बडा दशैँको महिमा

Read Time = 16 mins

✍️ डा. नारायणप्रसाद निरौला
आश्विन शुक्लपक्षमा मनाइने विशेष पर्वलाई बडा दशैँ भनिन्छ । यो शक्तिको उपासना गर्ने उत्तम समय हो । विशेषगरी घटस्थापनादेखि विजयादशमीसम्म दश दिन मनाइने भएकाले पनि यो पर्वलाई दशैँ भनिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दशैँको विधिवत आरम्भ हुन्छ । यसैगरी भगवती प्रशन्नार्थ देवीभागवत, दुर्गासप्तशती पाठ पारायण पनि हुने गर्दछन् । दशैँमा विशेषगरी दुर्गा देवीको पूजा गरिन्छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले यस समयको नवरात्रलाई बोधन नवरात्र भनिन्छ । हरेक दिन भगवती दुर्गा देवीका विभिन्न स्वरूपको आराधना गरी यो पर्व मनाउने धार्मिक विधान रहेको छ ।

आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुनुहुन्छ । मधु र कैटभलाई बध गर्नका लागि ब्रहृमाजीले जसको स्तुति गर्नुभएको थियो तिनै देवीको नाम महाकाली हो । महाकाली भगवतीका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी हुनुहुन्छ । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, वाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गर्नुभएको छ । सम्पूर्ण देवताको अंगबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुनुहुन्छ । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध महालक्ष्मीकै हातबाट भएको हो ।

विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूजा गर्ने चलन छ । यस्ती महाकाली भगवतीका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (बञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुनुहुन्छ । यस्ती आद्यशक्ति भगवतीका आठ भुजा (हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् ।

नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्रि, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत छ देवी छन् : नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो ।

नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत छ देवी छन् : नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि भगवतीको विशेष पूजा आराधना आरम्भ हुन्छ । सप्तमी अर्थात् फूलपातीका दिन नौ प्रकारका पत्र पुष्पादि वस्तु घरमा भिœयाई भगवतीको समीपमा राखिन्छ । यसरी भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, वेसार, मानक, कचु, बेल, अशोक र जमरा पर्दछन् । यसरी नौप्रककारका पत्र पुष्प भगवतीलाई समर्पण गार्नाले प्रसन्न भई भक्तलाई वरदान दिनुहुन्छ ।

यसैगरी यस दिन आठ वर्षीया कन्यालाई शाम्भवी नाम सम्बोधन गरी विशेष पूजा पनि गर्नुपर्दछ । सरस्वती भगवतीको आराधना यस अवसरमा पनि हुने गर्दछ । महाअष्टमीका दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यस दिन सिंहपूजा, भगवती देवीको षड्ङ्गपूजा, शस्त्र पूजा पूर्वक नवदुर्गाको पूजा आराधना गरिन्छ । विशेष बलि प्रदान पश्चात् महाअष्टमीको पूजा आराधना समापन हुन्छ । महानवमीमा सिद्धिदात्री भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । यस दिन नव कन्या कुमारीको पूजापश्चात भोजन गराउने चलन रहेको छ ।

त्रेता युगमा भगवान् श्रीरामले रावणलाई परास्त गरी सत्यको विजय भएको अवसर यही आश्विन शुक्लपक्षको दशमी तिथि थियो । यही विजयको उत्साह स्वरूप विजया दशी पर्व मनाउने गरिन्छ । यसैगरी असुरमाथि भगवती दुर्गादेवीले विजय गरेको दिन पनि यही दशमी तिथि भएकाले विजया दशमीलाई हर्षोल्लसाका रूपमा मनाइएको कुरा देवी माहात्यमा उल्लेख पाइन्छ ।

दशैँको विजया दशमी सबैभन्दा उत्कृष्ट दिन हो । यस दिन अपराजित जया विजयाको विशेष पूजा हुने गर्दछ । यस दिन हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने शास्त्रीय विधान रहेको छ । यसैगरी ज्योतिषीय दृष्टिले पनि विजयादशमीको विशेष महत्व रहेको छ । विजया दशमीको दिनभरी नै शुभ साइत मानिन्छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान छ । भक्ति भावपूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ । यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ ।

दुर्गासप्तशती :
दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसंग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य नै वास्तवमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमासहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसंग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषसुरको बध, चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ ।

पाँचाँै अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटौं अध्यायमा धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध,आठौँ अध्यायमा रक्तबीजको बध, नवौँ अध्यायमा निशुम्भ बध, दशौँ अध्यायमा शुम्भ बध, एघारौँ अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदानको कथा छ । बाह्रौँ अध्यायमा देवी चरित्र पाठ र श्रवणको महŒव वर्णन गरिएको छ । यसैगरी तेह्रौँ अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ ।

दुर्गा देवीको उपासना र फल :
नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ काम र मोक्षको सिद्धि प्राप्त हुन्छ । जुन कामनासहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ ।
देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय हुनुहुन्छ । किनकि उहाँलाई नै महाकाली महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । यस्ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुनुहुन्छ । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दछ । पाठ पश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।

देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँबायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ ।

जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्नेछन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सबै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ । (दुर्गा सप्तशती १२।१०) ।

यसै आधारलाई नै शिरोधार्य गरेर बडा दशँै मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दछ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ । देवी माहात्म्यको पाठ मात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ ।

शरद्कालीन नवरात्र एवं वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुने गर्दछ । यसैगरी गुप्त नवरात्रमा पनि देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बँच्न देव्याथर्वशीर्ष पाठ गर्नु पर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ । भगवती दुर्गामातको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस्् । हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?