन मिल्क बैंक स्थापनापश्चात् खिचिएका थप तस्बिर :

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?