✍️ बालकृष्ण श्रेष्ठ ‘पासा’
यस लेखमा दोलखाको संस्कृतिलाई समेट्ने प्रयास गरेको छु । नेपालको इतिहासमा शाहकालीन राजा पृथ्वीनारायण शाहले भनेको चार जात छत्तीस वर्णको फूलबारी भनेर सीमित जातलाई समेटिएको पाइन्छ । तर उहिलेदेखि आपूmलाई आदिवासी भनेर कहलाउनेहरूको लागि त्यो कथन अहिलेको अवस्थामा अशोभनीय होला शायद ।
त्यसैगरी मल्लकालीन राजा जयस्थिति मल्लको पालामा ठाउँ र अवस्था हेरेर जनतामा सबैले सकेको कामकाज मिलेर गरुन् र कसैले बेरोजगारीको महशुस नगरोस् भन्ने अर्थमा कामको बाँडफाँड गरे, त्यो निरन्तर चलि नै रहेको थियो । त्यतिबेला उपल्लो जात भन्ने नै राजपरिवार, हाकिम, व्यापारीवर्गमा गनिन्थे, अलि तल जो अलि केही जान्नेसुन्ने टाठाबाठा थिए उनीहरू साहसी योद्धा बने कोही काजी कहलाएर हैकमवाद चलाउन लागेका थिए । जो भारतका देवदेवालयमा शिवालयमा गएर आएर वेद, विद्यामा केही निपुण बनेर आए उनीहरू ब्राहृमण, गुरु, पण्डित बने । त्यसभन्दा पहिलेदेखि यो धर्तीमा आदिवासीहरूको बसोवास थियो ।
दोलखामा रहेका थामी जाति आदिवासी जनजातिको वर्णलाई प्राचीन वर्गमा राखेर हेर्दा यिनीहरू कुनै पहाडी क्षेत्रबाट आएका हुनसक्छ । थामी जातिलाई हाल नेपाल सरकारले निकालेको आदिवासी वर्गमा अति सीमान्तकृत जाति भनेर राखेको छ ।
जंगलमा, गुफा ओढारमा बस्ने, कपडा लाउन नजान्ने, कमाएर खान नजान्ने मानव प्राणीको हिसाबले व्याख्या गरिएको भए पनि यहाँ आगोको आविष्कारदेखि लिएर खाद्यवस्तु, फलफूल, जडीबुटीको उत्पादन र उपयोगिताको उत्खनन् नै आदिवासीकै युगबाट सुरुआत भएको थियो । ती आदिवासीको पहिचानमा जीवन बिताउनेहरूले जिन्दगी जिउने कलामात्र जानेका होइनन् उनीहरूले मनोरञ्जन गर्ने शैलीको पनि प्रकृतिबाट सिकेर नै अगाडि ल्याएको देखिन्छ । ती कुराहरूको अनुसरण गरेर यथार्थमा परिणत गर्न त्यही आदिवासी जनजातिबाट नै संसारमा मौलिकता बाहिर ल्याएको देखिन्छ । त्योमात्र होइन तान्त्रिक शक्तिको उपार्जन पनि आदिवासीमै ज्यादा भएको देखिन्छ । त्यस्ता खालका तान्त्रिक विद्या प्राप्त गर्न प्रकृतिकै साथ लिनुपर्ने यस वर्गका पुरोहितहरूको धारणा रहेको छ । त्यसमा केही सामानहरूको पनि जरुरी पर्ने भएकाले आदान प्रदानको पनि आवश्यक रहने भयो यसका लागि नेवार जाति अग्रसर रहेको पाइनुले पनि आदिवासी जातिमा माथि उल्लेखित जातिबाट नै रीतिरिवाजको प्रारम्भ भएको मान्न सकिन्छ । अब ती रीतिरिवाज इतिहासको प्रारम्भमा किरातकालीन सभ्यतादेखि चलिआएको भन्ने तथ्यांक थामी जातिको इतिहासबाट भएको भन्ने भनाइ छ । तर यो खोजको विषय बनेको छ ।
दोलखामा रहेका थामी जाति आदिवासी जनजातिको वर्णलाई प्राचीन वर्गमा राखेर हेर्दा यिनीहरू कुनै पहाडी क्षेत्रबाट आएका हुनसक्छ । थामी जातिलाई हाल नेपाल सरकारले निकालेको आदिवासी वर्गमा अति सीमान्तकृत जाति भनेर राखेको छ । तर उनीहरूको रीतिरिवाज र संस्कृति हेर्दा एकताका लोकप्रिय जाति नै थिए भन्ने अनुमान लगाउन सकिन्छ । किनकि दोलखाका विभिन्न ठाउँमा थामीहरूको बाक्लो नै बस्ती नै रहेको छ । त्यसैगरी सिन्धुपाल्चोकका केही ठाउँमा र रामेछापमा पनि थामीहरूको बसोबास रहेको पाइनछ । कोही कामको खोजीमा सिक्किमको रानीपुल, रिनक र रंगपो क्षेत्रमा पनि छिटफुट रूपमा थामी जातिहरू छरिएर बसेका पाइन्छन् ।
दोलखामा बसोवास गरिररहेका थामी जातिहरूको मौलिक नृत्य मारुनी भए पनि उनीहरूको मौलिक संस्कृतिमा भिन्नता रहेको पाइन्छ । तथापि दोलखाको छत्रछायामा रहेका थामी जातिहरू र दोलखा बजारमा भएको नेवार जातिहरूको बीचको सम्बन्ध एउटै टोलबासी छिमेकी जस्तो मात्र होइन कि संस्कृति र परम्पराबीचमा सम्बन्ध रहेको थियो । बडादशैँमा नवमीको दिनमै दुम्कोट गाउँबाट उनीहरूका तान्त्रिक गुरु थकालीसहित परिवारजनहरू आएर दोलखाको पुरान्छेँ (पुरानो घर)को आँगनमा आएर मान्द्राको छाना बनाएर भकारीले बेरेर टहरो गोठ जस्तो बनाएर बस्ने गर्थे । त्यहाँ आएर बस्ने बेलादेखि नै उनीहरूका गुरु र उनका सहायकहरू आफ्नै भाषाको मन्त्र जपेर कामेर बस्नुपर्ने चलन रहेछ । साथमा भोलिपल्ट ‘हिपाथामी (रगत थाप्ने मान्छे) पनि सँगसँगै काम्न थाल्छ ।
दोलखामा नवमीको भोलिपल्ट विजया दशमी अर्थात् टीकाको दिनमा ती थामीहरूमध्ये दुईजना पुरुष व्यक्ति भगवतीको दूत बनेर भीमसेन मन्दिर परिसरदेखि नै महिषासुर (राक्षसहरूको परमाधिपति) लाई खोजी गर्दै जाने क्रममा त्रिपुरासुन्दरी माँको मन्दिर परिसरमा पुग्दा असुरराज महिषासुरको बाहन राँगो यताउता भौँतारिएर बसेको देखेपछि पक्कै पनि महिषासुर यतैकतै हुनुपर्छ भनेर खोजी गर्दा नभेटेपछि क्रोधित बनेर त्यस राँगोलाई नै छेदन गरेर त्यसको रगतले आफ्नो शरीरभरि छर्केर पिएको जस्तो गरेर महिषासुरका अन्य जासुस त्यता कतै भइहाले पनि डरावस् भन्ने उद्देश्यले रगत नै पिएको अभिनय गरेको हुनुपर्छ । त्यति गर्दापनि महिषासुर त्यहाँ फेला नपरेपछि त्यहाँबाट दुङ्गल टोल हुँदै नाट्यश्वर मन्दिर भएर पिङ्गल टोल हुँदै राजकुलेश्वर तलेजु भवानीको मन्दिरमा पुगेपछि तलेजु भवानीका भक्तहरूले ती दूतले आफ्नै शत्रु राक्षसकै खोजी गर्दै हिँडेको चालपाएर स्वागत गर्दै सम्मानपूर्वक पूजा गर्न धुप दीप बाल्ने बेलामा अझै पनि राक्षसहरूकै शंका लागेर हो वा खोज्दाखोज्दै थकित भएर क्रोध जागेर हो त्यो बलिरहेको बत्तीको मुठो नै मुखमा हालेर फेरि अगाडि बढी बहिर टोलको चक्र डबलीमा पुग्छन् ।
फेरि त्यहाँ पनि एउटा राँगोलाई बाँधिराखेको देखेपछि केही समय अगाडिमात्र वध गरेर आएको राँगो फेरि त्यहाँ देख्दा अचम्म मान्दै सक्कली हो या नक्कली हो भन्ने बुझ्नका लागि घुमी घुमी तीन पटक लौराले हान्दा पनि प्रतिकार नगरेपछि त्यो चाहिँ महिषासुरको जासुसी वाहन होइन रहेछ भनेर त्यहीं छाडेर गएको हुनुपर्छ । त्यसपछि अब चाहिँ शायद ती असुरहरूले दुःख दिने छैनन् भन्ने सन्तोषजनक सोचले राइती धारामा नुहाइधुवाइ गरेर आफ्नो बासस्थान फर्कन्छन् । यसैगरी भोलिपल्ट एकादशीको दिनमा जब ती दूतहरू आफ्नो काम सकेर घर फर्किने सुरसारमा लागिरहेकै बेलामा मध्यरातदेखि टोल टोलमा बाजा बजाउँदै मानव जातिहरू राजा प्रजा सबैलाई ब्युँताउँदै आएको सुइँको पाएपछि ती दूतका मूल गुरुसमेत एकाएक अन्याय हुने भयो महिषासुर त त्यही नगरभित्रै लुकेर बसेको रहेछ भन्ने थाहा पाएर आफ्नो शक्तिदेवीलाई ब्युँझाउन काँप्न थालेछ ।
मत्र्यलोकका मानवहरू समेत भगवतीका दिदीबहिनी लगायत मन्त्री भाइभारदार सेनापति सबैलाई जम्मा गर्दै लडाइँ नै गर्न तम्तयार हुँदैछन् भन्ने खबरले ती दूतहरूले महिषासुर असुर राजलाई उनका सेना र वाहनलाई मारिसकेको भन्ने प्रमाणित गरेर देखाउन राँगोको टाउको नै काँधमा बोकेर अघिल्लो दिन घुमेकै ठाउँहरू घुमेर देखाउँदा पनि पछि नहटेकोले महिषासुरलाई दोलखा तल्लो बजारदेखि पश्चिमपट्टि रहेको खेतजाने दोबाटोमा रहेको सानो डबली जस्तो ठाउँमा बोलाएर उनका बाहनलाई यसरी शिर छेदन गरी मारेको भनेर देखाउने बेलामा महिषासुरलाई पनि त्यहीँ नै घेराबन्दी गरेर अन्त्य गरेको कथा प्रसंग छ ।
थामीका पुर्खाहरूले हिपाथामी बन्न आएका हुन् या कुनै राजा रजौटाले यो काम गरेबापतमा अन्न जग्गा या केही उपलब्ध गराउँछौँ भनेर कबुलियतनामा लेखिएको थियो कि ? यसका लिखित आधारहरू कोसँग छन् त्यो खुल्नु जरुरी छ ।
अब यस तरिकाको सांस्कृतिक र प्राचीन परम्परालाई दिगो राख्नका लागि त्यो बेलामा थामी जातिको बसोवास गरेको ठाउँबाट दोलखामा आएर मानिएको परम्परामा के कस्तो खालको शर्त थियो त ? ती थामीका पुर्खाहरूले हिपाथामी बन्न आएका हुन् या कुनै राजा रजौटाले यो काम गरेबापतमा अन्न जग्गा या केही उपलब्ध गराउँछौँ भनेर कबुलियतनामा लेखिएको थियो वा के हो ? यसको लिखित आधारहरू कोसँग छ यो खुल्नु जरुरी छ । उनीहरूको आफ्नै मौलिक संस्कृति थियो मौलिक नाचगान हुन्थ्यो त्यो आफ्नै ठाउँमा छ । विगतमा दोलखामा भएको जात्रामा थामीका अग्रजहरू समावेश हुनुमा के रहस्य थियो ? कुन उद्देश्यले सामेल भएका थिए ? दोलखाको नेवारी परम्परामा थामीजातिहरू दशैँमा मात्र होइन मच्छिन्द्र नाथ (करुणामाई) को रथ तान्ने जात्रामा समेत चाथली बनबाट बनमाला ल्याएर आएर बाँसको चोयाबाट डोरी बाटेर रथ तान्ने मेलामा सहभागी हुने गर्थे तर ती थामीहरू दुम्कोटबाट होइनन् कि उनीहरू लापिलाङ्, लेप्टुङ्, कार्तिकेबाट त्यतिबेला हामीले सुनेका थियौँ यस्तो काम गरेको बापतमा त्यही ठाउँमा जग्गा कमाउन दिइएको थियो । अहिले त्यो चलन पनि हराएर गयो ।
दशैँको बेलामा हिपाथामी दुम्कोटबाट मात्र आउने गर्दथे । यदि मच्छिन्द्रनाथको रथयात्राको लागि थामीहरूलाई माथि उल्लेखित जग्गाहरू दिएर रथ चलाउन सहयोग गर्नु भन्ने कबोल गरेर चलाइएको हो भने त्यो जग्गा कसको नाममा छ त अहिले ? प्रश्न उठ्छ जवफ कसले दिने ? देशमा नयाँ व्यवस्था ल्याउनमा जनजातिहरूको पनि योगदान थियो तर कहिले गुठीविधेयक त कहिले धर्मनिरपेक्षको नाम दिएर धार्मिक सहिष्णुता, रीतिविाज, साँस्कृतिक सम्पदा, परम्परालाई नै ओझेलमा पार्ने काम भएको छ । विदेशी धर्मलाई आयात गरेर गाउँठाउँमा गलत प्रचार गर्न लगाएर परम्पराको धज्जी उडाउने काम गर्ने गराउने काम भएको छ । बडादशैँको मंगलमय शुभकामना !!
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका