दीपककुमार शर्मा/बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसक्दा सरुवा रोगका संक्रमितको संख्या बढ्नुका साथै डेंगु रोगका बिरामीको संख्या पनि बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बजारबाट निस्किएको फोहोरको सही सदुपयोग गर्न नसकेका कारण नगरवासीमात्र होइन, अन्य जिल्लाबाट आएका मानिसले सरुवा रोगसमेत लिएर जाने गरेको पाइएको हो ।
बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनको पाटो स्थानीय सरकारका अगाडि चुनौतीजस्तै बन्न थालेको छ । बजार क्षेत्रका घर, होटल तथा रेष्टुरेन्ट, तरकारी पसल आदि क्षेत्रबाट निस्कने कुहिने र नकुहिने दुवै फोहोर व्यवस्थापन गर्न र स्थायी फोहोर व्यवस्थापनको उपाय नहँुदा बजार क्षेत्र दुर्गन्धितमात्र भएको छैन, उपमहानगरपालिका आसपासका खोला नदी किनारमा जथाभावी फोहोर फालेको देखिन्छ । यसले गर्दा सरुवा रोगका बिरामीको संख्यामात्र बढाएको छैन, डेंगु रोगका बिरामीको संख्या पनि बढाइरहेको छ । दैनिकरूपमा फोहोर नउठ्दा यसले बजार दुर्गन्धित बनाएको स्थानीय सोम यादवले बताउनुभयो ।
बजारमा कुहिने र नकुहिने फोहोरको पहिचान गरी व्यवस्थापन गर्ने र नाली तथा ढलहरूमा बन्द भएको अवस्थामा ती क्षेत्र वरिपरि दुर्गन्ध फैलिनुका साथै अहिले डेंगुका बिरामी बढिरहेका बेला उपमहानगरपालिकाले विशेष प्याकेज ल्याउनुपर्ने, नियमित फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले बताउनुभयो ।
जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषण हुनुका साथै फोहोरको गन्ध वरिपरिका बस्तीसम्म पुग्ने गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै फोहोरमैला व्यवस्थापनलाई मुख्य एजेण्डा नबनाएका स्थानीय तहले गएको स्थानीय तहको निर्वाचनमा मुद्दाको विषय बनाएका थिए तर दीर्घकालीन समाधानका विषयमा भने अझै पनि स्पष्ट देखिँदैनन् ।
केही दिनअगाडि मात्र सरुवा भएर उपमहानगरपालिका नेपालगञ्ज आउनुभएका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आफूले यस विषयमा अध्ययन गर्न नपाएको हुँदा सबैसँग समन्वय गरेर बजारको फोहोर नियमित उठाउने कार्यलाई प्राथमिकतामा राखिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर २३ हिर्मिनिहामा ल्याण्डफिल्ड साइड निर्माण गरी फोहोर त्यहीँ व्यवस्थापन गरिरहेको छ । तर, बजारबाट नियमित फोहोर नउठेका कारण त्यसको सिकार आमनागरिक हुनुपरेको छ । उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले दैनिक फोहोर उठाउनका लागि मुख्य सडकहरूमा ठेक्का दिइएको र अन्य भित्री सडकहरूमा वडा तथा स्थानीयवासीहरूको समन्वयमा पालिकाले आफैं फोहोर उठाउने गरेको बताउनुभयो । कहिलेकाहीँ पानी परेका कारण फोहोर उठाउन समस्या हुने र फोहोर उठाउने सवारीसाधनको मर्मत समयमै हुन नसक्नु तथा प्रमुख प्रशासकीय नभएका कारण केही दिन फोहोर नियमित नउठेको स्वीकार गर्दै डिसीले अब नियमित फोहोर उठ्ने बताउनुभयो । बजारभित्र भएको फोहोरसमेत नियमित नउठ्ने गरेका कारण थप रोग संक्रमण निम्त्याइरहेको अवस्थामा सम्बन्धित निकाय गम्भीर हुन जरुरी छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका